मुख्यमन्त्रीद्वारा 44औं राज्य दिवसको अवसरमा राज्यवासीलाई शुभकामना

Font Size
77 Total Views

गान्तोक, 15 मई।
44औं राज्य दिवसको शुभ अवसरमा मुख्यमन्त्री पवन चामलिङले सिक्किमका मानिसहरूलाई शुभकामना व्यक्त गरेका छन्। उनले 1975 मा राज्यको दर्जा हासिल गरिसकेपछि सिक्किम भारतमा सबैभन्दा विकसित, प्रगतिशील र तीव्रगतिमा वृद्धि भएको एउटा राज्यको रूपमा आविर्भाव भएको कुरा बुधबार जारी आफ्नो सन्देशमा बताएका छन्। मुख्यमन्त्रीले भनेका छन्, म 12 दिसम्बर, 1994 देखि सिक्किम डेमोक्रेटिक फ्रण्ट सरकारको 25 वर्षको अवधिका वर्षहरूमा हासिल व्यापकरूपले परिभाषित 25 असाधारण माइलखुट्टी हाम्रा अद्वितीय पदचिन्हहरूका कारण सम्भव भएको उत्सव मनाउन चाहन्छु। यो हाम्रो गहिरो प्रतिबद्धता अनि कठोर मेहनत र यी वर्षहरूको अवधिमा हामीद्वारा विकसित गहन अभिनव अनि कल्पनाशील विकास कार्यक्रमको कारण सम्भव भएको छ। उनले भनेका छन्, एसडीएफ सरकारले लोकतन्त्रलाई पूर्णरूपमा बहाल गरेको छ। अभिव्यक्तिको पूर्ण स्वतन्त्रता र आन्दोलनको स्वतन्त्रता छ। एउटै पनि राजनीतिक बन्दी छैन।
विगत 25 वर्षको अवधिमा, पूर्ण शान्ति र सुरक्षा कायम रहिआएको छ र सिक्किम आज भारतको सबैभन्दा शान्तिपूर्ण राज्य बनेको छ। यहाँ कुनै साम्प्रदायिक संघर्ष छैन, कुनै अपराध र आतङ्कवाद छैन। सिक्किममा सबै वर्गका समुदायहरूलाई पञ्चायतमा सीट आरक्षण, उच्च अध्ययन आदिको माध्यमद्वारा पूर्ण सुरक्षा र समान व्यवहार गरिएको छ। भारतीय संविधानको अनुच्छेद 371 (एफ) अन्तर्गत सिक्किम सब्जेक्ट दस्तावेज, रूल 4.4 अनि सबै पुराना कानूनहरूलाई पूर्ण सुरक्षा प्रदान गरिएको छ। सिक्किम भारतको एकमात्र राज्य हो जहाँ मानिसहरूको बुनियादी न्यूनतम आवश्यकताहरूलाई पूर्णरूपमा सम्बोधन गरिएको छ। सिक्किम पहिलो भोकमरी अनि गरीबीमुक्त राज्य हो। सबैलाई निशुल्क आवास प्रदान गर्ने पहिलो राज्य हो। ग्रामीण विकासअन्तर्गत 70% बजेट आवण्टित गर्ने सिक्किम पहिलो राज्य हो। मुख्यमन्त्रीले एसडीएफ सरकारले सिक्किमका मानिसहरूको दीर्घलम्बित राजनीतिक मांगहरूलाई पूरा गर्नमा ठूलो सफलता अर्जित गरेको बताएका छन्। जसमा सिक्किममा मण्डल आयोगको रिपोर्ट लागू गर्नु, सन्यासी, थामी, जोगी र देवानलाई ओबीसीको दर्जा, बाहुन, छेत्री र नेवार समुदायहरूलाई राज्य स्तरमा ओबीसीको मान्यता, सिक्किम उत्तर पूर्वी परिषदको 8औं सदस्य बन्नु, लिम्बु र तामाङ्ग समुदायलाई एसटी-को मान्यता, लेप्चालाई आदिम जनजातिको रूपमा मान्यता, केन्द्रिय आयकरमा छूट, 44 वर्षदेखि बन्द रहेको नथुला व्यापार मार्ग पुनः शुरू तथा नथुलादेखि कैलाश मानसरोवर यात्रा शुरू सामेल रहेका छन्।
यसैगरि, एसडीएफ सरकारले 1996 मा पहिलो औद्योगिक नीति तयार गरेर सिक्किममा औद्योगीकरण शुरू गरेको, राज्यको 8000 मेगावाट जलविद्युत क्षमतालाई उपयोग गर्दै जल-विद्युत उत्पादनको माध्यमद्वारा ऊर्जा सुरक्षा हासिल गरेको, पर्यावरण अनुकूल नीतिहरूका कारण राज्यको वन्य क्षेत्रमा 4 प्रतिशतभन्दा अधिक वृद्धि भएको, सिक्किम भारत अनि विश्वको पहिलो जैविक राज्य बनेको, स्थानीय जनसंख्याद्वारा बोलिने सबै बोली/भाषाहरूलाई राज्य भाषाको रूपमा मान्यता दिइएको, नि:शुल्क शिक्षा प्रदान गर्ने ‘युथ फर्स्ट’ नीतिका साथ युवा केन्द्रित सरकार; क्षमता निर्माण; स्टार्ट-अप कार्यक्रम; एक परिवार एक नोकरी योजनाअन्तर्गत स्थानीय रोजगार सुनिश्चित गर्ने जस्ता कार्यहरू गरेको बताएका छन्। मुख्यमन्त्रीले आफ्नो सन्देशमा सिक्किम-चारधाम, गुरु रिम्पोछेको प्रतिमा, बुद्ध पार्क र चेनरेजी, लिम्बु अध्ययन केन्द्र, भानुभक्त अध्ययन केन्द्र, श्रीजङ्गा अनि भगवान पर्शुरामको प्रतिमाबाहेक धार्मिक स्थलहरू अनि धार्मिक केन्द्रहरूको विशाल श्रृंखला विकसित/निर्माण गर्ने एकमात्र राज्य रहेको पनि बताएका छन्। यसैगरि, सिक्किममा अत्याधुनिक टासिलिङ सचिवालय र अत्याधुनिक नयाँ एसटीएनएम अस्पतालको निर्माण गरिएको बताएका छन्। उनले 1994 मा केवल एउटा कलेजको तुलनामा, आज सिक्किममा कुल 28 वटा कलेज र 7 वटा विश्वविद्यालयहरू रहेको जानकारी दिएका छन्। उनले सामाजिक, आर्थिक, शैक्षिक अनि सांस्कृतिक रूपमा अझै पनि धेरै गर्नुपर्ने बताएका छन् ताकि पूर्वजहरूका आकांक्षाहरू पुर्णरूपमा साकार हुन सकुन् भनेका छन्।
गत 11 अप्रेल, 2019 मा सिक्किमका मतदाताहरूले 10औं राज्य विधानसभा र देशको 17औं लोकसभा गठन गर्न मतदान गरेको उल्लेख गर्दै प्रत्येक मतदातालाई बधाई दिएका छन्। उनले विभिन्न राजनीतिक दलसित सम्बद्ध रहेर चुनाउ लड़ने उम्मेदवारहरूको सफलताको पनि कामना गरेका छन्। उनले सिक्किमलाई अझ अधिक ऊँचाई अनि गौरवतर्फ लैजाने दृढ़ संकल्प र प्रयासहरूलाई नवीकरण गरौं भनी आह्वान पनि गरेका छन्। उनले राज्य दिवस 2019 को अवसरमा विभिन्न वर्गअन्तर्गत सबै पुरस्कार विजेताहरूलाई बधाई व्यक्त गर्दै उज्जवल भविष्यको कामना गरेका छन्।

Related posts

Leave a Comment