पवन चामलिङका महाभूल?!-11

Font Size
10 Total Views

1. चामलिङले सोचेछन्ः
आफ्नो सिक्किममा सबैलाई पुगिसरी होस्, कोही भोको नहोस्, कोही नाङ्गो नहोस्। कोही भीखमंगा नहोस्। सिक्किमका सबैले खान-लाउन पाऊन्। सबै घरमा साँझ-बिहान चुल्हा चिसो नरहोस्। पेटमा पटुका बाँधेर सिक्किमेहरूले सुत्न नपरोस्।
त्यही सोचेर उनले गरीब परिवारलाई महीनैपिच्छे 35 किलो चामल फोकटमा दिएछन्। चामलमा सब्सिडी दिएछन्। सस्तो दरमा अन्न दिएछन्। बिनामूल्य ग्यास सिलिण्डर र ग्यास चुल्हा दिएछन्। इन्डक्सन चुल्हा दिएछन्। प्रेसर कुकर दिएछन्।
चर चामलिङले यो सोचेनछन् किः
फोकटमा पेट भर्न पाएपछि बाँदर पनि जङ्गल छोडेर प्याराप्याटमा लाइन लाग्छन्; हाइवेमा बास सर्छन्। अतः शदियौंदेखि लूटको धनले फूपूको श्राद्ध गर्दै आएको मान्छेको जीनमा के-के पसेको र फँसेको छ, त्यो बुझ्नुपर्ने बेला भएको थिएछ!
2. चामलिङले सोचेछन्ः
आफ्नो सिक्किममा कोही पनि बेघरबार नहोस्। कोही पनि ड्रेस र एड्रेस बिनाको नहोस्। सबैले ओत लाग्ने छत पाओस्। सबैले घाम-पानी छल्ने र एक निद्रा गज्जबले सुत्ने ठाउँ-ठहर-ठेगाना पाऊन्। कसैले पनि खुल्ला आकासको मुनि सडकपेटीमा रात गुजार्न नपरोस्। हिउँद-बर्खा-ग्रीष्मको राप-ताप र स्याँठबाट जोगिन पाओस्। एउटा मान्छेको जुनीमा इज्जत र प्रतिष्ठासहित बाँच्न पाओस्!
त्यही सोचेर उनले जाय-जेथा-जमीन नभएका गरीबहरूलाई आधा ऐकर जमीन दिने अनि घर पनि बनाइदिने काम गरे। सिक्किमेहरू जति सबैको घर नबनेसम्म निरन्तर घर बनाइदिने कार्यक्रम शुरु गरे। त्यसलाई आफ्नो सरकारको नीति नै बनाएर लागू गरे। अनि धमाधम पक्का घरहरू बनाइदिए। यही कामद्वारा सिक्किमलाई नै कच्चाघरमुक्त राज्य बनाउने अभियान पनि शुरु गरे। साथैसाथ घर भएका तर मरम्मतिको जरुरत भएकाहरूका निम्ति पनि सहयोग गर्ने नीति लागू गरे।
तर चामलिङले यो सोचेनछन् किः
अर्काले बनाइदिएको गुँडमा अण्डा पार्ने बानी परेपछि चराचुरुङ्गी समेत बेइमान र अल्छे हुन्छन्। उसलाई गुँड बनाउँदाको दुःख के थाहा? उसलाई बनिसकेको गुँडको के माया? के वास्ता? आफ्नो अण्डा पनि अर्कैले कोरलिदिएपछि, हुनसक्छ, आफ्नै वंशजको पनि उसलाई के माया?
चामलिङले त्यसैले गीत लेखेछन्ः
‘यति धेरै तिमीलाई म माया गरूँला
तिम्रै खातिर बाँचुला, मरे मरूँला…’
उता पेट भरिसकेका, अघाइसकेका, ढाडिसकेकाहरूको हूलले धारे हात लाएर भनेछन्-
‘अब तिमी मर कि बाँच, हामीलाई के मतलब?’
3. चामलिङले सोचेछन्ः
ज्ञान सबैभन्दा ठूलो सम्पति हो। हाम्रा नयाँ पुस्ताका हरेक नानीको हातमा युगको लडाइँ लड्ने र लडाइँ जित्ने शिक्षाको हतियार थमाइदिनुपर्छ। सबै शिक्षित, दीक्षित, ज्ञानी-गुणी बन्नुपर्छ। अनि देश र दुनियाँलाई जित्ने, वर्तमान र भविष्यको समाजमा जिउनसक्ने, बाँच्नसक्ने सक्षम, सबल नागरिक बनाउनुपर्छ। कोही पनि कुनै कारणले पनि शिक्षाको उज्यालोबाट वञ्चित हुनुहुँदैन। त्यही सोचेर उनले शिक्षालाई सर्वसुलभ बनाउने जुक्ति र उपायहरू गरेछन्। गाउँगाउँमा स्कूल खोलिदिएछन्, स्कूलहरू बढोत्तरी गरिदिएछन्, गाउँमै सबै विषय पढ्न पाउने व्यवस्था गरिदिएछन्। स्कूलदेखि लिएर कलेज तहसम्मै शिक्षा मुफतमा दिने प्रबन्ध मिलाएछन्। गरीब दुःखीका नानीहरूले पनि कलेजसम्म शिक्षा लिऊन् अनि अघि बढून् भन्नाखातिर उनले शिक्षा मुफत गरिदिएछन्।
फेरि भएन, खाता किताब किन्नुपर्योभ, झोला-छाता किन्नुपर्योग, युनिफर्म-जुत्ता किन्नुपर्यो । हुनेखानेको लागि त त्यो सजिलो होला, तर गरीबको लागि त त्यो नै पहरा भइदिन्छ! अनि चामलिङले सबै युनिफर्म दिए, जुत्ता मोजा दिए, रेनकोट-स्कूलब्याग दिए, खाता किताब त झन् नदिने कुनै भएन!
सिक्किममा दुइटा मात्रै कलेजले पुग्दैन भन्ने सोचेर चारै जिल्लामा कलेजहरू खोलिदिए। दुई दर्जनभन्दा बेसी कलेजहरू खोलिदिए। कलेज त खोलिए, खोलिए, फेरि युनिभर्सिटी पनि ल्याइदिए। 10 वर्षको अन्तरालमा 7 वटा त युनिभर्सिटी नै खोलिए।
गरीब परिवारमा जन्मेका मेधावी विद्यार्थीहरूलाई सरकारी स्कूल र कलेजमै सीमित रहनुहुँदैन, उनीहरूलाई अझ उच्चतर र अझ गुणात्मक शिक्षा उपलब्ध गराउनुपर्छ भनेर नयाँ योजना शुरू गरे। क्लास फाइबमा स्कूल टपर हुने विद्यार्थीलाई सरकारले नै देशका नामी नामी पब्लिक स्कूलहरू पढाइदिने योजना शुरू गरे। त्यति मात्र नभएर संसारका सर्वोत्कृष्ट 20 वटा विश्वसविद्यालयमा भर्ना पाउने सिक्किमे विद्यार्थीलाई सरकार आफैले पढाइभार उठाइदिने योजना पनि शुरू गरे।
जे गर्दा सिक्किमे विद्यार्थीहरू शिक्षा पाउन सक्छन्, जसो गर्दा सिक्किमे विद्यार्थीहरूले गुणात्मक शिक्षा पाउनसक्छन्- चामलिङले त्यो सबै गरे।
सबैले शिक्षा पाएको, सबैले शिक्षित भएको देख्न नरुचाउनेहरू तर चामलिङको दोष खुट्याउने चश्मा लगाएर बसिरहन्छन् र उनीहरूको टेडो दिमाग र विखालू जिब्रो सबैभन्दा सक्रिय देखा परिरहन्छन्।
यी सबै कुराहरू सम्झिल्याउँदा एकान्तमा चामलिङ कि त रुन्छन् होला, कि चाहिँ पुरानो एउटा नेपाली गीत गुन्गुनाइ बस्छन् होला। मेरो ख्यालमा त्यो गीत भनेको
‘बैगुणी छौ माया तिमी
माया गर्छु भन्छौ
सामू पर्दैनौ’
भन्ने गीत हो।

Related posts

Leave a Comment