लेबोङदेखि जोरबङ्लोसम्म मिनी बस सेवा शुरू गर्ने माग

Font Size
76 Total Views

हतार हुँदा गाडीको साटो पैदल हिँड्न चाहन्छन् दार्जीलिङे

समय संवाददाता
दार्जीलिङ, 8 जून।
हतार हुँदा गाडीको साटो पैदल हिँड्न चाहन्छन् दार्जीलिङका मानिसहरू। यसको एउटै कारण हो दार्जीलिङमा हुने दैनिक ट्राफिक जाम। यसै विषयलाई ध्यानमा राखेर जनआन्दोलन पार्टीले विशेष पर्यटन मौसमको समय लेबोङदेखि घूम-जोरबङ्लोसम्म मिनी बस सेवा शुरू गर्ने माग उठाएको छ। विशेष सिंहमारी र दार्जीलिङ बजार अनि घूम-जोरबङ्लो, डाली आदि स्थानबाट दार्जीलिङ बजारसम्म चल्ने लोकल गाडीहरूको अभावको कारण स्थानीय जनताले भोग्न परेका समस्यालाई ध्यानमा राखेर नै जनआन्दोलन पार्टीले यो माग उठाएको हो। यस विषय लिएर पार्टी नेतृत्वले शीघ्रै जिल्ला प्रशासन साथै सम्बन्धित निकायसित भेट गर्ने पनि योजना बनाएको पार्टीका ब्यूरो सदस्य अमर लामाले बताए।
जीटीए अध्यक्ष अनित थापाले लामाको यस मागलाई स्वागत जनाउँदै यसमाथि शीघ्रै ठोस पहल गर्ने वचन दिएका छन्। यता यस ट्राफिक जामको कारण नै स्थानीय सिंहमारी, डाली, घूम-जोरबङ्लो आदि क्षेत्रका आम मानिसहरू गाडीमा चडेर बजार आउनको लागि निकै बेर सोंच्न बाध्य बनिरहेका छन्। यसैले दार्जीलिङका धेरै मानिसहरूले हतार छ, हिँड्दै गर्छु भन्ने गरेको सुनिएको छ। यसैबाट दार्जीलिङमा हाल कतिको ट्राफिक जामको समस्या छ, त्यसबारे अनुमान लगाउन सकिन्छ। दार्जीलिङमा जब पर्यटन मौसम शुरू हुन्छ, तब यहाँ ट्राफिक समस्या पनि बढ्न थाल्छ। जसको चपेटमा बेसी जस्तो स्थानीय जनता, रोगीहरूका गाडी, अत्यावश्यक काम लिएर कहीं जान लागेका मानिसहरू पर्ने गरेका छन्। यहाँका एम्बुलेन्सहरूलाई यस्तो ट्राफिक जामको चपेटमा पर्ने बानी नै बसिसकेको छ। यस विषय लिएर दार्जीलिङदेखि सिंहमारीबीच ट्याक्सी गाडी चलाउने गाडी चालक विनोदसित सोध्दा उनले अधिक ट्राफिक जामको कारण आधा दिन जसो गाडी नै बन्द गरेर राख्नुपर्ने अवस्था आएको बताए। उनले भने, सिंहमारीदेखि दार्जीलिङसम्म लगभग 2 किलोमिटर दूरीको भाडा प्रति यात्री 10 रुपियाँ छ।
जसअनुसार, एकपल्ट सिंहमारीदेखि बजारसम्म आउँदा 60 रुपियाँको कमाई हुन्छ। तर यहाँ एक ट्रीप गर्नको लागि 2 देखि 3 घण्टासम्मको समय लागिरहेको छ। यस्तो अवस्थामा गाडी कसरी चलाउन सकिन्छ। तर यस विषयलाई स्थानीय जनताले बुझ्दैनन्। यसैकारण गाडी नपाएको गुनासो गर्दै यात्रीहरू रिसाउने गर्छन्। यसबारे दैनिक सिंहमारीदेखि दार्जीलिङ बजार आउने एक यात्रीले आक्रोसित स्वरमा सिंहमारी सिण्डिकेटका गाडी चालकहरूको विरोध गर्दै यस लाइनमा बस चलाउनपर्ने माग गरे। उनले भने, यदि यस लाइनका ट्याक्सी चालकहरूले यात्रीहरूका सुविधालाई ध्यान दिँदैनन् भने यहाँ बस चलाउनुपर्छ अनि यसको लागि स्थानीय जनता एकजुट बनेर सम्बन्धित विभागमा जानुपर्छ। गाडी नपाउने यस्तै समस्या घूम-जोरबङ्लो, डाली लाइनका यात्रीहरूले पनि भोग्न परिरहेका छन्। यसबारे दैनिक दार्जीलिङ बजारदेखि घूम यात्रा गर्ने देवेन्द्र शर्मासित सोध्दा उनले भने, विशेष पर्यटन मौसमको समय घूम-जोरबङ्लोबीच चल्ने गाडीहरूले केवल पर्यटक मात्रै खोजिरहेका हुन्छन्। यसैले यो मौसममा उनीहरूले स्थानीय यात्राहरूलाई देखे पनि नदेखे जस्तो गर्छन्। जसको कारण यस क्षेत्रका आम जनताले पनि गाडीको समस्या भोग्न परिरहेका छन्।
यसमाथि आम जनताले नै उचित पहल गर्न आवश्यक रहेको वर्तमान समयको माग पनि हो। तर सिंहमारी सिण्डिकेटका गाडी चालकहरूले जस्तै यस लाइनका गाडी चालकहरूले पनि ट्राफिक जामको समस्या भोग्न परिरहेको एक गाडी चालकले बताएका छन्। उनले भने, हिजो बुधबार मात्रै बतासेदेखि दार्जीलिङ बजारसम्म आउनको लागि 2 घण्टाको समय लागेको थियो। यस्तो समस्या स्थानीय यात्रीहरूले बुझ्न नै चाहँदैनन्। हामी पनि स्थानीय जनताको सेवाको लागि नै गाडी चलाइरहेका छौं। किनभने, हाम्रो मूल ग्राहक नै स्थानीय यात्रीहरू हुन्, पर्यटकहरू त वर्षमा 4 महीना आउँछन् अनि जान्छन्। तर स्थानीय यात्रीहरू वर्षभरिकै लागि हुन्। यसैले स्थानीय जनताले गाडी चालकहरूको समस्यालाई पनि बुझिदिनुपर्छ।

Related posts

Leave a Comment