पीएस गोले एडहक मुख्यमन्त्रीः केएन राई

Font Size
83 Total Views

नाम्ची, 22 जून।
पोकलोक-कामराङ समष्टिअन्तर्गत किचूडूम्रामा आज एसडीएफ पार्टीको दक्षिण जिल्लास्तरीय सम्पूर्ण क्रान्ति दिवस भव्यरूपमा पालन गरियो। यस कार्यक्रमको अध्यक्षता एसडीएफ पार्टीका संस्थापक सदस्य एवं वरिष्ठ कार्यकर्ता कञ्चनमाया राईले गरेकी थिइन्। कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व विधानसभा अध्यक्ष केएन राईले सम्पूर्ण क्रान्ति दिवसको पृष्ठभूमि र महत्त्व विषयमा जानकारी गराए। प्रजातन्त्रको पुनर्बहाली गरेर सिक्किमको विकास गरी सम्पूर्ण सिक्किमे जनतालाई समान हक-अधिकार दिलाउन एसडीएफ पार्टीको जन्म भएको बताउँदै उनले पार्टीका क्रान्तिकारी कार्यकर्ताहरूलाई सम्मान जनाउन अनि सिक्किम निर्माणको उद्देश्यमा एसडीएफ पार्टीले गरेको कठोर संघर्षलाई चिरस्मरणीय बनाउन सम्पूर्ण क्रान्ति दिवस पालन गर्ने प्रथा बसेको बताए। पार्टी स्थापना कालमा गरिएका संघर्षहरूको स्मरण गर्दै उनले एसडीएफ पार्टीको ऐतिहासिक यात्राक्रममाथि पनि प्रकाश पारे। भूमिगत रहेर पार्टीलाई सञ्चालन गर्ने सिक्किमका एकमात्र नेता पवन चामलिङ रहेको अवगत गराउँदै उनले पोकलोक-कामराङ परिसरमा एसडीएफ सरकारले गरेका विभिन्न विकास कार्यहरूको जानकारी गराए। उनले पीएस गोले सिक्किमको एडहक मुख्यमन्त्री रहेको पनि दाबी गरे। आगामी उपचुनाउमा तीनवटै समष्टिबाट एसडीएफ पार्टीले विजय प्राप्त गरेर फेरि पनि सरकार गर्ने ठोकुवा गर्दै उनले उपस्थित पार्टी कार्यकर्ता र जनताहरूलाई नअत्तालिने अनुरोध गरे। संवैधानिक रूपमा पीएस गोले मुख्यमन्त्री हुन नसक्ने पनि उनले बताए। भ्रष्टाचार गरेको प्रमाणित भएर जेलको सजाय पनि पाएका व्यक्ति मुख्यमन्त्री हुनु भनेको स्याललाई कुखुराको गोठाला गर भनेजस्तै रहेको बताउँदै उनले एसकेएम सरकार आएपछि गाउँ-घरबाट खुशी-उमङ्गहरू हराएर गएको बताए। सरकारको काम जनतालाई शान्ति-सुरक्षा दिनु हो भन्दै उनले एसकेएम सरकारले यसको विपरित काम गरिरहेको बताए।
यसरी नै एसडीएफ पार्टीको दक्षिण जिल्ला कार्यकारिणी समितिका अध्यक्ष गणेशकुमार राईले एसकेएम सरकारले गरिरहेको विध्वंशात्मक गतिविधिहरूलाई हेरेर जनता एसडीएफमा गोलबद्ध हुनुपर्ने कुरामा जोर दिए। एसकेएम सरकारले ग्राम पञ्चायत र नगर पञ्चायतलाई बर्खास्त गर्ने हल्ला चल्दैछ, पञ्चायतगणलाई धम्की दिइरहेको कुरा सुन्नमा आएको छ तर सिक्किम पञ्चायत अधिनियमअनुसार पञ्चायतहरू त्यसरी बर्खास्त हुन सक्दैनन भन्दै उनले यदि एसडीएफ पार्टीका पञ्चायतहरू एसकेएममा सामेल भए मात्र बर्खास्त हुनसक्ने जानकारी गराए। एसडीएफ पार्टीका पञ्चायतहरूका विभिन्न भूमिकाहरू विषयमा पनि उनले प्रकाश पारे। एकसय दिनमा एक परिवार, एक नोकरीअन्तर्गत नोकरी पाएका युवाहरूलाई स्थायी गर्छु भन्ने एसकेएमले सरकारमा आएपछि दस हजारजना युवाहरूको भविष्य खाने कोशिस गरेको बताउँदै उनले उपचुनाउलाई हेरेर यस विषयमा एसकेएम सरकारले केही समयको लागि राहत दिएको बताए। उनले सिक्किम र सिक्किमे जनतालाई लिएर एसकेएम सरकारको नियत राम्रो नभएको बताए। नीति आयोगको सभामा पीएस गोलेले सरकारको योजना, विकास आदिको कुरा नगरेर पैसा माग्ने काम गरेर सिक्किमे जनतालाई लज्जित बनाउने काम गरेको बताउँदै उनले एसकेएमले पाँच वर्ष सरकार सञ्चालन गरे सिक्किमलाई बर्बाद बनाउने बताए।
यस्तै प्रकारले विधायक राजकुमारी थापाले एसडीएफका विधायकहरू एसकेएममा सामेल हुने उडन्ते कुरा गरेर एसकेएमले जनतालाई दिग्भ्रमित बनाउने केशिस गरिरहेको बताउँदै एसडीएफ पार्टीका सबै विधायकहरू जनता र पार्टीप्रति इमान्दार रहेको बताइन्। विधानसभाको काण्डलाई लिएर मुख्यमन्त्री पीएस गोलेले ‘त्यो मलाई थाहा भएन’ भनी दिएको बयानको निन्दा गर्दै यस्तो गैर जिम्मेवार मुख्यमन्त्रीले सिक्किमको शान्ति कायम राख्दै विकास गर्न नसक्ने ठोकुवा गरिन्। यस्तो मुख्यमन्त्रीको हामी सम्मान गर्दैनौं भन्दै उनले एसडीएफ पार्टी चेलीलाई सम्मान गर्ने पार्टी भएको कारण एसडीएफ सरकारले चेलीहरूलाई विधानसभा अध्यक्ष, मन्त्री आदिको पद दिएको उल्लेख गरिन्।
कार्यक्रममा युवा एवं खेलकुद प्रकोष्टका महासचिव अर्जुन राईले एसडीएफ पार्टीको यो ठूलो हार नभएको बताउँदै केही महिनापछि फेरि एसडीएफ पार्टीकै सरकार आउँने बताए। यसकारण पार्टी कार्यकर्ताहरू हतास हुने आह्वान गर्दै उनले एसडीएफ पार्टीको क्रान्ति गरीबलाई उठाएर सिक्किमको शान्ति-सुरक्षा र विकास गर्ने क्रान्ति रहेको उल्लेख गरे। एसडीएफ पार्टीको राजनीति राम्रो भएको कारण जनताले एसकेएमलाई भन्दा एसडीएफलाई मतदान दिएको बताउँदै उनले पोकलोक-कामराङमा एसकेएमले जबरजस्ती घरहरूमा झण्डा गाड्ने काम गरिरहेको बताए। कार्यक्रममा पार्टीको जिल्ला युवा समन्वयक रोबेन राईले पनि सम्बोधन गरेका थिए।
कार्यक्रममा स्थानीय गायक-गायिका राजू बाह्रकोटी र अञ्जू तामाङले गीतहरू प्रस्तुत गरेर उपस्थितजनलाई मनोरञ्जन गराएका थिए। कार्यक्रममा पूर्व मन्त्री जीएम गुरूङ, विधायक टीटी भोटिया, विधायक फर्वन्ती तामाङ, पार्टीको सांस्कृतिक प्रकोष्टका राज्यस्तरीय अध्यक्ष चन्द्र खालिङ, विभिन्नस्तरका पार्टी कार्यकर्तागण आदिको उपस्थिति रहेको थियो।

Related posts

Leave a Comment