द्विपक्षीय सीमा व्यापारका कारण नथुला स्माइलिङ बोर्डर’ बनेको छ : चामलिङ

Font Size
99 Total Views

गान्तोक, 10 मई।
भारतमा पिपल्स् रिपब्लिक अफ चाइनाका राजदूत लुओ झाओहुईले मुख्यमन्त्री पवन चामलिङलाई शुक्रबार मिन्तोकगाङस्थित सरकारी निवासमा भेटे। उक्त जानकारी मुख्यमन्त्री चामलिङले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत दिएका छन्। राजदूत झाओहुई सिक्किम भ्रमणको मुख्य उद्देश्य नथुला घाटी भएर दुई राष्ट्रबीच आर्थिक सहकार्यमा सुधार ल्याउनु रहेको बताएको मुख्यमन्त्रीले जानकारी दिएका छन्। उनले दुई राष्ट्रबीच सीमा व्यापारमा सुधार ल्याउन कतिपय चिन्ताहरू साझा गरे जसमा सीमा व्यापारअन्तर्गत प्रत्येक दिन व्यापारको समय बढाउनुपर्ने, दुई पक्षको फाइदाको निम्ति सप्ताहमा चारको साटो सातै दिन व्यापार खुल्ला गरिनुपर्ने, भारतीय कस्टम अधिकारीहरूद्वारा अझ बढी सहयोग रहेको जानकारी मुख्यमन्त्रीले दिएका छन्।
यसैगरि, चीनियाँ राजदूतले सीमा व्यापारको निम्ति निर्धारित सर सामग्रीहरूका सूची बढाउनुपर्ने, दुवै राष्ट्रका ट्रेड मार्टसम्म अधिकारीहरू र तक्निकी व्यक्तिहरूका खुल्ला आवगमन सुनिश्‍चित गरिनुपर्ने, ड्राई पोर्टको रूपमा नथुलाको विकास जस्ता विषयहरू पनि उठान गरेको बताएका छन्। अर्कातिर, मुख्यमन्त्रीले सिक्किम भ्रमणको निम्ति चीनियाँ राजदूतलाई धन्यवाद दिँदै उनले राखेका सुझाउहरू भारत सरकार समक्ष राख्ने आश्‍वासन दिए। उनले सीमा व्यापारको समयावधि बढाएर सप्ताहमा सातै दिन गर्ने विषयमा भारत सरकारसमक्ष कुरा राख्ने बताए। उनले दुई राष्ट्रबीच द्विपक्षीय सीमा व्यापारका कारण नथुला आज ‘स्माइलिङ बोर्डर’ रहेको बताए। उनले दुवै राष्ट्रबीच व्यापारका साथै स्थानीय अर्थतन्त्रको विकासको निम्ति कतिपय सुझाउहरू राखेको पनि बताएका छन्। मुख्यमन्त्रीले चीनियाँ राजदूतलाई नथुला भएर गान्तोक र ल्हासाबीच बस सेवा शुरू गर्ने सुझाउ भारत सरकारसमक्ष राखेको जानकारी दिए।
यसले दुवै राष्ट्रका सीमान्त क्षेत्रहरूमा पर्यटन विकास भएर जाने बताए। उनले यो पहल कैलाश मानसरोवर तीर्थ यात्राकै अनुरूप हुने बताउँदै कैलाश मानसरोवर तीर्थ यात्राले दुवै राष्ट्रबीच तीर्थाटनका साथै सांस्कृतिक विनिमयको निम्ति अपार अवसर सिर्जना गरेको बताए। मुख्यमन्त्रीले राजदूतसमक्ष आर्थिक महाशक्ति चाइना भ्रमण गर्ने इच्छा व्यक्त गरेको कुरा पनि उल्लेख गरेका छन्। यस अतिरिक्त मुख्यमन्त्रीले सिक्किमद्वारा विशेषगरि पर्यावरण संरक्षणको क्षेत्रमा अपनाएका विभिन्न पहलहरूबारे जानकारी दिए।-हिस/बिशाल

Related posts

Leave a Comment