पर्यटकहरूलाई लोभ्याउँदै कञ्चनजङ्घा फल्स

Font Size
117 Total Views

रुद्र कौशिक
गेजिङ, 1 जून।
पश्‍चिम जिल्लाको धेरै चर्चामा रहेको कञ्चनजङ्घा फल्सले पर्यटकको ध्यानाकर्षण गरिरहेको छ। रिम्बीदेखि योकसम जाने मार्गमा अवस्थित यो फल्सले धेरै पर्यटकहरूको मन जितेको छ। पेलिङ, दराप, योकसम आदि स्थानमा आएका पर्यटकहरू यो फल्स हेर्न भीड लागेका हुन्छन्। विगत वर्षहरूको तुलनामा यस वर्ष पर्यटकीय दृष्टिले धेरै विकास गरिएको छ। पेलिङमा आएका पर्यटकहरूलाई कञ्चनजङ्घा फल्स, खेचिपेरी आदि घुमाउने एउटै रूट रहेको छ। खेचिपेरी जाने पर्यटकले यो फल्सको हेरेर मनोरञ्जन लिने गरेका छन्। यहाँ विशेष रिभर क्रसिङ, जातीय भेषभुषा लगाएर फोटो खिच्ने, चुला-दाउरामा पकाएको खाना, अर्गेनिक सागसब्जी, खोलाको चिसो हावा जस्ता कुराहरूले पर्यटकहरूलाई लोभ्याउने गरेको छ।
यो फल्समा पर्यटकको मौसममा हजारौं देशी-विदेशी पर्यटकको भीड लाग्ने गरेका छन्। यहाँको पौराणिक विषय जस्तो भए पनि पर्यटकले भने फल्सको मनोरञ्जनसितै रिभर क्रसिङमा पानी खेल्नुमा धेरै रमाइरहेका छन्। यो स्थानलाई पश्‍चिम जिल्लाको एउटा ऐतिहासिक पर्यटन स्थलको रूपमा पनि लिने गरिएको छ। यहाँ विशेष गरेर ठाउँ साघुरो भएको कारण पर्यटनको मौसममा अत्याधिक भीड हुने र सडक मार्ग जाम हुने गरेको बताइएको छ। विगतको व्यापक समस्यालाई केही हदसम्म पूर्व सरकारले समाधानको पहल गरेको छ। साघुरो पुललाई मरम्मति गरी ठुलो पुल निर्माण गर्नका साथै छेउछेउमा मान्छे हिड्ने सुविधा पनि भएको छ। यहाँ दोकानहरूको वृद्धि सँगसँगै खाने परिकारमा पनि धेरै विकास भएर गएको छ। पेलिङ, योकसम, दराप आदि स्थानमा रहेका होमस्टे, होटेल आदिमा बसेका देशी-विदेशी पर्यटकहरूले अत्याधिक मनोरञ्जन यो स्थानमा गर्ने गरेका छन्। अहिले पर्यटकको घुइँचो निकै नै वृद्धि भएर गएको छ। यद्यपि, यस स्थानमा पार्किङ सुविधा, सडक बडोत्तरी जस्ता कुराहरूको पनि विकास हुन अझै बाँकी नै छ। यति ठूलो पर्यटन स्थल अनि ऐतिहासिक स्थान भएको कारण सरकारले यसलाई महत्त्व दिनुपर्ने स्थानीयले बताएका छन्। खेचीपेरीको पानी पनि यहाँ झर्ने गरेको कारण यसलाई एक आस्थाको रूपमा पनि हेर्ने गरिएको स्थानीयहरूको भनाइ रहेको छ।

Related posts

Leave a Comment