रेलवे परियोजनाका कारण घरहरू चर्किरहेको आरोप

Font Size
69 Total Views

रम्फू, 12 जून।
सिभोक- रम्फू रेलवे परियोजनाको कार्यले गर्दा पूर्व सिक्किमको पश्‍चिम पाण्डाम निर्वाचन क्षेत्रअन्तर्गत लोवर जितलाङ, अप्पर जितलाङ र चानाटारका कतिपय घरहरू चर्किन थालेको मानिसहरूको आरोप छ। यसका साथै रम्फू बजारको पिउने पानी सङ्कलन गरिने ट्याङ्कीको वरिपरिका स्थानहरू पनि चर्किरहेको मानिसहरूले बताएका छन्। प्राप्त समाचारअनुसार सिभोक-रम्फू रेलवे परियोजनाको कूल 45 किलोमिटर लामो कार्यमध्ये 41 किलोमिटर क्षेत्र पश्‍चिम बङ्गालमा पर्छ। रहेको 4 किलोमिटर कार्यक्षेत्र सिक्किममा पर्दछ।
अहिलेघरि सिक्किमभित्र काम शुरू भइसकेको छ। जसमा विस्फोटक पदार्थहरूको प्रयोगले गर्दा क्षेत्रका 80 भन्दा धेरै घरहरू चर्किएको र अन्य घरहरू पनि प्रतिदिनको ब्लास्टिङले थर्काउने हुनाले मानिसहरू भयभित रहेको गाउँलेहरूले बताएका छन्। ब्लास्टिङको प्रयोगका लागि कुनै निश्‍चित समय नरहेको अनि दिनमा कतिपल्ट ब्लास्टिङ लगाइन्छ र राती दुई तीन बजे पनि ब्लास्टिङ लगाइने हुनाले मानिसहरूलाई समस्या भइरहेको आरोप छ। यसरी नै रम्फू बजारको पिउने पानीका निमित्त बनाइएको ट्याङ्की वरपरका क्षेत्रहरू पनि चर्किएको हुनाले कुनै पनि समय यो ट्याङ्की फुट्न सक्ने आंशका आम नागारिकले गरिरहेका छन्। यदि ट्याङ्की फुटेको खण्डमा रम्फू बजारलाई ठूलो क्षति हुने मानिसहरूले बताइरहेका छन्। यसबारे स्थानीय मानिसहरूले रम्फू महकुमा कार्यालयमा आफ्नो गुनासोलाई लिखित रूपमा पेश गरिसकेका छन्।
यद्यपि, ती घरहरू रेलवे परियोजनाका कारण चर्किएको भन्न नमिल्ने बताउँदै तक्निकी विशेषज्ञहरूलाई जाँच गर्ने आदेश दिइसकेको पनि भोटियाले बताएका छन्। महाप्रबन्धक टीटी भोटियाअनुसार जाँच रिपोर्ट आएपछि रिपोर्टअनुसार नै अघि बढ्ने अथवा कदम चालिने छ। यसै विषयमा रम्फू महकुमा अधिकारी प्रेमकमल राईसँग सम्पर्क गर्दा गाउँलेहरूले लिखित रूपमा घटनाबारे जानकारी गराएको बताएका छन्। गाउँलेहरूको गुनासोपछि विभागले स्थलगत भ्रमण एवं जाँच गरी रिपोर्ट तयार गरिएको बताउँदै आवास तथा भवन विभागलाई जाँचको निम्ति पत्रचार गरिएको पनि राईले बताएका छन्। सो विभागबाट रिपोर्ट प्राप्त भएपछि मात्रै कारण पत्तो लाग्ने अनि कसले नोक्सानीको भरपाई गर्ने हो भन्ने बारे बताउन सकिने राईले जानकारी गराएका छन्।

Related posts

Leave a Comment