धर्मगुरु दलाई लामाको 84औं जन्मजयन्ती पालन गरिने

Font Size
52 Total Views

समय संवाददाता
दार्जीलिङ, 30 जून।
धर्मचक्र समितिले बौद्ध धर्मगुरु दलाई लामाको 84औं जन्म जयन्ती विविध कार्यक्रमबीच पालन गर्ने निधो गरेको छ। जसमा मानेभञ्ज्याङदेखि माथि चित्रेमा 300 भन्दा अधिक बिरुवा रोप्ने, पूजा गर्ने, शिशु भवन तथा अन्य संस्थानहरूमा रहेका असहायहरूलाई खाद्यान्न प्रदान गर्ने साथै निःशुल्क आँखा जाँच शिविर सामेल रहने धर्मचक्र कमिटीका सचिव लामा पेम्बा छिरिङ शेर्पाले जानकारी गराए। उनले दिएको जानकारीअनुसार, बौद्ध धर्मगुरु दलाई लामा 84 वर्षको उमेरमा पुगेका छन्। यसैले उनको दीर्घायु कामना गर्दै विविध कार्यक्रमबीच तारादेवीको पनि पूजा गरिने भएको छ। आगामी 3 जुलाईको दिन चित्रेमा विभिन्न प्रजातिका 300 भन्दा अधिक बिरुवाहरू रोप्ने कार्यक्रम बनाइएको छ। यसरी नै 4 र 5 जुलाईका दिन स्थानीय एचडी लामा रोडस्थित मनकाजी गुम्बामा दलाई लामाको दीर्घायुको लागि पूजा गरिनेछ। यस अवसरमा स्थानीय शिशु भवन साथै अन्य कतिपय संस्थानहरूमा रहेका असहायहरूका लागि खानाको व्यवस्था पनि गरिने भएको छ। 6 जुलाईको दिन धर्मचक्र कमिटी कार्यालयमा नै एक पूजाको आयोेजना गरिनेछ। यसबाहेक 7 जुलाईको दिन भिजन आइको सहयोगमा निःशुल्क आँखा जाँच शिविरको पनि आयोजना गरिने भएको छ। उनले भनेका छन्, तिब्बती क्यालेन्डरअनुसार, आगामी 6 जुलाईको दिन धर्मगुरु दलाई लामा 85 वर्ष पुग्नेछन्। तर 85 वर्ष एउटा खड्गो भएको कारण नै उनको लागि दीर्घायुको निम्ति पूजाका साथै विभिन्न कार्यक्रमको आयोजना गर्ने तय गरिएको हो। गत वर्षसम्म दलाई लामाको जन्म जयन्तीलाई धर्मचक्र कमिटीले एक दिन मात्रै पालन गर्ने गरेको थियो। तर यसपाली 3 जुलाईदेखि 15 जुलाईसम्म विभिन्न कार्यक्रमद्वारा उनको जन्म जयन्ती पालन गरिने भएको हो।

Related posts

Leave a Comment