रंगेलीमा बाल श्रमविरोध विश्‍व दिवसको अवसरमा सचेतना कार्यक्रम सम्पन्न

Font Size
49 Total Views

रंगेली, 12 जून।
बाल श्रमविरोध विश्‍व दिवसको अवसरमा आज युथ डेभलपमेन्ट सोसाइटी अफ सिक्किम (योडेस) अधिनस्त चाइल्डलाइन रंगेली उपकेन्द्रद्वारा रंगेली बजारमा आज एक सचेतना शिविर आयोजना गरियो। यस अवसरमा बाल मजदूर अनि बाल अधिकारमाथि आम नागरिकहरूलाई जागरूक गराइदै चाइल्डलाइनको टोलीद्वारा रंगेली पुलिस विभाग अनि रंगेली चाङ्गेलाखा ग्राम पञ्चायत एकाइका पञ्चायत सभापति अनुपा तामाङ, उपसभापति लालमाया राई, योडेसका कार्यकारी सचिव मनिकुमार गुरुङ, लेखापाल बीके सुनारसँगको सहभागितामा रंगेली बजारमा रहेका विभिन्न दोकानहरू, घर-दैलोसहित होटलहरूको निरिक्षण गरियो।
यस निरिक्षणको मूल उद्देश्यमा चाइल्डलाइन सर्भिस, बाल अधिकार अनि बाल श्रममाथि सचेतना प्रदान गरिनु रहेको थियो। टोलीको निरिक्षणअघि छोटकरीमा योडेसको पक्षबाट बीके सुनारले यस सचेतना कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै बाल श्रमलाई केन्द्रित गरेर यस गहन विषयलाई चिन्तन र मनन् गर्न सबै नागरिकको साथ अनि सहयोगको खाँचो रहने विचार प्रकट गरे।
यस घर-दैलो जागरूक कार्यक्रममा चाइल्डलाइन कर्मीहरूद्वारा बाल श्रम अनि बाल अधिकारको पोष्टर वितरण, टास्ने काम गरियो भने रंगेली तल्लो बजारका दुई गरीबी रेखामुनि रहेका परिवारका नानीहरूमा अनुष्का दर्जी र अभिशेक दर्जीलाई चाइल्डलाइनको पहलमा बनाइएको जन्म प्रमाण पत्र हस्तातरण गरियो। उनीहरूका अभिभावक अमित दर्जी अनि रुबिना दर्जीले आफूहरूले यस प्रमाण पत्र बनाउन नसकेको तथापि आज चाइल्डलाइन रंगेली उपकेन्द्रद्वारा तयार गरी दिएकोमा आभार प्रकट गरे। यस क्रममा रंगेली चाङ्गेलाखा ग्राम पञ्चायत सभापति अनुपा तामाङले बाल श्रममाथि यस सचेतना शिविर एक महत्वपूर्ण कार्यक्रम रहेको अनि हामीले सदैव चाइल्डलाइन केन्द्रलाई सकारात्मक रुपमा सहयोग पुर्याई दिनुपर्ने आह्वान गरिन् साथै कार्यक्रम आयोजनाको निम्ति चाइल्डलाइन रंगेली, योडेसप्रति कृतज्ञता प्रकट गरिन्।

Related posts

Leave a Comment