भारत-नेपाल आर्थिक साझेदारी शिखर सम्मेलन आयोजित

Font Size
18 Total Views

पीआइबी
गान्तोक, 28 जून।
भारत-नेपाल केन्द्र (आइएनसी)/राज्य विकास परिषद् (एसडीसी) अन्तर्गत पीएचडीसीसीआइद्वारा नयाँ दिल्लीको नेपाली राजदूतावासको सहयोगमा 28 जूनको दिन ‘भारत-नेपाल आर्थिक साझेदारी शिखर सम्मेलन’ आयोजना गरियो। पर्यटन, कृषि एवं खाद्य परिशोधन, ऊर्जा, पूर्वाधार, स्वास्थ्य स्याहार, शिक्षा, कौशल विकास तथा स्टार्टअप र सेवा क्षेत्रलगायतका क्षेत्रमा ‘पूर्वी सम्पर्क’-को सक्रिय अनि उत्कृष्ट पहलमार्फत् नेपालको आर्थिक विकासको अपेक्षित लक्ष्य हासिल गर्न भारत र नेपालबीच साझेदारीमाथि सम्मेलन केन्द्रित रहेको थियो।
क्षेत्रको नीति निर्णयमा महत्त्वपूर्ण प्रभाव राख्ने नीति-निर्धारकहरू सम्मेलनमा उपस्थित थिए। सम्मेलनमा कारोबार र निवेशको निम्ति यी दुई इलाकाले प्रदान गर्ने बृहत् अनि प्रामाणिक सम्भावनाहरूबारे अवगत गराउँदै सिक्किम र नेपालबीच दुईतर्फी निवेश अवसरको खाका प्रस्तुत गरियो।
मुख्य अतिथिका रूपमा बोल्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले विस्तृत क्षेत्रीय साथै उपक्षेत्रीय आर्थिक सहयोग अनि सहकार्यको निम्ति संयुक्त पहलका अवसरहरूबारे आफ्नो भावीदृष्टि साझा गरे। नेपालका राजदूत निलम्बर आचार्यले पर्यटन, कृषि एवं खाद्य परिशोधन, ऊर्जा, पूर्वाधार, स्वास्थ्य स्याहार, शिक्षा, कौशल विकास तथा स्टार्टअप र सेवा क्षेत्र लगायतका क्षेत्रमा ‘पूर्वी सम्पर्क’-को सक्रिय अनि उत्कृष्ट पहलमार्फत् विकासको अपेक्षित लक्ष्य हासिल गर्न भारत र नेपालबीच साझेदारीलाई अझ व्यापकता दिनसक्ने विषयमा उल्लेख गरे। नेपालका अर्थमन्त्री कृष्णहरि पुष्करले आफ्नो विस्तृत प्रस्तुतिमा यिनै बुँदाहरूमाथि थप बल दिए।
सिक्किमका मुख्य सचिव आलोक श्रीवास्तले कारोबारको निम्ति सहायक अनि प्रगतिशील रहेको सिक्किमको विकासीय रूपरेखाको जानकारी दिए। अतिरिक्त सचिव तथा उद्योग एवं वाणिज्य विभागका सचिव थोमस चाण्डीले नेपाली उद्यमीहरूलाई स्वागत जनाउँदै विशेष गरी पर्यटन र जैविक खेतीको क्षेत्रमा सहकार्यको नयाँ अध्याय शुरु गर्न आह्वान जनाए।
जवाहरलाल नेहरू विश्‍वविद्यालयका प्रोफेसर तथा भारत नेपाल सम्बन्धको ईपीजी सदस्य प्रो. महेन्द्र पी. लामाले (दक्षिण एशियाली अर्थनीति) सिक्किम र नेपालबीच आर्थिक सहकार्य विस्तारको निम्ति महत्त्वपूर्ण ऐतिहासिक साथै समकालीन तथ्यहरूबारे प्रकाश पारे। नेपाल एसबीआइ ब्याङ्क लिमिटेडका महानिर्देशक एवं सीईओ अनुकूल भटनागरले कारोबारको निम्ति नेपालमा उपलब्ध वित्तीय सुविधाहरूबारे अवगत गराए।
भारत-नेपाल केन्द्र, पीएचडीसीसीआइका अध्यक्ष तथा नेपालको निम्ति भारतका पूर्व राजदूत केभी राजनले आर्थिक सहकार्यलाई गति प्रदान गर्न भारत र नेपालको सामाजिक-सांस्कृतिक सद्भावलाई संस्थागत बनाउनुपर्ने आवश्यकतामाथि जोर दिए। पीएचडीसीसीअइले नेपाल सरकारसँग मिलेर काम गर्दै आएको छ भने नेपालको अग्रणी औद्योगिक निकाय हो। पीएचडीसीसीआइको भारत-नेपाल केन्द्रले नेपाल अनि भारतबीच द्विदेशीय आर्थिक एवं कारोबारी सम्बन्ध प्रोत्साहित गर्दछ।
पूर्व राजदूत केभी राजनद्वारा अध्यक्षता गरिएको सम्मेलनको पहिलो प्राविधिक सत्रमा ‘नेपालमा औद्योगिक प्रवर्तन; द्विदेशीय कारोबार नीतिको पुनरावलोकन, उपक्षेत्रीय सहकार्यको विस्तार, सीमा क्षेत्र विकास, एमएसएमई, गन्तव्य सिक्किम, एसएएआरसी, बीबीआइएन’ विषयमाथि केन्द्रित रहेको थियो। सत्रमा नेपाल राजदूतावासका सल्लाहकार (आर्थिक) तीर्थ पौड्याल, सिक्किमका पूर्व लोकसभा सांसद पीडी राई, सूचना एवं जनसम्पर्क विभागका सचिव श्रीमती शेराब सेङ्गा, आइसीएफएआइ विश्‍वविद्यालय, सिक्किमका उपकूलपति डा. जगन्नाथ पटनायक, केन्द्रिय कृषि विश्‍वविद्यालयका उपकूलपति डा. पीपी डब्राल, सिक्किम विश्‍वविद्यालयका डीन त्रिलोक देवान, आन्ध्र प्रदेशका पूर्व मुख्य सचिव, जीटीएका सल्लाहकार एवं पूर्व प्रधान सचिव, दार्जीलिङका पूर्व विधायक, सिक्किम सरकारका सल्लाहकार (पर्यटन) राज बसुले सहभागिता जनाए।
समापन सत्रमा ‘नीतिगत सुधार तथा नेपालमा कारोबार गर्न सहजता, नेपालमा क्षेत्रगत सम्भावना, नेपाल तथा पूर्वोत्तरमा (सिक्किमको विशेष सन्दर्भमा) औद्योगिक विकासको निम्ति निवेशको प्रवाहीकरण (दुईतर्फी) विषयमा केन्द्रित रहेको थियो, जसको समन्वयन भारत-नेपाल केन्द्र, पीएचडीसीसीआइका उपसचिव एवं समन्वयक अतुलकुमार ठाकुरले गरेका थिए। अन्य सदस्यहरूमा एशियन इन्स्टीट्युट अव् डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्स, काठमाडौंका सीईओ सुनिल केसी, कारोबार दैनिक, काठमाडौंका सम्पादक कुबेर चालीसे, इन्टरस्टेट मल्टी मोडल ट्रान्स्पोर्ट (प्रा) लि/ फ्लीट लजिस्टिक (प्रा) लि.-का कार्यकारी निर्देशक विकास रौनियार, अन्तर्राष्ट्रिय कारोबार विशेषज्ञ डा. पानु पाजो, पूर्वाधारका सल्लाहकार कर्णल मणि गहतराज, शिक्षाविद् गायत्री राई, कृषि तथा खाद्य परिशोधन उद्यमी अभिमन्यु ढकाल रहेका थिए। सम्मेलनमा गहन क्षेत्रीय तथा उपक्षेत्रीय आर्थिक सहकार्यको संरचना सिर्जना गरी त्यसलाई दीर्घता प्रदान गर्ने विशेष प्रयास गरिएको थियो।

Related posts

Leave a Comment