पवन चामलिङका महाभूल?!-8

Font Size
8 Total Views

यो साता म गाउँमै थिएँ। गाउँमा कतिपय मानिसहरू भेटियो। कति मानिसहरू भेट्न भनेर घरमै आए। कतिलाई भेट्न म आफै पनि गाउँ घुमे्ं। भेटेजति मानिसहरूमा अधिक जसोको चासो राजनीतिमै थियो। नयाँ सरकार, बाइ इलेक्सन, केण्डीडेट, एमएलए-को बिक्री भाउ, सत्ता चढ्नेहरूको बोली-व्यवहार र गरिगराउ- इनै कुराहरूमा कुराकानी गोलगोल घुमिरह्यो। सबैको रूची यिनै र यस्तै कुराहरूमा थियो।
म भोलिपल्ट फर्किने तर्खरमा थिएँ, केप्टन बडा आएछन्। बडा किन आए, मलाई त्यो थाहा भएन। तर बातचीतको क्रममा उनैले भने, चामलिङको महाभूलहरू त कोट्याउँदैछौ नानी, तर त्यो कोट्याउनुभन्दा पैले राजाको, काजीको, भण्डारीको शासन देखेको/जानेको हुनुपर्थ्यो। अनुभव भएकाहरूबाट बुझ्नु/सोध्नुपर्थ्यो।… हुन त तिमीरले इतिहास पढेर बुझेको पनि होला। तैभानि एकफेर सोधखोज गरेको चै राम्रो हुनेथ्यो।
मलाई किञ्चित संकोच लाग्यो। उमेर पुगेका मान्छेले केही नबुझी, नसोची किन बोल्थे त्यसरी! मैले बडाको अनुभव सुन्ने मौका पाएँ।
बडाले नै कुरा अघि बढाए-
‘यसबाजी चामलिङसित जनता किन रिसाए था’छ?’
मैले ‘अहँ’ मा टाउको हल्लाएँ।
बडाले बताए, पैलेपैले केई थिएन। न ठूल्ठूलो बिल्डिङ, न अस्पताल, न सटक, न गाडी घोडाको थुप्रो, न पैसा रुपया। थोरै मान्छेहरू मात्र धनीमानी हुने। गरीपहर्लाई सधैं अभाव, सधैं अनिकाल्। चामल पाइन्नथ्यो। दवाई पानीको अभावले अकालमै मर्नुपर्ने। कहीं जाउँ, हिड्नुपर्ने। पढ्न चाहेर पनि पढ्न नपाइने। स्कूल-कलेज होस्, न, पढ्न पाओस्।
बडा विस्मृतिमा हराएजस्तो गरेर पारी पाखातिर हेरेर एकछिन् रोकिए। मलाई ‘अनि’? भन्न मन लागेको थियो। तर भनिनँ। केहीक्षण उनलाई नै हेरिरहे। बडा खिन्न चित्तले त्यतिकै केही बेर टोलाइरहे। केही बेर त्यतिकै चुप रहेपछि उनले मपटि फर्केर फेरि भन्न थाले-
गाउँमा त्यतिखेर बाटो घाटो थिएन। ऐले ईः हाम्रै गाउँमा एतै सटक, उतै सटक्। किरिङ-मिरिङ छ सटकै सटक्। पैले ददश माइल, बीबीस माइल हिडेरै पुग्नुपर्ने। हप्ता-हप्तासम्म हिडेर जानुपर्ने, दिन बिताएर यहाँबाट त्यहाँ पुग्नु पर्ने। त्यस्तो थियो सिक्किम।… आजु सोच्दा त हाम्रो मान्छे हिड्नु नपाएर पो चामलिङसित रिसाए कि जस्तो पो लाग्छ… बडाको आँखा र मुहारमा कुटिल हाँसो थियो।
मैले बडाको भाव बुझें।
भनिहालें नि अनिकाल लाग्थ्यो नानी, अनिकाल्। आधापेट खानु पाउनु मुश्किल हुन्थ्यो। वर्षैभरि। त्यस्तो सिक्किममा चामलिङले फोकटमै चामल दियो। सस्तो भाउमा चामल दियो। गरीबको चुला सधैं बलिराख्ने जोहो गर्यो। घरै बनाइदियो। पेट अघाएपछि सञ्चोले निद्रा लागेपछि रोग व्याधि पनि घट्यो। जिउमा तन्दुरूस्ती पनि आयो। अनि अघाइसकेपछि भोक किन सम्झिनु?… हो, चामलिङको भूल त्यही भयो। पोल्टिक्स गर्नेले मान्छेलाई भोकै राखेर भातको कुरा मात्र गरिरहनुपर्थ्यो, तर उसले त भातै दिइहाल्यो… अन्त चै कुरा खुस्क्यो… एकैसासमा यति बोलेपछि बडा फेरि मौन भए।
मैले टुलुटुलु उनैलाई हेरिरहे्ं। ऐले एकाएक बडाको भृकुटी खुम्चिएर आयो। अनुहारमा मलीनता पनि छायो।
‘तिम्लाई था छ म एक्लो कसरी भएँ?’ बडाले एकाएक प्रश्नु गरे। मैले फेरि टाउको मात्र हल्लाएँ। ‘थाहा छैन’ भनेर।
तिम्रो बडी र मेरो प्रेम बिहा भा’को। हामी एकार्कालाई असाद्दै माया गर्थ्यौ। म परदेशमा हुँदा चिठ्ठी लेखालेख गर्थ्यौं। एउटा छुट्टीमा आउँदा हामीले घरजम गर्यौं । छुट्टीभरि खुब रमाइलो गर्यौंम, घुम्यौं, डुल्यौ्ं। कहाँ-कहाँ गयौं। तर अर्को वर्ष उ मरी। व्यथा लाग्दा उसले सहारा पाइनछ, उपचार पाइनछ, दवाई पाइनछ्। त्यतिकै छटपटिएर मर्नुपर्योष्। मैले पल्टनमै खबर पाएँ। म आफै मरेतुल्य भएँ। पागलै भएँ। तर आफैलाई सम्हाल्नु बाहेक अर्को उपाय थिएन। अस्पताल, डक्टर भएको भए त्यो सानो कुराले उसको ज्यान लिने थिएन। मेरो जीवनको आधा भाग अकालमै त्यसै चुडिएर जाने थिएन।… मैले उसको चोखो प्रेमलाई आजसम्म पनि जोगाइ राखेको छु…
पल्टन भोगेर आएका बडा पनि त्यसबखत निकै कोमलिएका थिए्। तैपनि आफ्नो रूध्ण कण्ठलाई अलि सम्हालेर बडाले अगाडि भने, आजजस्तो हुँदो भए मेरो जहान मसँगै हुन्थे। आज पो उपचार फ्री छ, दवाईमूलो फ्री छ्। गाउँ-गाउँमा अस्पताल छ, डक्टर छन्, नर्सहरू छन्। असाद्देभन्दा असाद्दे रोगलाई पनि दिल्ली-बम्बे लगेर दवाई पानी गरिदिने व्यवस्था छ्। गरीबहरूले दुई-दुई लाख पाउँछ्। बाटोखर्ची पाउँछ्। ठूलो रोग लागिहाले के होला भनेर सुर्ताउनु पर्दैन। नियम-कानून बनाएर सप्पैले उपचार, दवाई पानी पाउने व्यवस्था गरिदिएको छ्। तर मान्छेले खै त बुझेको?… त्यस्सै होहोरीमा लाग्यो… कसको विचार कस्तो? कसको नियत कस्तो? केइ बुझ्न सुझ्नु छैन… कुद्यो है हल्लाको भरमा…
जनतालाई चै ‘दिन्छु’ मात्र भनिरहनु पर्दो रहेछ क्या राजनीतिमा! दिइहाल्नु चै नहुँदो रैछ पाएपछि भूलिहाल्दो रैछ…यतिखेर बडाको आँखामा एककिसिमको चमक थियो।
(त्यसपछि पनि बडाले थुप्रै कुराहरू भने। त्यो संस्मरण तपाईंहरूलाई सुनाउँदै जाने विचार गरेको छु- अगु.)

Related posts

Leave a Comment