ताम्जेलगायत अन्य जलस्रोतहरूमा व्यापक सफाई अभियान

Font Size
28 Total Views

गान्तोक, 1 जुलाई।
राजधानीको मुख्य जलस्रोत ताम्जे पोखरी, हाँस पोखरी र अण्डा लेक परिसरमा व्यापक सफाई अभियान, पर्यावरण संरक्षण अनि स्वच्छताबारे जागरूकता अभियान सञ्चालन गरिएको छ।
पूर्व सिक्किमको छाङ्गु झीलदेखि तीन किलोमिटरको दुरीमा भारत-चीन सीमा नजिक 4 हजार 2 सयदेखि 4 हजार 6 सय मिटरको उँच्चाईमा अवस्थित ताम्जे क्षेत्र चर्चित चोला पास क्षेत्रमा पर्दछ। यो क्षेत्रको 35 हेक्टर भू-भाग पोखरी, ताल र झीलले ढाकेको छ। पछिल्लो समयदेखि क्षेत्रमा बढ्दो जनसंख्या, चरण तथा सेनाका गतिविधिहरूको कारणले पनि प्रदूषण बढ्न थालेको हुनाले यसलाई सुरक्षा गर्न अनि यहाँका जैवविविधतालाई संरक्षण गर्न राज्यको वन, पर्यावरण तथा वन्य प्राणी प्रबन्धन विभागको तत्परतामा आइतबार एक जगारूकता कार्यक्रम एवं सफाई अभियान सञ्चालन गरियो।
कार्यक्रम वन विभागको डीएफओ एसपी सुब्बाको तत्परतामा आयोजना गरिएको थियो भने कार्यक्रमको अध्यक्षता ताम्जे क्षेत्रका गाउँले प्रमुख बीरबहादुर प्रधानले गरेका थिए। वन विभागका अन्य अधिकारी डीएफओ जिग्देल लाचेनपा, आरओ सन्तोष बागदास, आरओ बेञ्जामिन लेप्चा, बीओ कालु सुब्बा र वनकर्मीहरूसित गाउँलेहरूको पनि सहभागिता रहेको थियो। जल सुरक्षाको नारा दिएर आयोजना गरिएको सचेतना जुलुसमा फोहोर प्रबन्धनको निम्ति आवश्यक जानकारी पनि गाउँलेहरूलाई दिइएको थियो।
डीएएफओ सुब्बाले यस प्रकारको कार्यक्रम आयोजना गर्नु पर्यावरण संरक्षण र पिउने पानीको मुहानको सर-सफाई मात्र नभएर यो क्षेत्रमा पाइने जैवविविधताको संरक्षण गर्नु र यसको संरक्षणप्रति सबैलाई जिम्मेवार बनाउनु रहेको बताए। यो क्षेत्रमा गल्ली झील, चोमा झील, चमर झील, कालो झील, अण्डा झीललगायत ताम्जे सीमसार क्षेत्र मात्रै नभएर जैवविविधताको दृष्टिले धेरै धनी रहेको हुनाले यो सीमसार क्षेत्रलाई संरक्षण गर्नु र सुरक्षित राखिनु अनिवार्य रहेको बताए। उनले यो भेगमा पाइने जैवविविधता सिक्किमको अन्य ठाउँमा नपाइने जीव जन्तु र वनस्पति रहेको बताउँदै यसको संरक्षणमा सबै जिम्मेवार हुनुपर्ने आह्वान गरे।
यसैगरि गाउँले प्रमुख प्रधानले यो क्षेत्रमा फोहोर प्रबन्धनको निम्ति आवश्यक ढ्वाङहरूको व्यवस्था गरिनुपर्ने माग राखे। यसैगरि उनले गाउँमा कुहुने र नकुहुने फोहोर छुट्याउने अनि त्यसलाई फरक फरक कुँडादानमा राख्नको निम्ति आवश्यक फोहोरदानीहरू उपलब्ध भएको खण्डमा धेरै हदसम्म फोहोर नियन्त्रित भएर जाने बताए। विशेष रूपले सेनाका सहयोगी मजदूरहरू र ग्रेफमा काम गर्ने मजदूरहरूको बसोबासो रहेको यस क्षेत्रमा उचित पर्यावरण संरक्षण र फोहोर प्रबन्धनको सचेतना आउन पनि आवश्यक रहेको थाह लागेको छ।-हिस/बिशाल

Related posts

Leave a Comment