डुनेसाविस-ले शुरू गर्यो डुवर्सव्यापी भानु जयन्तीको तयारी

Font Size
93 Total Views

बाग्राकोट, 12 मई।
डुवर्सको माऊ संस्था डुवर्स नेपाली साहित्य विकास समिति (डुनेसाविस)-ले डुवर्सव्यापी भानु जयन्तीको तयारी शुरू गरेको छ। संस्थाले यसपटक पूर्व डुवर्सको सुदूर गाउँ कुमारग्राममा भव्य रूपमा भानु जयन्ती मनाउने तयारी गरेको हो। वीरपाडास्थित ज्योति सङ्घ एवं ग्रन्थागारमा आइतबार बसेको केन्द्रिय समितिको बैठकमा यसप्रकारको निर्णय गरिएको डुनेसाविस-का मूलसचिव रविन खवासले जानकारी गराएका छन्।
संस्थाका उपाध्यक्ष अजीत पराजुलीले अध्यक्षता गरेको बैठकमा डुवर्सव्यापी भानु जयन्ती पालन, संस्थाको मुखपत्र ‘अवलोकन’-को नयाँ अङ्क प्रकाशन, संस्थाद्वारा पहल गरिएको ‘डुवर्सका कवि र कविता’ सङ्कलनको प्रकाशन अनि डुवर्समा एउटा भव्य सांस्कृतिक महोत्सव पालन गर्ने विषयमा विशद् छलफल भएको बताइएको छ। नेपालीहरूको बाक्लो आबादी रहेको कुमारग्राममा त्यहाँका उत्साही युवा तथा समाजसेवीहरूको सहयोगमा यस वर्ष भानु जयन्ती पालन गर्ने विषयमा बैठकमा सहभागी सबैले एकमतले सहमति जनाएका छन्। भानु जयन्ती आयोजन समिति गठन गर्न डुनेसाविस-को तर्फबाट अध्यक्ष सितम मोक्तान, वरिष्ठ साहित्यकार इन्द्रबहादुर गुरुङ, वरिष्ठ सङ्गीतकार तथा सांस्कृतिक कर्मी ललित न्यासुर, साहित्यकार आशबहादुर लिम्बू, सुपरिचित कवि तथा कथाकार अबीर खालिङ, उमेश प्रधान तथा संस्थाका मूल सचिव रविन खवाससहितको एउटा टोली आगामी 16 मईमा कुमारग्राम पुग्ने निर्णय गरिएको छ।
यसैगरी, संस्थाको साहित्यिक पत्रिका ‘अवलोकन’-को पुराना अङ्कहरूको रकम उठाएर नयाँ अङ्कका लागि तयारी गर्ने; ‘डुवर्सका कवि र कविता’ नामक कृतिको सम्पादन तथा सङ्कलनमा तदारूकता बढाउने अनि भव्य सांस्कृतिक महोत्सव पालन गर्ने विषयमा कुमारग्राममै चर्चा-परिचर्चा गर्ने बैठकमा प्रस्ताव लिइएको खवासले जानकारी गराएका छन्।
नेपाली भाषा, साहित्य तथा सांस्कृतिक उत्थानका लागि आफ्नो स्थापनाकाल 1974 देखि नै सक्रिय रहँदै आएको विकास समितिले नेपाली माध्यमका स्कूलहरूको विकास र प्रवर्धनका लागि आवश्यक पहल र कार्यशालाहरूको आयोजनमार्फत भाषिक तथा जातीय सचेतनालाई अघि बढाउने भएको छ। डुवर्स-तराई क्षेत्रमा नेपाली माध्यमका सकूलहरूमा नेपालीभाषी विद्यार्थीहरूको तीव्र गतिमा घट्दो दाखिलाप्रति विकास समितिले चिन्ता र चिन्तन गर्दै आएको छ।

Related posts

Leave a Comment