शनिबार छुट्टी विद्यार्थीहरूको भविष्यमाथि खेलबाडः गणेश राई

Font Size
56 Total Views

गान्तोक, 30 जून।
एसकेएम सरकारले सार्वजनिक गरेको एक महिनाका उपलब्धिहरू खोक्रो रहेको र यसमा कुनै सोच विचार नपुर्याइएको एसडीएफ पार्टीले आरोप लगाएको छ। आज इन्दिरा बाइपासस्थित एसडीएफ मुख्यालयको सम्मेलन कक्षमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एसडीएफ पार्टीका प्रवक्ता गणेश राईले सबैभन्दा पहिले एसकेएम सरकारले घोषणा गरेको प्रत्येक शनिबारको छुट्टी शिक्षाको अधिकार ऐन (आरटीई) देखि बाहिर रहेको बताउँदै यसले विद्यार्थीहरूलाई कुनै फायदा नपुर्याउने बताए। उनले शनिबारको छुट्टीले केही मानिसहरूलाई फायदा पुग्ने भए पनि विद्यार्थीहरूलाई नोक्सान हुने, स्वास्थ्य विभागका कार्यालयमा काम गर्नेहरूलाई फाइदा हुने भए अन्य स्वास्थ्यकर्मीहरूलाई फाइदा नहुने, पुलिस कार्यालयको छुट्टी भएपनि साना पदमा काम गर्ने पुलिसकर्मी, वन विभागका कार्यालयहरूमा छुट्टी भएपनि वन विभागकर्मीहरूलाई फायदा नहुने बताए। उनले आरटीईतर्फ धेर ध्यान आकर्षण गर्दै भने आरटीई-को नियमअनुसार कक्षा 1 दखि 5 सम्म 365 दिनमा 200 दिन स्कूल लाग्नुपर्ने, कक्षा 6 देखि उँभो 220 दिन स्कूलहरू लाग्नुपर्ने नियम रहेको जानकारी दिए। यसरी नै उनले आरटीईकै अनुसार प्रत्येक सप्ताहमा 45 घण्टा स्कूलमा पढाई हुनुपर्ने हो तर 9 देखि 4 बजीसम्म स्कूल लगाउँदा पनि त्यो समयसीमा पूरा हुन नसक्ने बताए। यस छुट्टीले सिक्किमका विद्यार्थीहरूको भविष्यमाथि खेलबाड भइरहेको बताउँदै उनले एसडीएफ सरकारले स्कूलहरू वर्षमा 240 दिनसम्म लगाएर शिक्षाको विकासमा ध्यान पुर्याएको थियो भन्दै एसडीएफ सरकारकै कालदेखि शिक्षकहरूले पनि राम्रो वेतन पाएका हुन् भन्ने कुरा बताए। उनले शनिबारको छुट्टीले सरकारी कार्यालयका केही प्रतिशत मानिसहरूलाई फायदा भएपनि सिक्किमलाई छैन भने। प्रवक्ता राईले एसडीएफ पार्टीको कार्यकालमा तत्कालीन गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीले पनि सिक्किम पुलिसको प्रशंसा गर्दै सिक्किम पुलिसका अधिकारीहरू डिप्यूटेसनमा बोलाएका थिए भन्दै अहिले एक महिनाभित्रमा जनताबाट पुलिसमाथि विश्‍वास उठ्दै गएको बताए। उनले एसकेएम पार्टीले आफ्नो राजनीतिक फायदाको निम्ति पुलिस अधिकारीहरूको सरुवा गरेको हो भन्दै एसडीएफले सिक्किमको हित र फायदाको निम्ति सरुवा गरेको बताए।
सरकार बनेको एक हप्तामा चार हजार करोड माग्नेले पाँच वर्षमा कति माग्ला? – अभिनास याक्खा
एसडीएफ पार्टीका विधायकहरू भारतीय जनता पार्टी (बीजेपी)-मा जान्छन् भन्ने कुरा मनगढन्ते हो भन्दै मुख्यमन्त्री पीएस गोलेका राजनीतिक सल्लाहकार जेकब खालिङको बयानलाई एसडीएफ पार्टीले खण्डन गरेको छ। यसरी नै जेकब खालिङले एउटा सम्बोधनमा एसडीएफ पार्टीका प्रवक्ताद्वय अभिनास याक्खा अनि एमके सुब्बामाथि व्यक्तिगत आक्षेप लगाएका छन् भन्दै ती आरोपहरू सिद्ध नभए मुख्यमन्त्रीका सल्लाहकार खालिङमाथि मानहानीको मुद्दा लगाउने प्रवक्ता अभिनास याक्खाले बताएका छन्। प्रवक्ता याक्खाले भनेका छन्, एसकेएम सरकारले आफूले चुनाउअघि जनतालाई दिएको वचनहरू भुल्दै गएको छ। एसकेएम पार्टीले सरकारमा आउने बित्तिकै सरकारी कर्मचारीहरूको एरियर दिने, पाँच वर्षदेखि काम गर्दै आएका होम गार्डको नोकरी स्थायी गरिदिने, ठेकादारहरूको थाँतिमा रहेको बील भुक्तान गरिदिने, सिक्किम विधानसभामा लिम्बू तामाङको आसन आरक्षण गरिदिने, बेरोजगार युवाहरूलाई महिनाको दस हजार रुपियाँ दिने आदि घोषणा गरेको थियो तर ती घोषणाहरू पूरा गर्नसकेन, प्रवक्ता याक्खाले भने।
प्रवक्ता याक्खाले सिक्किमको कानुन व्यवस्था पूरै राजनीतिकरण भएको बताउँदै राज्यका चारै जिल्लामा भएका घटनाहरूविरुद्ध एसडीएफ पार्टीले प्राथमिकी दर्ता गर्न जाँदा जेनेरल डायरी मात्र गरिदिएको अनि एफआईआर पञ्जीकरण गरिए पनि अहिलेसम्म आरोपीहरूलाई समात्न नसकिएको बताए। आरोपीहरू समात्न नसकिएकोले पुलिस प्रशासनमाथि पूर्णरुपमा राजनीतिकरण भएको बुझ्न सकिने उनले बताए। उनले सत्ताले जनतालाई पूर्ण सुरक्षा दिनुपर्ने हो भन्दै सिक्किममा मुख्यमन्त्री, मन्त्री अनि मुख्यमन्त्रका राजनीतिक सचिव जेकब खालिङसम्मले सिक्किममा राजनीतिक आतङ्कवाद शुरु गरेको बताएका छन्। प्रवक्ता याक्खाले एसकेएमको क्रियाकलापबाट गोलेको नेतृत्वक्षमता कत्ति छ भन्ने बुझ्न सकिने पनि बताए। उनले मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङलाई सुझाउ दिँदै खालिङले जनतालाई भ्रमित बनाउने होइन आफ्नो पार्टीको वचनहरू पूरा गर्ने काम गरून् भने। उनले मुख्यमन्त्री पीएस गोलेले सिलगढीमा गएर सिक्किमको मान सम्मानलाई बन्दक राखेका छन् भन्ने पनि आरोप लगाएका छन्। प्रवक्ता याक्खाले एसडीएफ सरकारले 25 वर्षसम्म सिक्किमको सौदा गरेको थिएन भन्दै मुख्यमन्त्री गोलेले सिलगढीको एउटा होटलमा सिक्किमको सौदा गरेर सिक्किमेलाई धोका दिएको बताए।
प्रवक्ता याक्खाले भने, 45 वर्षको अवधिमा सिक्किमले 8 हजार करोड ऋृण लियो, एसडीएफ सरकारको कार्यकालमा दुई हजार करोड रुपियाँ तिरेर अहिले केवल 6 हजार करोड रुपियाँ ऋण रहेको छ। एसकेएम पार्टीको सरकारले सरकार बनेको एक हप्ताभित्रमा चार हजार करोड रुपियाँ माग्यो भन्दै पाँच वर्षमा कति माग्ला भनी प्रश्‍न राखे।
एलटी सीट माग्ने सिक्किमविरोधी हो भन्ने गोलेले कसरी एलटी सीट ल्याउँछन्? एमके सुब्बा
एसकेएम सरकारले आफ्नो एक महिनाको उपलब्धिको रूपमा देखाएको कामहरूमाथि तर्क राख्दै एसडीएफ पार्टीका प्रवक्ता एमके सुब्बाले एक महिनाभित्रमा एसकेएम सरकारले कसरी यति काम गर्नसक्यो भनी प्रश्‍न गरेका छन्। उनले एसकेएम सरकारले एक महिनाको उपलब्धिको रूपमा देखाएको केही कामहरू एसडीएफ पार्टीको सरकारमै भएका कामहरू हुन् भन्ने ठोकुवा दिँदै ती कामहरूको श्रेय एसडीएफ सरकारलाई जाने बताए। उनले यति काम गर्न कम्तिमा पनि तीन महिना लाग्ने बताउँदै मुख्यमन्त्री गोले सरकारका कार्यहरूमा अनभिज्ञ रहेको पनि बताए। एसकेएम पार्टी 10 दिनमा सिक्किममा लिम्बू तामाङको सीट ल्याउँछु भन्ने डङ्का पिटेर सरकारमा आएको हो तर एक महिना बितिसक्दा पनि यसमाथि कुनै काम भएको छैन, प्रवक्ता सुब्बाले भने। मुख्यमन्त्री गोलेले केही वर्षअघि एउटा भाषणमा सिक्किममा लिम्बू तामाङको सीट माग्ने सिक्किमविरोधी हो भनेको बताउँदै प्रवक्ता सुब्बाले सिक्किममा लिम्बू तामाङको सीट माग्ने सिक्किमविरोधी हो भन्नेले कसरी लिम्बू तामाङको सीट ल्याउँछ भन्ने प्रश्‍न पनि राखे। उनले गोले केविनेटका मन्त्री सोनाम लामालाई नेपाली सीट कहिले ल्याउने भनी प्रश्‍न राख्दै एसकेएम सरकारको कामबाटै एसकेएम पार्टी कार्यक्रमबिनाको हो भन्ने बुझ्न सकिने बताए।
अर्कोतिर निजी घरहरूबाट कार्यालयहरू स्थानान्तरण गरी सरकारी भवनहरूमा लगिने भनेर एसकेएम सरकारले गरेको घोषणामाथि बोल्दै प्रवक्ता एमके सुब्बाले भने, मुख्यमन्त्री गोले आफैं मुख्यमन्त्रीको सरकारी आवासमा नबसेर गेष्ट हाउसमा बस्दैछन् भने सरकारी कार्यालयहरू सारेर कति फायदा हुन्छ? मिन्तोकगाङ गणतन्त्रको अस्तित्वसँग जोडिएको बताउँदै उनले मुख्यमन्त्री गोलेले मोहम्मद बिन तुगलकको जस्तो पागल सोच राखेर गेष्टहाउसमा बस्नु जनतादेखि भाग्नु हो भने। उनले एसकेएम पार्टीको सबै घोषणाहरू पुरा गर्न उत्तर प्रदेशको बजेटले मात्र पुग्ने पनि बताए।
ओएफओजेको निम्ति छुट्याइएको पैसा अरुतिर खर्च भएको छैन के ? – जेबी दर्नाल
यसरी नै प्रवक्ता जेबी दर्नालले एसकेएमभित्र मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ र मुख्यमन्त्री गोलेबीचको बयान नै मिलेको छैन भन्दै उनीहरूले दोगला राजनीति गर्दै गरेको बताए। उनले भने, सिक्किममा भएका निजी कारखानाहरूबाट आएको राजस्वबाट विभिन्न क्षेत्रमा नोकरीहरू दिनसकिन्छ भन्दै जेकब खालिङले भनेका थिए भने अर्कोतिर मुख्यमन्त्री गोले सिक्किममा राजस्व छैन भन्दै दिल्लीमा पैसा माग्न पुगेका थिए। उनले एसडीएफ सरकारले एक परिवार एक नोकरीको निम्ति छुट्याएको पैसा अन्य कतै खर्च त गरिएको छैन के? भनी प्रश्‍न राखेका छन्।

Related posts

Leave a Comment