शिक्षक नियुक्तिमा नियम पालन नगरेको आरोप

Font Size
12 Total Views

गोप्राप्रबे शिक्षक संगठन पुग्यो उच्च न्यायालय

समय संवाददाता
दार्जीलिङ, 14 मई।
दार्जीलिङ पहाडमा प्राथमिक शिक्षक नियुक्ति प्रक्रियामा सही नियम पालन नगरिएको विरोध गर्दै गोर्खा प्राथमिक प्रशिक्षित बेरोजगार शिक्षक संगठनले उच्च न्यायालयमा एक याचिका दर्ता गरेको छ। यदि उच्च न्यायालयबाट पनि यसमाथि ठोस नर्णय नभए संगठन देशको सर्वोच्च न्यायालयको ढोका ढक्ढकाउन बाध्य हुने पनि संगठनले चेताउनी दिएको छ।
जीटीएले 25 फरवरी 2018-मा शिक्षक नियुक्तिको लागि एक विज्ञापन जारी गरेको थियो। तर यसमा प्राथमिक शिक्षक नियुक्तिको लागि फर्म वितरणमा एनसीईटीको नियमलाई पूर्ण रूपले उल्लंघन गरिएको संगठनले आरोप लगाएको छ। यसबारे संगठनका अध्यक्ष सुधन गुरुङले भने, एनसीईटीको नियमअनुसार, प्राथमिक शिक्षक हुनको लागि उम्मेद्वारले उच्च माध्यमिक स्तरको परीक्षामा 50 प्रतिशत अङ्क ल्याउन अनिवार्य छ। यसका साथै 2 वर्षको शिक्षक प्रशिक्षण लिएको हुनुपर्ने आवश्यक छ। तर जीटीएले 2018-मा शिक्षक नियुक्तिको लागि फर्म वितरण गर्दा एनसीईटीको नियमलाई अलिकति पनि पालन गरेन। जसको फलस्वरूप दशौं श्रेणी उत्तीर्ण हुने, उच्च माध्यमिकमा 50 प्रतिशतभन्दा कम्ति अङ्क ल्याउनेहरूले पनि उक्त शिक्षक नियुक्तिको लागि फर्म लगेका छन्। यसैकारण संगठनले उच्च न्यायालयमा याचिका दर्ता गर्नपरेको हो।
यसको प्रथम सुनवाई गत 3 अप्रेलको दिन भएको पनि गुरुङले जानकारी गराए। यसका साथै उनले दार्जीलिङ पहाडमा 121 जना शिक्षकको नियुक्तिमा कुनै नियम-कानून पालन नगरिएको बताउँदै यसविरुद्ध पनि ठोस कदम उठाउने चेताउनी दिएका छन्। उनले भनेका छन्, लगभग 1 वर्षअघि दार्जीलिङ पहाडमा 121 जना प्राथमिक शिक्षकको नियुक्ति भयो। जसको लागि सरकारले न कुनै अधिसूचना जारी गर्यो, न कुनै परीक्षा नै भयो। यसैले पहाडका धेरै दक्ष बेरोजगार उम्मेद्वारहरू अझै पनि उचित अवसर पाउनबाट वञ्चित बनिरहेका छन्। फलस्वरूप, पहाडको प्राथमिक शिक्षाको स्तर पनि घटेर गइरहेको छ। यसैले दार्जीलिङ पहाडको प्राथमिक शिक्षाको स्तरलाई गुणस्तरीय बनाउनु, विद्यार्थीहरूको भविष्य उज्जवल बनाउनु हो भने यहाँ सक्षम, सम्पूर्ण नियम पूरा गर्नसक्ने उम्मेद्वारहरूले नियुक्ति पाउनुपर्छ। जसको लागि गोर्खा प्राथमिक प्रशिक्षित बेरोजगार शिक्षक संगठनका लगभग 400 जना सदस्य सक्षम रहेको बताए।

Related posts

Leave a Comment