निप्पोन परियोजनाको पाइप फुटेर बन्यो भयावह स्थिति

Font Size
85 Total Views

उच्च स्तरीय जाँचको माग

समय संवाददाता
दार्जीलिङ, 28 जून।
निप्पोन पावर लिमिटेडको पाइप फुटेर भयावह स्थिति सृजना भएपछि रिम्बीक-लोधोमा क्षेत्रका आम जनतामा त्रासको माहौल छाएको छ। गोर्खा जनमुक्ति मोर्चा, गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले यस घटनाबारे आवाज उठाउन शुरू गरेका छन्। गोजमुमो रिम्बीक-लोधोमा समष्टिले घटनाबारे दार्जीलिङका जिल्लापाल, खण्ड विकास अधिकारीलगायत निप्पोन पावर लिमिटेडका प्रोजेक्ट म्यानेजरलाई पत्राचार गरेर यसमाथि छानबीन गरिदिने अपील गरेको छ। यस विषयमा गोजमुमो रिम्बीक-लोधोमा समष्टिका सभापति नोर्देन शेर्पाले भनेका छन्, निप्पोन पावर लिमिटेडले आजसम्म आफ्नो नाफा मात्रै हेरेर कार्य गरिरहेको छ। यहाँका आम जनताको सुरक्षामाथि लिमिटेडले कुनै ध्यान दिएको छैन। हालसम्म यस परियोजनाको पाइप लाइन फुटेको 4 पल्ट भइसक्यो अनि भविष्यमा पनि यस्तो घटना दोहोरिने सम्भावना प्रशस्तै छ। यसैले यस घटनामाथि उच्च स्तरीय जाँच गरी सम्पूर्णरूपमा गुणस्तरीय र सुरक्षाका उपायहरूलाई ध्यान राखेर नयाँ पाइप लाइन जडान नगरिएसम्म यो लिमिटेडलाई अचल राखिनेछ। जीटीए अध्यक्ष अनित थापालाई बुझाइएको पत्रमा भनिएको छ, लोधोमा ग्राम पञ्चायत 2 अन्तर्गत निप्पोन पावर लिमिटेडको पाइप फुटेर भयावह स्थिति सृजना भएको छ।
गत 26 जूनको दिन भएको यो घटनापछि स्थानीय जनता आतंकित बनिरहेका छन्। घटनाको समय भानु उच्च स्कूलका विद्यार्थीहरू अर्द्ध वार्षिक परीक्षा समाप्त गरेर घर फर्किरहेका थिए। यसै घटनामा दुइजना विद्यार्थी भागेर बाँच्न सके। शेर्पाले भने, यो पावर लिमिटेडको पाइप वर्ष 2009, 2013 र 2016-मा पनि फुटेको थियो। यति मात्रै होइन, यस परियोजनाको इन्टेक र फोरवे ट्याङ्कको स्थिति पनि ठीक छैन। यसबाट पानी चुहिरहेको छ। जसको कारण यो इन्टेक अनि फोरवे वरिपरि बसोबासो गर्ने जनता पनि त्रस्त बनेर बाँच्न बाध्य बनिरहेका छन्। उनले अझ भने, विगतमा प्रभावित गाउँले, प्रतिनिधिगण, खण्ड विकास अधिकारी, पुलिस प्रशासन र निप्पोन पावर लिमिटेडका अधिकारीवर्गमाझ धेरैपल्ट समस्या समाधानको लागि सम्झौताहरू भएका थिए। तर विभागीय उदासीनताको कारण अहिलेसम्म केही ठोस कार्य हुनसकेको छैन। यसरी नै हिजो गोर्खा राष्ट्रिय मुक्ति मोर्चा रिम्बीक-लोधोमा समष्टि कमिटीका प्रतिनिधिहरूले पनि निप्पोन पावर लिमिटेडका निर्देशक साथै स्थानीय प्रभावित जनतासित भेट गरे। यसबारे गोरामुमो दार्जीलिङ शाखा समिति प्रवक्ता सन्दीप लिम्बुले भने, निप्पोन पावर लिमिटेडको पाइप फुटेर स्थानीय जनतामा डरको माहौल सृजना भएको छ।
यसैले सम्बन्धित विभागले यसमाथि विशेष ध्यान दिन आवश्यक छ। गोरामुमोले यस समस्या विषय लिएर दार्जीलिङका सांसद राजु विष्टका साथै जिल्ला प्रशासनलाई पनि पत्राचार गरेको छ।

Related posts

Leave a Comment