शिक्षक नियुक्तिमा कुनै धाँधली नभएको विनय तामाङको दावी

Font Size
106 Total Views

कालेबुङ, 30 जून।
जीटीएले गरिरहेको शिक्षक नियुक्ति प्रक्रिया निष्पक्ष रूपमा भइरहेको अनि शिक्षक नियुक्ति प्रक्रियामा कुनै धाँधली नभएको गोजमुमो अध्यक्ष विनय तामाङले दावी गरेका छन्। आज कालेबुङ आएका तामाङले पत्रकारहरूसित कुराकानी गर्ने क्रममा शिक्षक नियुक्ति प्रक्रियालाई लिएर मानिसहरूमा भ्रम फैलाएर जीटीएलाई बद्नाम गराउने प्रयास भइरहेको बताए। ‘गीतडाब्लिङ हाइ स्कूलको बिनिता छेत्रीको मुद्दा पुरानो मुद्दा हो’-तामाङले भने, ‘यो मुद्दामा बिनिता छेत्री स्वयंले उच्च न्यायलयमा मुद्दा दर्ता गरेकी थिइन्। उच्च न्यायलयले प्रधानाध्यापको पक्षमा निर्णय दिइसकेको छ।’ बिनिता छेत्रीले एउटा न्यूज पोर्टलमार्फत शिक्षक नियुक्तिलाई लिएर आफूमाथि अन्याय भएको खुलासा गरेकी थिइन्। यस सन्दर्भमा तामाङले बिनिता छेत्री अर्कै स्कूलबाट डेपुटेसन शिक्षिकाको रूपमा गीतडाब्लिङमा आएको अनि उच्च न्यायलयले प्रधान अध्यापकको पक्षमा निर्णय दिइसकेकोले जीटीएले न्यायालयको निर्णय मान्ने अनि यसमा कुनै धाँधली नरहेको बताए। अर्कोतिर गोजमुमो विमल गुरुङपक्षका प्रवक्ता बीपी बजगाईंले जुन शिक्षक नियुक्तिको सूची निकालेर भाइरल गरे त्यो केवल ‘प्रारम्भिक सची’-मात्र रहेको बताए। ‘बीपी बजगाईंले जारी गरेको सूचीमा न त मेरो हस्ताक्षर थियो, न त जीटीए मुख्य सचिवको न त डीआईको, न त जीटीए अध्यक्षको हस्ताक्षर थियो’-तामाङले भने, त्यो प्रिमिटोरी लिस्ट हो। अहिले नियुक्ति-पत्र पाइसकेपछि भ्रष्टाचार भएको छ कि छैन त्यो हेर्नुपर्छ।’ तामाङअनुसार, 14 वटा न्यू सेटअप स्कूलको निम्ति 59 जनाको नाम जीटीएले छोड्यो। पहिलेदेखिको 12 जना लेफ्ट आउट टिचरमा पनि पाउनैपर्ने शिक्षकहरूको नाम परेको छ। भेरिफाइड टिचरहरूमध्ये 10 जना सिनियर टिचरहरूलाई दिइएको छ जसमध्ये कसैको उमेर 57 पुगिसकेको छ। ‘अहिले जुन शिक्षक नियुक्त गरिएको छ त्यसमा कुनै धाँधली छैन, यदि भएको छ भने भन्नुहोस्’-तामाङले भने, ‘अहिलेसम्म 11 सय 87 जना छोडिसक्यौं त्यहाँ सबै पार्टीका मानिसहरूले पाएका छन्।’ तामाङले दोष लगाउनुभन्दा अघाडी राम्ररी छानबीन गर्न आग्रह गरे। ‘हामीले निष्पक्ष रूपमा काम गरेका छौं’-तामाङले भने, ‘दोष लगाउनुभन्दा अघाडी तथ्यको जानकारी हुनुपर्छ। मानिसहरूमा भ्रम फैलाएर जीटीएलाई बद्नाम गराउने प्रयास हुँदैछ।’ तामाङले कालेबुङ भ्रमणको उद्देश्यबारे प्रकाश पार्दै भनेअनुसार मोर्चाको भातृ संगठन हिल तराई-प्राइमेरी टिचर्स अर्गनाइजेशनको कालेबुङ जिल्ला समिति गठन भएको थिएन। यसैले आज यहाँका पाँचवटा सर्कलका प्रतिनिधिहरूसित बैठक गरेर अर्गनाइजेशनको पूर्ण जिल्ला कमिटी गठन गरिएको बताए।

Related posts

Leave a Comment