लण्डनमा बोलाइयो चामलिङलाई

Font Size
26 Total Views

गान्तोक, 10 अगस्त।
सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका अध्यक्ष एवं पूर्व मुख्यमन्त्री पवन चामलिङलाई आगामी 11 अक्टोबरको दिन लण्डनमा सम्पन्न हुनगइरहेको ‘वर्ल्ड एनआरआई कांग्रेस’ -मा मुख्य अतिथिको रूपमा निमन्त्रणा गरिएको छ। एनआरआई वेलफेयर सोसाइटी अफ् इण्डियाका समन्वयक दिपक सिंहले गत 8 अगस्तको दिन पवन चामलिङलाई पत्रचार गरेका छन्, जुन पत्र अहिले सोसियल मीडियामा लछेप्रे देख्न पाइँदैछ। एनआरआई वेलफेयर सोसाइटी अफ् इण्डियाका समन्वयक दिपक सिंहद्वारा हस्ताक्षरित अनि प्रेसित निमन्त्रणा पत्रमा जनाइअनुसार एनआरआई वेलफेयर सोसाइटी अफ् इण्डियाले आउँदो 11 अक्टोबरमा लण्डन (युनाइटेड किङडम) -को हाउस् अफ् कमनमा भारतका राष्ट्रपिता महात्मा गान्धीको 150औं जन्मजयन्तीलाई केन्द्र गरेर ‘वर्ल्ड एनआरआई कांग्रेस’ आयोजना गरिरहेको छ। विश्‍वका विभिन्न भागबाट 200 अधिक एनआरआईहरूले यो ऐतिहासिक कार्यक्रम (कांग्रेस) -मा सहभागिता जनाउने साथै भारतलाई चम्किलो बनाउन उच्चकोटिको सेवा पुर्‍याउने भारतीयहरूलाई सम्मान जनाइने पनि पत्रमा उल्लेख गरिएको छ।
आगामी 11 अक्टोबरको दिन लण्डनमा सम्पन्न हुने ऐतिहासिक घटनामा मुख्य ‘अतिथि’ -को रूपमा उपस्थित भइदिने साथै ग्लोबल लिडर (विश्‍व नेता)-हरूको उपस्थिति रहने ऐतिहासिक कार्यक्रमलाई सम्बोधन गरिदिने निवेदन भारतका एकजना प्रभावशाली नेता पवन चामलिङलाई प्राप्त भएको छ।
उल्लेखनीय छ, एनआरआई वेल्फेयर सोसाइटी अफ् इण्डिया एक पञ्जीकृत अन्तर्राष्ट्रिय संस्था हो। भारतको सोसाइडी रेजिस्ट्रेसन एक्ट (संस्था पञ्जीकरण अधिनियम) -अनुसार गठन साथै पञ्जीकृत यस संस्थाको केन्द्रिय कार्यालय नयाँ दिल्लीमा रहेको छ। एकता, प्रगति, भाइचारा साथै सहयोगलाई बढावा दिने बृहत् उद्देश्यको साथमा शुरू भएको यस संस्थाले विश्‍वका 49 -वटा देशमा आफ्नो गतिविधिहरू सञ्चालन गरिरहेको छ भने 49 -वटै देशको निम्ति संस्थाको अध्यक्ष पनि नियुक्त गरेको छ। आफ्नो गतिविधि, लक्ष्य, प्राप्ति, नीति, उद्देश्य आदिको विश्‍वव्यापीरूपमा प्रचार गर्ने कार्यलाई ठोसरूपमा अघि बढाउन यस संस्थाले ‘एनआरआई लिङ्क’ -नामक पुस्तक पनि प्रकाशन गर्ने गरेको छ। एनआरआई वेल्फेयर सोसाइटी अफ् इण्डियाको मुखपत्रको रूपमा प्रकाशित हुँदै आएको ‘एनआरआई लिङ्क’-को धेरैवटा संस्करण तथा अङ्कहरू विश्‍वबजारमा आइसकेका छन्।
नन् रेसिडेन्ट अफ् इण्डिया (एनआरआई) -को परिभाषाभित्र त्यस्ता व्यक्तिहरू पर्दछन् जो भारतका नागरिक भए तापनि अन्य देशहरूमा बस्ने गर्छन्। अन्य देशहरूको नागरिकता लिएर त्यही देशमा स्थायीरूपमा बस्ने भारतीयहरूको निम्ति पनि एनआरआई शब्द प्रयोग गरिने चलन छ। भारत र एनआरआईको भावनात्मक एकीकरणमा पहल गर्नु एनआरआई वेल्फेयर सोसाइटी अफ् इण्डियाको प्रमुख उद्देश्य मानिएको छ। विश्‍वभरि छरिएका बसेका भारतीयहरूको साझा मञ्च मानिने यस संस्थाले विभिन्न देशमा नन् रेसिडेन्ट अफ् इण्डियालाई लिएर सङ्गोष्ठी, सभा र कार्यक्रमहरू आयोजना गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ। यस्तै कार्यलाई निरन्तरता दिने क्रममा संस्थाले आगामी 11 अक्टोबरको दिन लण्डनमा कार्यक्रम आयोजना गरी भारतको निम्ति योगदान दिने व्यक्तिहरूलाई ‘महात्मा गान्धी लिडरशीप अवार्ड’ प्रदान गर्ने भएको छ। एनआरआई वेलफेयर सोसाइटी अफ् इण्डियाले अन्तर्राष्ट्रिय स्तरमा आयोजना गर्न गइरहेको यो ऐतिहासिक कार्यक्रममा भारतबाट सिक्किमका पूर्व मुख्यमन्त्री एवं एसडीएफ अध्यक्षलाई मुख्य अतिथिको रूपमा बोलाउनु सिक्किमको निम्ति भारत नभएर हाम्रो देश भारतकै निम्ति गर्वको कुरा हो।
विश्‍वकै सबैभन्दा बृहत् प्रजातान्त्रिक देशको एउटा सानो राज्य (भौगोलिक र जनसंख्याको आधारमा) सिक्किमबाट पवन चामलिङलाई निमन्त्रणा प्राप्त हुनुले विश्‍वमा सिक्किमलाई सम्मानले हेर्ने गरिन्छ भन्ने पनि प्रष्ट भएको छ, विश्‍वमा सिक्किम र सिक्किमे जनताको सुनाम फैलेर जाँदैछ पनि प्रमाण मिलेको छ। योभन्दा अझै महत्त्वपूर्ण साथै ठूलो कुरा के प्रमाणित भएको छ भने पवन चामलिङलाई विश्‍वले चिनेको छ, मानेको पनि छ।

Related posts

Leave a Comment