प्रसुति विभाग र शिशु विभाग भिक्टोरिया अस्पतालमा सार्ने योजना

Font Size
8 Total Views

समय संवाददाता
दार्जीलिङ, 17 अगस्त।
दार्जीलिङ जिल्ला अस्पताल वा इडेन अस्पतालबाट प्रसुति विभाग र शिशु उपचार विभाग शीघ्रै यहाँको भिक्टोरिया अस्पतालमा सार्ने योजना तयार भएको छ। यसका साथै दार्जीलिङ जिल्ला अस्पतालमा 1 देखि डेढ महीनाभित्रै सीटी स्न्यान मशिन पनि राख्ने तय भएको छ। आज गोर्खा जनमुक्ति मोर्चा दार्जीलिङ टाउन कमिटीले आफ्ना 12 सूत्री माग विषय लिएर अस्पतालपक्षले के-कस्तो पहल गरिरहेको छ भन्नेबारे दार्जीलिङका मुख्य स्वास्थ्य अधिकारीसित भेट गर्दा यो कुराको जानकारी पाएको टाउन कमिटी प्रवक्ता सत्यन गिरीले बताए। गोजमुमो टाउन कमिटीले गत अप्रेल महीनामा नै दार्जीलिङ जिल्ला अस्पतालमा रहेका विभिन्न समस्या वा असुविधाहरूबारे 12 सूत्री ज्ञापन पत्र दार्जीलिङ जिल्ला अस्पताल प्रशासनसमक्ष पेश गरेको थियो। जसमा डाक्टरहरूको कमी, प्याथोलोजी विभागलाई आधुनिक बनाउनुपर्ने, ईसीजी-अल्ट्रा साउण्ड 24 घण्टा नै हुनुपर्ने, एमआरआईलाई पूर्णरूपले सुचारूरूपले सञ्चालनमा ल्याउनुपर्ने, ओपरेशन थिएटरलाई आधुनिक बनाउनुपर्ने, सीटी स्न्यान शुरू गर्नुपर्ने, अस्पतालका रोगीहरूलाई वितरण गरिने खाना गुणस्तरीय हुनपर्ने, यहाँको प्रसुति विभाग र शिशु उपचार विभागलाई भिक्टोरिया अस्पतालमा सारेर पलङ संख्या बढाउनुपर्ने जस्ता मागहरू सामेल गरेको थियो। यसै विषय लिएर आज फेरि टाउन कमिटीको एक प्रतिनिधि टोलीले जिल्लाका मुख्य स्वास्थ्य अधिकारीसित भेट गर्दा अधिकाधिक माग वा समस्याहरूमाथि ठोस पहल भइरहेको बताइएको टाउन कमिटी प्रवक्ता गिरीले बताए। उनले भने, हामीले जिल्ला अस्पतालको समस्याबारे माग पत्र दिएपछि जिल्ला अस्पताल प्रशासनले पनि सगम्भीरता अप्नाउँदै यसमाथि ठोस कार्य गरेको छ। यसैको फलस्वरूप दार्जीलिङ जिल्ला अस्पतालमा डाक्टरको संख्या 50 पुगेको छ भने अझै डाक्टरहरूको नियुक्ति प्रक्रिया चलिरहेको जानकारी पाइएको छ। हाल यस अस्पतालमा अर्थोपेडिक एकैजना मात्रै छन् भने न्यूरो विशेषज्ञ एकैजना पनि छैन। उनले यी विषयमाथि नै सकारात्मक कुराकानी भएको जनाउँदै हाल एमआरआई असल ढङ्गमा सञ्चालन भइरहेको पनि जनाइएको छ।
उनले भने, हाल दार्जीलिङ जिल्ला अस्पतालमा 343 वटा मात्रै पलङ छन्, जसको कारण अधिकांश समय नै एउटा पलङमा दुइजना-तीनजना बिरामीहरूलाई राख्नुपर्ने बाध्यता छ। यसैले यदि भिक्टोरिया अस्पतालमा प्रसुति विभाग र शिशु विभाग सार्न सकिए यहाँ पनि धेरैवटा पलङहरू राख्न सकिनेछ। यदि यी दुइवटा अस्पतालमा मोठ 500 वटा पलङ हुनसके, पलङको समस्याबाट पनि धेरै हदसम्म मुक्ति पाउन सकिनेछ। यति मात्रै होइन, उनले हाल दार्जीलिङ जिल्ला अस्पतालको सीसीयू भवनमा मोठ 10 वटा क्याविन रहे पनि 4 वटा क्याविनलाई मात्रै प्रयोगमा ल्याइने गरिएको पनि जनाए। रहल 6 वटा क्याविनलाई पनि रोगी वा विरामी राख्न प्रयोगमा ल्याउनेबारे कुराकानी भएको छ। उनले भने, हाल सानो विरामी लागे पनि सीटी स्न्यान गर्नको लागि सिलगढी पठाइने गरिन्छ। जसको कारण यहाँका धेरै मानिसहरूले असुविधा झेल्न परिरहेका छन्। यसैले गोजमुमो दार्जीलिङ टाउन कमिटीले दार्जीलिङ जिल्ला अस्पतालमा सीटी स्न्यान राख्नैपर्छ भन्नेबारे जिल्ला अस्पताल प्रशासनमाथि चाप दिंदै आइरहेको थियो। जसको फलस्वरूप आगामी 1 देखि डेढ महीनाभित्रै दार्जीलिङ जिल्ला अस्पतालमा सीटी स्न्यान मशिन ल्याइने भएको अस्पताल प्रशासनले वचन दिएको छ।

Related posts

Leave a Comment