पार्टीको प्रदर्शनको जिम्मेवारी लिँदै भरत बस्नेतले दिए अध्यक्ष पदबाट राजीनामा

Font Size
26 Total Views

गान्तोक, 29 मई।
सिक्किम प्रदेश कांग्रेस कमिटीले बुधबार छः माइल, तादोङस्थित पार्टी मुख्य कार्यालयमा एक समीक्षा एवं विश्‍लेषण सभा आयोजन गर्यो। प्रदेश अध्यक्ष भरत बस्नेतको अध्यक्षतामा आयोजित उक्त सभामा पार्टीका पदाधिकारीहरू, हालैमा सम्पन्न चुनाउका उम्मेद्वारहरू, पार्टी कार्यकर्ताहरू र समर्थकहरू उपस्थित थिए। कार्यकारी अध्यक्ष डा. दिपेन्द्र गुरुङद्वारा जारी प्रेस विज्ञप्तिअनुसार पार्टीले चुनाउमा सक्रिय सहभागिता अनि कडा परिश्रमको निम्ति सम्पूर्ण उम्मेद्वारहरू, पार्टी कार्यकर्ताहरू र समर्थकहरूप्रति आभार प्रकट गर्यो। यसैगरी, प्रदेश कांग्रेसले शान्तिपूर्वक, स्वतन्त्र अनि निष्पक्ष रूपमा चुनाउ आयोजन गर्न खटिएको चुनाउ आयोग, सबै जिल्ला चुनाउ अधिकारीहरू, चुनाउ कर्मीहरू र सुरक्षाबलहरूप्रति पनि आभार प्रकट गर्यो। विधानसभा अनि लोकसभा चुनाउमा प्रदेश कांग्रेसको असन्तोषजनक प्रदर्शनको निम्ति नैतिक जिम्मेदवारी लिँदै प्रदेश अध्यक्ष भरत बस्नेतले अध्यक्ष पदबाट राजीनामा दिएको बताइएको छ। वर्तमान घटनाक्रम र पार्टी पुनर्गठनको प्रस्ताव तयार गरेर अखिल भारतीय कांग्रेस कमिटीकहाँ पठाइएको जानकारी पनि प्रेस विज्ञप्तिमा दिइएको छ। पार्टी हाई कमाण्डले भावी निर्णय नलिएसम्म वर्तमान पदाधिकारीहरूले जिम्मेवारी लिने बताइएको छ।
अर्कातिर, प्रदेश कांग्रेसले मुख्यमन्त्री प्रेमसिंह तामाङको त्यस बयानप्रति दुःख प्रकट गरेको छ जसमा मुख्यमन्त्रीले उनको सरकार भाजपा नेतृत्वधीन एनडीए सरकारको हिस्सा रहेको बताएका थिए। जनताले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीलाई जनमत दिएको, तर भाजपालाई होइन भन्दै सरकार गठन हुने बितिकै यस्तो घोषणा गर्नु मतदाताहरूप्रति विश्‍वासघात रहेको प्रदेश कांग्रेसले ठहर गरेको छ। यसैगरी, प्रदेश कांग्रेसले नयाँ सरकारलाई शुभकामना दिँदै नयाँ सरकारले धारा 371एफ का प्रावधानहरूसित सम्झौता नगरि तथा सिक्किम र सिक्किमे जनताको हितलाई ध्यानमा राखेर काम गर्नेछ भन्ने आशा व्यक्त गरेको छ।-हिस/बिशाल

Related posts

Leave a Comment