प्रधानमन्त्री मोदीले अर्थशास्त्री र उद्योग विशेषज्ञहरूसित सभा गरे

Font Size
92 Total Views

नयाँ दिल्ली, 23 जून।
मुस्किल आर्थिक स्थितिका बीच आगामी महिना संसदमा पेश हुने बजेटभन्दा पहिला 22 जूनको दिन प्रधानमन्त्री नरेन्द्र मोदीले देशका प्रमुख अर्थशास्त्री र उद्योग विशेषज्ञहरूसित सभा गरेर उनीहरूबाट सुझाव लिएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्त्वमा गठित नयाँ सरकारले पहिलो बजेट 5 जुलाईको दिन पेश गर्ने भएको कारण यो सभालाई महत्त्वपूर्ण मानिएको छ। उल्लेख्य, वित्त मन्त्री निर्मला सितारमणले आउँदो 5 जुलाईको दिन लोकसभामा बजेट पेश गर्नेछन्। प्रधानमन्त्रीसितको यो सभाको आयोजना निती आयोगले ‘आर्थिक नीतिःअघाडिको बाटो’ सत्रका रूपमा गरेको थियो। यसमा 40 भन्दा अधिक अर्थशास्त्री र विशेषज्ञहरूले भाग लिएका थिए। प्रधानमन्त्री कार्यालयद्वारा जारी एउटा प्रेस विज्ञप्तिअऩुसार यस सत्रमा भाग लिने विशेषज्ञहरूले आ-आफ्नो विचार साझा गरेका छन्। सभामा पाँच विभिन्न आर्थिक समूहमा विचार व्यक्त गरिएको छ। यसमा बृहत अर्थव्यवस्था र रोजगार, कृषि र जल संसाधन, निर्यात, शिक्षा र स्वास्थ्य जस्ता महत्त्वपूर्ण क्षेत्रहरूमा चर्चा गरिएको छ। सभामा वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयल र साङ्ख्यिकी तथा कार्यक्रम कार्यान्वय मन्त्री राव इन्द्रजीत सिंह, नीति आयोगका उपाध्यक्ष राजीव कुमार र अन्य वरिष्ठ अधिकारीहरू पनि उपस्थित थिए।
दोस्रोपल्ट प्रचण्ड बहुमत प्राप्त गर्दै सत्ता सम्हालेपछि देशको बिग्रन्दो अर्थ व्यवस्थालाई मूल धारामा ल्याउने ठूलो जिम्मेवारी प्रधानमन्त्री नरेन्द्र मोदीमाथि छ। यस सभामा वित्त मन्त्रालयका सबै पाँच सचिव र नीति आयोगका अधिकारी पनि उपस्थित थिए। स्मरण गराइन्छ, देशको जीडीपी विगत पाँच वर्षको तुलनामा सबैभन्दा तल्लो स्तरमा झरेर वर्ष 2018-19 मा 6.8 प्रतिशत भएको छ। महँगाई अहिले नियन्त्रणमा भए तापनि आर्थिक विकास धिमा भइरहेको छ। यसरी नै यस वर्षको जनवरीदेखिको मार्चसम्म तीन महिनाको अवधिमा देशको विकास दर पाँच वर्षको न्यूनतम् स्तरमा पुगेर 5.8 प्रतिशत पुगेको छ। कृषि र उत्पादन क्षेत्रमा निराशाजनक प्रदर्शनका कारण आर्थिक विकास दर न्यून भएको मानिँदैछ। अब नयाँ सरकारमा उत्पादन क्षेत्रमा निवेश बढाउनु र कृषकहरूको आय बढाउने नयाँ चुनौती छ। यद्यपि, अनिश्‍चित मौसमले अर्थशास्त्रीहरूलाई अझ चिन्तित पनि बनाइरहेको छ। अर्कातिर हालै सम्पन्न नीति आयोगको सभामा प्रधानमन्त्रीले वर्ष 2024 -सम्म देशको अर्थव्यवस्था पाँच ट्रिलियण डलरसम्म पुर्याउने लक्ष्य राखिएको जानकारी दिएका थिए।

Related posts

Leave a Comment