पर्यटन व्यवसाय र समस्या

Font Size
115 Total Views

पर्यटन व्यवसायमा भारत विश्‍वको पाँचौं स्थानमा रहेको छ। धरोहरहरूको धनी राष्ट्र भारतका लागि पुरातात्विक विरासत राजस्व प्राप्तिको स्रोत र रोजगारीको अवसर प्राप्त गर्न सकिने माध्यमको रूपमा पनि हेर्न सकिन्छ। पर्यटन मन्त्रालय भारत सरकारको वार्षिक रिपोर्टअनुसार वर्ष 2014-15 को आँकडअनुसार 2010-मै पर्यटन व्यावसायद्वारा विदेशी मुद्रा आय 64,889 करोड रहेको थियो जो 2014-मा 1,20,083 करोड पुगेको थियो। रिपोर्टले वर्ष 2014-मा विदेशी पर्यटकहरूको संख्यामा 10.6 प्रतिशतको वृद्धि देखाएको छ। पर्यटनसित संलग्न अन्य धेरै स्रोतहरू छन्, जसले देशको आर्थिक विकासमा योगदान पुर्याइरहेका हुन्छन्। त्यसैले पर्यटनलाई गरिबी हटाउने, रोजगार-सृजना गर्ने र सामाजिक सद्भावना बढाउने सशक्त साधन मानिन्छ। संयुक्त राष्ट्र विश्‍व पर्यटन संगठनले लिएको निर्णयअनुसार 1980 देखि प्रत्येक वर्ष 27 सितम्बरको दिन विश्‍व पर्यटन दिवस पालन गर्न थालिएको छ। विश्‍व पर्यटन दिवस मनाइनुबाट अनुमान लगाउन सकिन्छ कि विकासशील देशहरूका लागि पर्यटन कतिसम्म सार्थक र महत्वपूर्ण छ।
यही कुरालाई सिक्किमको सन्दर्भमा हेरिने हो भने पनि अहिले पर्यटन व्यावसाय राज्यको मुख्य आयस्रोतको माध्यम बनिरहेको छ। उसो त सिक्किमलाई औद्योगिक रूपमा पछि रहेको राज्यका रूपमा जानिन्छ। बितेको दश वर्षयता मात्रै वर्तमान एसडीएफ सरकारको निरन्तर पहलको परिणामस्वरूप अहिले थोरै औद्योगिक कम्पनीहरू विकसित भइरहेको पाइन्छ। एसडीएफ सरकारले जसरी राज्यमा सुख, शान्ति, सुरक्षा र समृद्दिको विकास गर्दै अघि बढिरहेको छ, त्यो वास्तवमै उदाहरणीय छ देश र विश्‍वका लागि। शिक्षा, स्वास्थ्य, पर्यावरणलगायत राज्यको पूर्वाधार विकासका लागि यस्तो कुनै विषय छैन जहाँ राज्य सरकारले काम नगरेको होस्। पर्यटन क्षेत्र तीमध्येको एउटा हो, जसले राज्यको समग्र विकासमा टेवा पुर्याइरहेको छ।
देशको सन्दर्भमा माथि उल्लेख गरिसकिएको छ कि पर्यटन व्यावसायमा भारत विश्‍वको पाँचौं स्थानमा रहेको छ। यदि पर्यटन व्यावसाय कै सन्दर्भमा देशमा सिक्किमलाई हेरिने हो भने पहिलो स्थानमा पाउन सकिन्छ। लगभग 6.5 लाख कुल जनसंख्या भएको राज्य सिक्किममा जुन गतिमा देशी-विदेशी पर्यटकहरू आइरहेका छन्, त्यसले पर्यटकीय क्षेत्रको रूपमा सिक्किमले धेरै उचाईं प्राप्त गरिसकेको छ भन्ने प्रमाणित गर्दछ। वर्ष 2018-मा राज्य सरकारको पर्यटन एवं नागरिक उड्डयन विभाग मन्त्री उगेन टी ग्याछो भोटियाले राज्यमा 20 लाख पर्यटकहरू आउने सम्भावना व्यक्त गरेका थिए। राज्यका पर्यटन व्यावसायीहरूका निम्ति यो हर्षको विषय मान्न सकिन्छ भने यो आँकडा निश्‍चितरूपमा यस वर्ष बढ्दो छ। पर्टयन व्यावसायसित संलग्न ट्राभल्स एजेन्सी, ट्याक्सी, होटल, होम-स्टे र साना खुद्रा पसलहरूसम्मका लागि राज्यमा बड्दो पर्यटकहरूको संख्या हर्षको विषय हो। वास्तवमा यो सम्पूर्ण सिक्किम र सिक्किमवासी कै निम्ति खुशीको विषय हो। देश र विश्‍वमा राज्यको जुन छवी छ, त्यसैका कारण पर्यटकहरूको संख्या बढ्दो छ। त्यसैले सिक्किमलाई पर्यटकहरूले हेर्ने दृष्टि अनि सिक्किमको यो छवी एवं विश्‍वासलाई तोडिन दिनुहुन्न। यसको जिम्मेवारी सम्पूर्ण सिक्किमवासीको हो।
यही कुरामा हामी केन्द्रित हुने हो भने अहिले हामी धेरै पछाडि परिरहेका छौं। भन्नु नै हो भने हामी विफल बनिरहेका छौं। एकातिर पर्यटकहरूका निम्ति आवश्यक्ताअनुसार वाहनहरूको उपलब्धताको प्रश्‍न छ भने साथमा सही मूल्यमा वाहन उपलब्ध हुनु पनि चुनौति नै बनिरहेको छ। सिक्किम भित्रिरहेका पर्यटकहरूमात्रै होइन सिक्किमवासी नै पनि सिक्किम प्रवेश गर्ने क्रममा सिलगढीदेखि नै ठगिनुपरिरहेको समस्या छ। राज्यमा आएर पनि कतिपय वाहन चालकहरूले सही गन्तव्यसम्म पर्यटकहरूलाई पुर्याउने काम गरिरहेका छैनन्। अर्कोतिर, साना वाहनहरू रित्तै-रित्तै गुडिरहेका समय पनि स्थानीय मानिसहरूको निम्ति दैनिक आवात-जावतका साधनमा समस्या रहनु प्रत्येक वर्षको समस्या हो। पर्यटन व्यावसायले स्थानीय युवावर्गका लागि नयाँ-नयाँ क्षेत्रमा रोजगारको अवसर लिएर आएको हुन्छ। यद्यपि, यस अवसरलाई हामीले कसरी प्रयोग गरिरहेका छौं भन्ने प्रसंग आउँछ। विश्‍वका 83 प्रतिशत विकासशील देशको निम्ति विदेशी मुद्रा अर्जित गर्ने प्रमुख साधन मानिएको पर्यटन व्यावसायसितै देखिने यस्ता साना-साना तर महत्वपूर्ण कुराहरूलाई कसरी समाधान गर्ने? यस दिशामा सबैले सोच्नुपर्ने आवश्यक्ता छँदैछ।

Related posts

Leave a Comment