तादोङ विद्यालयमा नेपाली भाषा मान्यता दिवस एवं सम्मान कार्यक्रम

Font Size
26 Total Views

गान्तोक, 20 अगस्त।
आज तादोङ वरिष्ठ माध्यमिक स्कूलमा नेपाली भाषा मान्यता दिवस हर्षोल्लासका साथ मनाइयो। यस कार्यक्रममा मानव संसाधन विकास विभागको भाषा प्रकोष्टकी सहायक निर्देशक एवं कवयित्री सुधा एम. राई मुख्य अतिथि रहेकी थिइन्। स्कूल परिवारलगायत वरिपरिका लोवर स्यारी, लिङ्दिङ र लुम्से निम्न माध्यमिक स्कूलका नेपाली भाषा शिक्षक-शिक्षिका लगायत विद्यार्थीवर्गको सहभागितामा आयोजित यस कार्यक्रममा स्कूलस्तरमा हिन्दी, नेपाली, भोटिया र लेप्चा भाषाका स्वरचित कविता, लघु कथा पाठ प्रतियोगिता र निम्न माध्यमिकस्तरको अन्तर विद्यालयस्तरको स्वरचित कविता, कथा र हस्तलिपि प्रतियोगिता प्रतियोगिता आदि राखिएको थियो।
कार्यक्रमको आरम्भमा शिक्षिका रेनुका तामाङको स्वागत भाषण राखेपछि शिक्षक त्रिभुवन ढकालले नेपाली भाषा मान्यता आन्दोलनमा योगदान दिने व्यक्तिहरूमाथि प्रकाश पारे भाने विज्ञान विषयका शिक्षक डा. एचपी सुवेदीले र विद्यार्थी स्मृति शर्माले स्वरचित कविता पाठ गरेर सबैलाई मन्त्रमुग्ध बनाएका थिए। यसपछि विद्यार्थीवर्गले आ-आफ्नो स्वरचित कविता सुनाएर कार्यक्रमलाई कवितामय बनाए। कार्यक्रममा मुख्य अतिथि कवयित्री सुधा एम. राईलाई उनको साहित्यिक देन र पाठ्यपुस्तक परिमार्जन एवं सम्पादनमा उनको योगदानको कदर गर्दै सम्मान एवं अभिनन्दन जनाइयो। यसरी नै 2019 -को कक्षा बाह्रको बोर्ड परीक्षाको नेपाली विषयमा उत्कृष्ट अंक हासिल गर्ने आकृति गुरुङलाई नेपाली भाषा शिक्षक त्रिभुवन ढकालद्वारा गठन एवं प्रायोजन गरिएको ‘रघुनाथ – त्रिलोचन ढकाल स्मृति’ पुरस्कार प्रदान गरियो। यसरी नै लेप्चा, भोटिया र हिन्दी विषय बोर्ड परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने क्रमैले छुकी डोमा लेप्चा, डोमा लाचुङ्पा र पूजा दासलाई पनि विषय शिक्षकहरूको सौजन्यमा नगद राशी एवम् प्रमाण पत्र प्रदान गरियो।
यसरी नै शिक्षिका रेनुका तामाङले ‘सानु लामाका कथामा पारिवारिक जीवनको चित्रण’ विषयमा विद्यावारिधि हासिल गरेवापत विद्यालयको तर्फबाट स्मृति चिन्ह प्रदान गरियो भने सेवानिवृत्त शिक्षिका सुशीला खवासलाई पनि नेेपाली भाषामा दिएको योगदानको कदर गर्दै विद्यालयको तर्फबाट स्मृति चिन्ह प्रदान गरियो।
मुख्य अतिथिको आसनबाट बोल्दै कवयित्री सुधा एम. राईले विद्यालय परिवारलाई धन्यवाद दिँदै पाठ्यपुस्तक परिमार्जन एवं सम्पादन कार्यको तकनिकी पक्ष, व्याकरण र भाषा शिक्षणमाथि प्रकाश पारिन्। विद्यालयकी प्राचार्या डोमा एल. जिम्बाले आयोजक पक्षको तर्फबाट सबैलाई धन्यवाद दिँदै नेपाली भाषा मान्यता दिवस मनाउनुको उद्देश्यबारे प्रकाश पारिन्। यसरी नै भोटिया भाषा शिक्षक नोर्देन भोटियाले सबैले क्षेत्रीय भाषाको उन्नतिका निम्ति लागिपर्नुपर्छ भन्ने कुरा व्यक्त गरिन्।
स्वरचित नेपाली कविता, लघु कथा पाठ प्रतियोगिता र तर्क प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने औ अन्य सहभागी विद्यार्थीगणलाई मुख्य अतिथि एवम् विशिष्ट अतिथिको करकमलद्वारा प्रमाण पत्र एवं पुरस्कार प्रदान गरियो। कार्यक्रमको सञ्चालन कक्षा बाह्रका विद्यार्थी स्मृति शर्माले गरेकी थिइन् भने कृतज्ञता अर्पण नेपाली भाषा शिक्षिका मनिका राईले गरिन्।

Related posts

Leave a Comment