दार्जीलिङका 17 नगरपार्षद भाजपामा सामेल

Font Size
90 Total Views

समय संवाददाता
दार्जीलिङ, 8 जून।
दार्जीलिङ नगरपालिकाका 17 जना विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा समर्थित नगरपार्षदहरू आज भारतीय जनता पार्टीमा सामेल भएका छन्। आज उनीहरूलाई दिल्लीमै दार्जीलिङका सांसद राजु विष्ट, भाजपा नेता मुकुल राय आदिले भाजपामा सामेल गराए। यसका साथै उनीहरूले दार्जीलिङ नगरपालिका पनि भाजपाको अधीनमा आएको घोषणा गरे। गत 29 मईको दिन विमल गुरुङपन्थी गोजमुमो समर्थित 17 जना नगरपार्षदहरूले दार्जीलिङ नगरपालिका अध्यक्ष प्रतिभा तामाङलाई अविश्‍वास प्रस्ताव ल्याउने माग गर्दै एक पत्र दिएका थिए। यसपछि यी 17 जनै नगरपार्षदहरू दार्जीलिङबाट बेपत्ता बनेका थिए। जो दिल्ली पुगेको र भाजपामा सामेल हुने हल्ला गत केही दिनदेखि चलिरहेको भए पनि हालसम्म यसमाथि कसैले पुष्टि गरेको थिएन। तर आज यी 17 जना नगरपार्षदहरू भाजपामा सामेल भएको भाजपा नेता मुकुल रायले दिल्लीबाट सार्वजनिक गरे। यसका साथै उनले दार्जीलिङ नगरपालिकामा भाजपा समर्थित नगरपार्षदहरूको संख्या अधिक भएको कारण यो नगरपालिका भाजपाको हातमा आएको र यसमा नयाँ नगर अध्यक्षको चयन गरिने पनि घोषणा गरे।
आज विमल गुरुङपन्थी गोजमुमोबाट भाजपामा सामेल हुने 17 जना नगरपार्षदहरूमा क्रमैले वार्ड नम्बर 1-की नगरपार्षद नीरा शर्मा, 2-की उषा विश्‍वकर्म, 4-का मिङ्गुर योल्मो, 6-का नोमन राई, 9-का अनुपहाङ सुब्बा, 11-का तर्पण रूम्बा, 13-की निलम योल्मो, 14-की महिमा राणा गुरुङ, 16-की रेणु गुरुङ, 18-का गणेश सार्की, 21-की विनीता तामाङ, 22-की सुमति शेर्पा, 26-की राधा नेउपाने, 27-का प्रवीण कालेकोटे, 29-की दीपा घिसिङ, 30-की अम्विका शर्मा र 32-का गोपाल छेत्री सामेल छन्। स्मरण गराइन्छ, दार्जीलिङ नगरपालिकामा मोठ 32 वटा वार्ड छन्। जसमध्ये वार्ड नम्बर 17-का नगरपार्षद रामजन गोलेले आफ्नो पदबाट अघिबाटै राजीनामा दिइसकेका छन्। वार्ड नम्बर 20-का नगरपार्षद मणि प्रधानको देहान्त भइसकेको छ। यसैले हाल दार्जीलिङ नगरपालिकामा मोठ 30 जना नगरपार्षद छन् भने वार्ड नम्बर 31-का नगरपार्षद छुनछुन भोटिया तृणमूल कंग्रेसका नगरपार्षद हुन्। यो हिसाबअनुसार, अब विनय तामाङपन्थी गोजमुमो समर्थित नगरपार्षदको संख्या 12 छ। यद्यपि, यसमा तृणमूल कंग्रेसका नगरपार्षदलाई पनि सामेल गर्दा विनय तामाङपन्थी गोजमुमोमा 13 जना नगरपार्षद रहेका छन्। यदि यहाँ अविश्‍वास प्रस्ताव पेश गरिए अनि भाजपामा सामेल भएका नगरपार्षदहरू पनि भोटको दिन आएको खण्डमा दार्जीलिङ नगरपालिका भाजपाको हुने निश्‍चित भएको छ। अर्कातिर, यस सन्दर्भमा आज गोजमुमो अध्यक्ष विनय तामाङले एक प्रेस विज्ञप्ति जारी गरी यी नगरपार्षदहरू भाजपामा सामेल भएकोमा गोजमुमो (विनयपन्थी)-लाई कुनै आपत्ति नरहेको बताएका छन्।

Related posts

Leave a Comment