सकारात्मक सोच

Font Size
18 Total Views

सकारात्मक सोच बिनाको जिन्दगी अधुरो हुन्छ। सकारात्मक सोचको शक्तिले घोर अन्धकारलाई पनि आशाको किरणले प्रकाशमा परिवर्तन गराउन सकिन्छ। विचारमा स्वयंको नियन्त्रण हुन्छ। यसैकारण सकारात्मक साच्ने वा नकारात्मक त्यो आफै नै निश्‍चित गर्नुपर्छ। मानिलिउँ हरेक विचार एउटा बीज हो। व्यक्तिमा सकारात्मक विचार र नकारात्मक विचार दुई प्रकारको बीज हुन्छ। यसले नै पछि गएर व्यक्तिको दृष्टिकोण एवं व्यवहार रूपी रूखको निर्धारण गर्दछ। व्यक्तिले जस्तो सोच्छ त्यस्तै बनिन्छ। यसैकारण भनिन्छ, जस्तो विचार हुन्छ त्यस्तै नै व्यक्तिको आचरण हुन्छ। अर्थात जमिन रूपी दिमागमा वा मनमा कस्तो बीज रोप्छौं त्यो स्वयंमा निर्भर हुन्छ। सामान्य चेतना र एवं सावधानीले व्यक्तिले काँडै काँडा भएको रूखलाई फूलै-फूलमा परिवर्तन गर्न सक्छ।
कालो रङको चश्मा लगाउँदा सबै कालो देखिन्छ अनि रातो रङको चश्मा लगाउँदा रातो दखिन्छ। त्यसरी नै नकारात्मक सोचले चारै दिशामा निराशा, दुःख र असन्तोष नै देखिन्छ। सकारात्मक सोचले आशा, खुशि एंव सन्तोष देख्न सकिन्छ। सकारात्मक चश्माले यस दुनियाँलाई हेर्ने हो या नकारात्मक चश्माले त्यो व्यक्तिमा नै निर्भर हुन्छ। सकारात्मक चश्मा लगाएर हेर्दा हरेक व्यक्तिलाई राम्रो देखिन्छ अनि त्यस व्यक्तिमा कुनै न कुनै खुबि खोजी गर्न सकिन्छ। यसैकारण नकारात्मक चश्मा लगाउने व्यक्ति नराम्रो कुरा खोज्ने कीरा समान हुन्छ।
सकारात्मकताको शुरूवात आशा र विश्वासबाट हुन्छ। कुनै स्थानमा चारैतर्फ अन्धकार छ, केही पनि देखिन्दैन तर यदि त्यहाँ एउटा सानो दीयो जलायो भने त्यो सानो दियोले चारै दिशामा फैलिएको अन्धकारलाई एकै पलमा भगाइदिन्छ। यसरी नै आशाको सानो किरणले सम्पूर्ण नकारात्मक विचारलाई एकै पलमा मेटाउन सक्छ।
नकारात्मकतालाई नकारात्मकताले समाप्त गर्न सक्दैन, नकारात्मकतालाई त केवल सकारात्मकताले नै समाप्त गर्न सक्छ। यसैकारण जब कुनै सानो नकारात्मक विचार मनमा आए त्यसलाई त्यसै क्षण सकारात्मकमा परिवर्तन गर्नुपर्छ। यदि कुनै विद्यार्थीलाई परीक्षा भन्दा 20 दिन अघि नै यस पल्ट परीक्षामा उतीर्ण नहुने विचार आउँछ भने, उसित दुईवटा विकल्प हुनसक्छन्। उसले कि त पटक-पटक परीक्षामा असफल बन्ने कुरालाई सम्झेर विस्तारै नकारात्मक विचारको बिरूवालाई रूखको रूपमा बढाउन सक्छ, अथवा त्यसैक्षण सकारात्मक विचार लिएर 20 दिन अर्थात 480 घण्टा बाँकी छ र त्यसमध्ये 240 घण्टा सम्पूर्ण शक्ति खर्च गरेर परिश्रम गर्छु, भन्ने विचार लिएर अघि बडे उसलाई परीक्षामा उतीर्ण हुनदेखि कसैले रोक्नसक्दैन।
मन स्वयंको नियन्त्रणमा छ। यदि मनबाट नियन्त्रण हट्यो भने मनले आफ्नो खुशी गर्नेछ अनि कतिबेला मनमा नकारात्मक विचारको रूख हुर्किसक्छ त्यो थाहा हुँदैन। अनुभव गर्ने कुरा हो, व्यक्तिको जीवन मुख्यतः व्यक्तिको सोचअनुसार नै चलायमन छ। जुन समय जस्तो सोच्ने गरिन्छ, कमसेकम केही समयका लागि भए पनि जिन्दगी त्यसैअनुसार बनिने गर्छ। राम्रो सोचियो भने जिन्दगी राम्रो लाग्नेगर्छ। नराम्रो सोच्ने गरे जिन्दगी नराम्रो लाग्ने गर्छ।
व्यक्ति जीवनमा आत्मकेन्द्रित प्रवृतिले अधिक प्रभाव जमाएको हुन्छ अनि यो आत्मकेन्द्रित विचार परिस्थिति अनुरूप नकारात्मक पनि हुन सक्छ। नकारात्मक विचारलाई सकारात्मक विचारमा ढाल्नु वा परिवर्तन गर्न व्यक्तिका निम्ति कठिन विषय पक्कै हो। तर असम्भव भने होइन। अर्को व्यक्तिको नकारात्मक र अगुणलाई औंल्याउनेले आफूभित्रको पनि नकारात्मक कुरा बुझ्न र सोच्न आवश्यक छ। यसैले सकारात्मकताको दिशा व्यक्तिले पक्रिन सक्षम हुन्छ। सँधै मान्छेले सकारात्मकताको अपेक्षा गर्नपर्छ। किन कि संसार र समाजको संरक्षणको निम्ति आज सकारात्मक विचार र सोचको जरूरी छ।

Related posts

Leave a Comment