नगरपालिका मुद्दाः

Font Size
72 Total Views

उच्च अदालत जाने तर्खरमा भाजपा

समय संवाददाता
दार्जीलिङ, 12 जून।
भारतीय जनता पार्टीसँगै गत चुनाउमा भाजपालाई सघाउने सबै पार्टीहरू आगामी 5 वर्षको अवधिमा चुनाउमा गरिएका वाचाहरू पूरा गर्न एकबद्ध बनेर काम गर्न सहमत भए। आज यस विषयका साथै दार्जीलिङ पहाडको वर्तमान राजनैतिक स्थितिमाथि कुराकानी गर्न दार्जीलिङका नवनिर्वाचित सांसद राजु विष्ट र विधायक निरज जिम्बाको उपस्थितिमा एक सर्वदलीय बैठक सम्पन्न भयो। यस बैठकपछि पत्रकारहरूसित कुराकानी गर्दै सांसद विष्टले भने, चुनाउमा हामीले जनतालाई जुन वचन दिएका थियौं, यो 5 वर्षको अवधिमा ती वचन वा वाचाहरूलाई कार्यरूपमा परिणत गरेर देखाउने सहमति भएको छ। जीटीएको चुनाउ गराउनु पर्ने उनकै वक्तव्य सम्बन्धमा प्रश्‍न गर्दा उनले भने, प्रथमतः गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-लाई खारेज गर्नु पर्ने हाम्रो मूल माग हो। किनभने, जीटीएको चौकी अहिले म्यूजिकल चेयर जस्तो बनेको छ। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले जसलाई चाह्यो, उ-नै यो चौकीमा बस्ने गरेका छन्। गत केही सप्ताह वा महीनाअघिसम्म यो चौकीमा अरू कोही थियो, अहिले फेरि अर्कैलाई राखिएको छ। यसैले यसलाई पूर्णरूपले खारेज गरेर सबैले स्थायी राजनैतिक समाधानको लागि काम गर्नुपर्छ। यसैले यदि जीटीएको चुनाउ भएको खण्डमा भाजपा, गोरामुमो, विमलपन्थी गोजमुमो आदि पार्टीको नै जीत हुने निश्‍चित छ। यो केहि दिनअघि सम्पन्न भएको लोकसभा र विधानसभाको उपचुनाउको परिणामले स्पष्ट भइसकेको छ। यसैले यो परिणामबाट पनि विनय तामाङपन्थी गोजमुमोलाई जीटीएको चौकीमा बसिरहने मौलिक अधिकार छैन। यसैले उनीहरूले जीटीएलाई शीघ्रै खारेज गरेको उचित हुनेछ। तर जीटीएको चुनाउ हुन कुनै आवश्यकता नरहेको, यसको साटो स्थायी राजनैतिक समाधानको लागि नै अघि बढ्नु पर्नेबारे पनि आजको बैठकमा छलफल भएको विष्टले जनाए।
भाजपाका एक शीर्ष नेता मुकुल रायले बंगाल विभाजन हुने छैन भन्ने दिएको वक्तव्यबारे प्रश्‍न गर्दा उनले भने, मुकुल रायको वक्तव्य जुन समाचार पत्रमा प्रकाशित भएको थियो, त्यो वक्तव्य पुरानो हो। त्यसै पुरानो वक्तव्यलाई फेरि उठाएर भाजपालाई बद्नाम गराउने षड्यन्त्र भइरहेको छ। यसैबीच, दार्जीलिङ नगरपालिकाका विमल गुरुङपन्थी गोजमुमो समर्थित 17 जना नगरपार्षद भाजपामा सामेल भएको अनि उनीहरूलाई अविश्‍वास प्रस्तावको लागि भोट गर्न कहिले ल्याइने? भन्ने प्रश्‍नको उत्तरमा उनले भने, नगरपालिका अध्यक्षलाई अविश्‍वास प्रस्ताव ल्याउनको लागि दिइएको 15 दिनको समय आज पूरा भयो। 15 दिनसम्म पनि नगरपालिका अध्यक्षले अविश्‍वास प्रस्तावको लागि बैठक बोलाएन भने नगरपालिकाका उपाध्यक्षले थप 7 दिनभित्र बैठक बोलाउनु पर्ने प्रावधान छ। यदि उपाध्यक्षले पनि आफ्नो समयभित्र बैठक नबोलाए नगरपालिकाका कुनै पनि एकजना पार्षदले बैठक बोलाउन सक्छन् अनि त्यो बैठक दार्जीलिङमा नै हुनपर्छ भन्ने कुनै आवश्यकता पनि छैन। यसैमाथि जोर दिँदै विधायक जिम्बाले पनि भने, नगरपालिकाले बैठक बोलाउनु पर्ने 15 दिनको मियाद आज समाप्त भयो, यसैले अब हामी बंगाल नगरपालिका ऐनअनुसार, नगरपालिका उपाध्यक्षलाई पत्र लेख्नेछौं। यदि यी सबै प्रावधानलाई पनि अमान्य गरिए उच्च अदालत नै एकमात्र माध्यम रहनेछ।

Related posts

Leave a Comment