याङ्थाङ समष्टिमा एसडीएफको धन्यवाद ज्ञापन कार्यक्रम

Font Size
54 Total Views

गेजिङ, 16 जून।
पश्‍चिम सिक्किमको याङथाङ समष्टिका एसडीएफ उम्मेद्वार डीबी सुब्बाले आज क्षेत्रवासीलाई धन्यवाद दिएका छन्। 2019 को चुनाउमा डीबी सुब्बाले यस समष्टिबाट उम्मेद्वारिता दिँदै 5136 मत प्राप्त गरेका थिए। उनको प्रतिद्वन्दी एसकेएम उम्मेद्वार भीमहाङ सुब्बाले उनलाई 49 मतले पराजित गरेका थिए। चुनाउ पछि समष्टिस्तरीय सभासितै आज धन्यवाद ज्ञापन कार्यक्रम आयोजना गरेको थियो।
कार्यक्रममा समष्टिका पाँचवटा ग्राम पञ्चायत एकाइबाट एसडीएफ समर्थकहरू उपस्थित रहेका थिए। यस अवसरमा सिक्किम मिल्क युनियनका अध्यक्ष एमबी राई, नगर परिषद गेजिङकी उपाध्यक्ष जाङ्मो भोटिया, जिल्ला पञ्चायत, ग्राम पञ्चायत, क्षेत्रस्तरीय पार्टी अध्यक्ष टाशी छोपेल भोटिया, समष्टिका विभिन्न स्तरीय पार्टी कार्यकर्ता, युवा चेली आदिको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मिल्क युनियनका अध्यक्ष एमबी राईले सिक्किममा परिवर्तन आएको बताउँदै जनताले परिवर्तन चाहेको परिणाम स्वरूप भए पनि अब सिक्किममा गैर सिक्किमेको शक्ति नजागोस् भन्दै एसडीएफ पार्टीले कायम गरेको शान्ति, सुख र सुरक्षा यथावत राख्न सक्नुपर्ने बताए। उनले यो समष्टिबाट थोरै मतान्तरले मात्र एसडीएफ पराजित भएको बताउँदै आफूहरूमा कतिपय तालमेल नमिलेकै कारण ‘खेप’ गएको तर ‘पालो’ नगएको बताए।
यसरी नै कार्यक्रमलाई सम्बोधन गर्दै डीबी सुब्बाले सिक्किम र सिक्किमेको हितमा हामी लडेका थियौं तर कतिपय कारणवश हार स्वीकार गर्नु बाध्य बनेका छौं भन्दै पार्टी समर्थकहरू साथै आम जनता कसैले पनि चिन्ता नगर्नु पर्ने बताए। जनताको निर्णयअनुसार एसडीएफको सरकार नआए पनि जनताले चाहेको परिवर्तनमा एसडीएफले विपक्षको भूमिकामा रहेको बताए। एसडीएफ पार्टी विपक्षीको कारण हारेको होइन भन्दै आगामी उपचुनाउ नजिक रहेको र यसमा कुनै पनि लापर्वाही नगरी यसलाई चुनौतीको रूपमा लिँदै काम गर्नुपर्ने बताए। क्षेत्रमा पार्टी समर्थकहरूले नडगमगाइकन स्थिर भई पार्टीमा योगदान दिनुपर्ने उनले अपील गरे।
डीबी सुब्बाले अझ भने, हामी विश्‍वस्त छौं कि उपचुनाउ पछि हामी बराबरीमा रहने छौं। यसमा केही पनि निर्णय हुन सक्ने बताउँदै पार्टी कार्यकर्ता, वार्ड तथा जिल्ला पञ्चायतगण, सबैले मिलेर काम गर्नुपर्ने बताए। एसडीएफ पार्टीले लज्जास्पद हार बेहोर्ने नपरेको बताउँदै 15 सीटमा आफूहरूको जीत रहेको अनि केवल दुई सीटको अन्तरले सरकार गठन गर्न नसकेको स्पष्ट पारे। उनले भने, एसकेएम सरकार पूर्ण बहुमतमा छैन। 25 वर्ष सरकारमा रहेको अनुभव राख्ने एसडीएफले सरकारमा कुनै प्रकारको हेलचेक्राई हुन नदिने अनि जनतालाई कुनै प्रकारको हेपाई खानु नदिने पनि बताए। जनताको हक र अधिकारको निम्ति हामी लडिरहने छौं भन्दै सुब्बाले पार्टीप्रति सबै इमान्दार रहनु पर्ने सल्लाह राखेका छन्। उनले पार्टी अध्यक्ष पवन चामलिङको सन्देशहरूको पनि सम्झना गर्दै आफ्नो सम्बोधनमा उठान गरेका थिए। सभामा समष्टिस्तरीय अध्यक्ष टाशी छोपोल भोटिया, जिल्ला पञ्चायत अङदिला भोटिया, युवा तथा चेली प्रतिनिधि आदिले पनि सम्बोधन गरेका थिए।

Related posts

Leave a Comment