दार्जीलिङमा 16 कम्पनी केन्द्रिय सुरक्षा बल आउने निश्‍चित

Font Size
208 Total Views

समय संवाददाता
दार्जीलिङ, 12 मई।
आगामी 19 मईको दिन सम्पन्न हुने दार्जीलिङ विधानसभा उपचुनाउको लागि दार्जीलिङमा 14 मईको दिन 16 कम्पनी केन्द्रिय सुरक्षा बल आउने निश्‍चित भएको छ। दार्जीलिङ विधानसभा आसनमा मोठ 321 वटा मतदान केन्द्र छन्, जसलाई हिसाब गर्दा एउटा मतदान केन्द्रमा 4 देखि 5 जना केन्द्रिय सुरक्षा बल सजिलैसित तैनाथ रहन सक्नेछन्। यदि एउटा मतदान केन्द्रमा 4 जना केन्द्रिय सुरक्षा बल तैनाथ रहे चुनाउको समय बुथ क्याप्चर, रिगिङ जस्ता घटना हुने कुनै सम्भावना रहने छैन।
स्मरण रहोस्, राष्ट्रिय चुनाउ आयोगले हाल भइरहेको लोकसभा चुनाउमा बंगालका सम्पूर्ण मतदान केन्द्रहरूमा केन्द्रिय सुरक्षा बल राख्ने निर्णय लिएको छ। यसैअनुसार, लगभग चौथो चरणको मतदानदेखि नै सबै मतदान केन्द्रहरूमा केन्द्रिय सुरक्षा बल तैनाथ गरिरहेको छ। यसै क्रममा दार्जीलिङ विधानसभा आसनको उपचुनाउमा पनि दार्जीलिङका सम्पूर्ण मतदान केन्द्रमा केन्द्रिय सुरक्षा बल तैनाथ गर्ने स्पष्ट भएको छ। स्मरण गराइन्छ, दार्जीलिङका विधायक अमरसिंह राईले विधायकको पदबाट राजीनामा दिएर लोकसभा चुनाउमा आफ्नो भाग्य अज्माएपछि दार्जीलिङ विधानसभा आसन रिक्त बनेको हो। यसैले यस आसनमा आगामी 19 मईको दिन उपचुनाउ हुने छ। जसमा मोठ 9 जना उम्मेद्वार खडा भएका छन्। यसमा मूलरूपले विमल गुरुङपन्थी गोजमुमो, गोरामुमो समर्थित भाजपा उम्मेद्वार निरज जिम्बा र तृणमूल कङ्ग्रेस समर्थित गोजमुमो उम्मेद्वार विनय तामाङमाझ जोडतोडको प्रतिद्वन्दिता हुने तय भएको छ।
यस चुनाउमा जनआन्दोलन पार्टीबाट अमर लामा, तृणमूल कङ्ग्रेसबाट 6 वर्षको लागि निष्कासित बनेकी शारदा राई सुब्बा, क्रामाकपा र कङ्ग्रेस समर्थित स्वतन्त्र उम्मेद्वार स्वराज थापा, गोर्खालीगका विप्लव राईका साथै अन्य पनि मैदानमा छन्। उनीहरूले पनि अहिले जोडतोडले नै चुनाउ प्रचार गरिरहेका छन्। यसैले विशेष यी पार्टी वा उम्मेद्वारहरूले दार्जीलिङका प्रत्येक मतदान केन्द्रमा नै केन्द्रिय सुरक्षा बल तैनाथ हुने संकेत पाएपछि खुशी व्यक्त गरेका छन्। उनीहरूले एकै स्वरमा भनेका छन्, दार्जीलिङमा निष्पक्ष र स्वतन्त्ररूपले भोट हुन आवश्यक छ। जनता वा मतदाताहरूले कुनै डरबिना आफूले चाहेका उम्मेद्वारलाई भोट दिन पाउनु पर्छ। यसैले चुनाउ आयोगको निर्णयलाई स्वागत छ। ज्ञात रहोस्, बंगालका धेरैवटा स्थानमा चुनाउको समय भएका हिंसात्मक कार्य, बुथ क्याप्चर साथै अन्य अप्रिय घटनाहरूलाई ध्यानमा राखेर नै चुनाउ आयोगले बंगालका सम्पूर्ण मतदान केन्द्रमा केन्द्रिय सुरक्षा बल तैनाथ गर्ने निर्णय लिएको छ। गत 18 अप्रेलको दिन भएको दार्जीलिङ लोकसभा आसनको चुनाउमा दार्जीलिङमा 29 कम्पनी केन्द्रिय सुरक्षा बल तैनाथ गरिएको थियो। त्यसमा लगभग 80 प्रतिशत मतदान केन्द्रमा केन्द्रिय सुरक्षा बल तैनाथ गरिएको थियो। तर आगामी विधानसभा उपचुनाउमा 100 प्रतिशत मतदान केन्द्रमा नै केन्द्रिय सुरक्षा बल तैनाथ रहने लगभग निश्‍चित छ।

Related posts

Leave a Comment