पवन चामलिङका महाभूल?! 1.

Font Size
68 Total Views

अस्मिता गुरुङ
पहिलो कुरा।
यसपटकको चुनाउ नतिजा अनुसार चामलिङ र उनले नेत्तृत्व गरेको एसडीएफ पार्टी लगातार छैटौंपटक सरकार बनाउन चुके। यसअघि अर्थात् पाँचौंपटकको सरकारमा नै चामलिङले देशकै सबैभन्दा लामो अवधिसम्म मुख्यमन्त्री बन्ने रेकर्ड बनाइसकेका हुन्, र यसपटकको चुनाउमा पनि उनको प्रत्यागमन प्रायः निश्‍चित ठानिएको थियो। तर त्यसो भएन। सिक्किमका मतदाताहरूले उनको पार्टीको पक्षमा सबैभन्दा बढ़ी 47.63 प्रतिशत मत खसालेका भए तापनि उनको दल 15 वटा सीटमा मात्र विजयी बन्नसक्यो, र त्योभन्दा कम 47.03 प्रतिशत मत प्राप्त गर्ने एसकेएम पार्टी 17 सीटमा विजयी बन्नपुग्यो।
साथमा,
एसकेएम-ले 17 सीट जितेको भए तापनि यस दलबाट द्वैध उम्मेदवारिता दिएर विजयी बनेका विधायक कुङ्गा निमा लेप्चाले गान्तोक समष्टिको प्रतिनिधित्वबाट इस्तिफा दिएका हुँदा सो दलसित अहिले सरकार बनाउनलाई आवश्यक बहुमत छैन। हाल केवल 16 जना एमएलए-हरू भएको सो पार्टीले सरकार गठन गरेको छ। त्यसमा पनि देशको विद्यमान कानूनले जन-प्रतिनिधि बन्नबाट निषेध गरेको व्यक्तिको नेत्तृत्वमा सो सरकार चलिरहेको छ।
जे होस्, त्यसतर्फ नगएर म विशेष कोणबाट चामलिङका कमजोरीहरूतर्फ उन्मुख हुनचाहन्छु, ताकि यसचोटिको चुनाउमा उनको हार हुनु र उनको सरकार गठन हुननसक्नुको कारण बुझ्न सकियोस्।
एकजना नेता वा मुख्यमन्त्रीका रूपमा चामलिङ अति नै लोकप्रिय र लोकमान्य व्यक्तित्व हुन् सिक्किमको सन्दर्भमा। उनको दलले सरकार बनाउन नसक्दा पनि उनी दुई-दुईवटा निर्वाचन क्षेत्रहरूबाट विजयी बने। यो उनको लोकप्रियता र विश्‍वासनीयताको सानो तर ठोस उदाहरण हो। उनले सिक्किमका लागि खुब इमान्दारी र मेहनतले काम गरेका छन्। यो कुरा सारा सिक्किमे जान्दछन्, र मान्दछन् पनि। उनले सबैलाई न्याय दिने र बराबरीको व्यवहार गर्ने प्रयास गरेका हुन्। विधि-विधान र कानूनले दिएका सबै कुराहरूलाई उनले यथायथ पुर्‍याउने इमान्दार कोशिश सधैं गरेका हुन्। 25 वर्षअघि केवल 44.72 करोड घरेलु राजस्व भएको सिक्किमलाई 22,248 करोड घरेलु उत्पादन भएको राज्य बनाउनुको पछाडि उनको सपना र मेहनत नै मुख्य कारण रहेको छ। यो इतिहासले मूल्याङ्कन गर्ने कुरा हो।
तर यति हुँदाहुँदै पनि यसपालि उनको जीत भएन, हार भयो। के कारणले यो स्थिति आयो होला त? अनुमेय छ।
उदाहरणहरूबाट कुरा अघि बढाऊँ।
चामलिङले आफ्ना भाषण, घोषणा र कर्ममा एउटा कुराको रट सधैं लगाइरहे।
उनले सधैं भने/भनिरहे, ‘सिक्किमका सबै जनतालाई म बराबरी मान्छु। सबैलाई गरीखाने, सबैलाई अघि बढ्ने समान अवसर दिन्छु। सरकारको नीतिका कारण कसैलाई कोल्टे अवस्थामा पर्न दिन्नँ।’ कुरो राम्रो मात्र होइन, अति राम्रो थियो।
कुरो मात्र राम्रो थिएन, उनले काम पनि त्यस्तै गरिपठाए।
सायाद यो चामलिङको पहिलो भूल हुनसक्छ। किनभने हाम्रो समाजमा नेताले बोलेको कुरा पत्याउनुहुँदैन भन्ने मान्यता छ। किनभने नेताहरूले बोलेका कुरा गरेका हुँदैनन्। त्यसैले उनले बोलेका कुराहरूलाई उनले गरेका कामहरूसँग जुधाएर हेर्ने कष्ट जनताले गरेनन्। चुनाउको आँधीमय प्रचारहरूमा हो-हल्लाको बजार नै गरम रह्यो, त्यसमा सत्य-तथ्यहरू सबै पत्कर बनेर उडे। जनताले सडकमा जे देखे, त्यसैमा विश्‍वास गरे, सही-बिसहीको ख्याल धेरैजनाले गरेनन्।
चामलिङले हम्मेसी समावेशी समाजको कुरा गरे। समाजको विविधताको पक्षपोषण गरे। त्यसैले समावेशी नीति लागू गरे। सबै समूह, सबै जात-जाति, सबै धर्म, सबै समुदाय, सम्प्रदाय वा पन्थहरूको कल्याण गर्ने विचार लिएर नीति बनाए र कार्यक्रमहरू लागू गरे। सिक्किमका भोटिया-लेप्चाहरूको सुरक्षा पक्का गरिदिए। उनीहरूको हक-अधिकारलाई पूर्ण रूपले रक्षा गर्ने कानून र नीतिहरू बनाए। संविधानको धारा 371 एफ-लाई आघात हुने वा हुनसक्ने सबै कोशिश वा पहलहरूलाई निरस्त गर्दै त्यसको पवित्रतालाई बचाए। सिक्किमका नेपाली समुदायलाई सम्भव सबै सुरक्षा र अधिकारहरू दिलाए। नेपाली समुदायभित्र पर्ने लिम्बु, तामाङ, राई, गुरुङ, मंगर, सुनुवार, थामी, याक्खा-देवान, जोगी, संन्यासीहरूलाई ओबीसी-को मान्यता र अधिकार दिए। यी सबै जात-जातिका भाषा-भाषिकाहरूको जोगाड, सम्वर्द्धन र संरक्षण गर्ने कामहरू गरे, सबैलाई सरकारी मान्यता दिएर संरक्षण दिए। सबैको संस्कार, संस्कृति, चाढ पर्वहरूलाई सम्मान र संरक्षण गर्दै सरकारी छुट्टीहरू अधिसूचित गरिदिए। केन्द्र सरकारले नमान्दा वा अस्वीकार गर्दा पनि सिक्किमका नेपाली समुदायका अगौटे ठानिएका तर सामाजिक, आर्थिक, सांस्कृतिक र ऐतिहासिक रूपले एकै आँत र एकै छाँदका छेत्री-बाहुन-नेवार समुदायलाई पनि राज्य तहमा ओबीसी-को मान्यता दिए, र सम्मान र अधिकार दिलाए। यस अर्थमा नेपाली समुदायको अनि सिक्किमेली समाजको एकत्वको रक्षा गर्ने ऐतिहासिक र साहसिक कदम उनले उठाए।
उनैको पहल र नेत्तृत्वमा लिम्बु-तामाङ समुदायले ट्राइबलको मान्यता पनि पाए। आज उनीहरू भारतका अधिसूचित जनजाति भएका छन्। जनजातिले पाउने सबै अधिकार, सुरक्षा र मान्यता उनीहरूले पाएका छन्। उनीहरूले नपाएको एउटै मात्र कुरो सिक्किम विधानसभामा आसन आरक्षण मात्र हो। लिम्बु-तामाङ समुदायले यो अधिकार अन्य राज्यहरूमा पनि पाएका छैनन्। यो मुद्दा केन्द्र सरकारमा लम्बित हुँदा पनि तर सिक्किममा पवन चामलिङले आफ्नो पार्टीको तर्फबाट 5 सीटमा लिम्बु-तामाङ उम्मेदवार उठाएर आफ्नो राजनैतिक प्रतिबद्धता देखाएका हुन्। सिक्किमको ऐतिहासिक-राजनैतिक सन्दर्भका कारण लिम्बु-तामाङको सीटको मुद्दा विलम्बित भएको सबैलाई थाहै छ। चामलिङले त यहाँका अनुसूचित जातिलाई पनि उस्तै सुरक्षा दिएका छन्। उनीहरूका सामाजिक पीडाहरूलाई संवेदनशील भएर सम्बोधन गरेका अनेकौं उदाहरणहरू छन्।
त्यसैले त यही चुनाउमा समेत सबै जात-जाति, लिङ्ग, धर्मको प्रतिनिधित्व मिलाउने उनले चेष्टा गरे।
तर चामलिङको यो नीतिको खुल्ला धज्जी सिक्किमले उडायो। एक त जनताले यो मन पराएनन्। किन सबैलाई बराबरी भन्ने लाग्यो होला र चामलिङलाई भोट दिएनन् वा चामलिङलाई फेरि सरकारमा ल्याएनन्। अर्को जुन पार्टी अहिले कथित बहुमतमा छ, त्यसले जात-जाति, लिङ्ग, धर्मको प्रतिनिधित्वको कुरालाई ठण्डा बस्तामा हालेर विशेष विशेष किसिमका उम्मेदवारहरूलाई टिकट दियो। अनि उनीहरूले नै जित्यो।
यसैकारण चामलिङका यस्ता ऐतिहासिक काम र निर्णयहरूको कदर, सम्मान र सराहना भएन। यी कुराहरूको सम्मान र कदर यसकारण पनि भएन किनभने जनताले यी कुराहरूका निम्ति कुनै त्याग गर्नुपरेन। कुनै लडाईँ गर्नुपरेन। एकैदिन सडकमा उत्रिनुपरेन। यी सब कामहरू सफल बनाउन जे गरे, जो गरे, जहाँ जोसँग जसरी गरे, चामलिङ आफैले गरे। अनि बाटोमा भेटिएको हीराजस्तो धेरै जनताले उनका कामहरूलाई कोइला ठाने।
चामलिङको पहिलो गल्ती यही हो भन्ने मेरो ठम्याइ छ।
हुनसक्छ चामलिङका यस्ता हजार गल्तीहरू होलान्।

Related posts

Leave a Comment