डाक्टर नियुक्तिको माग समय संवाददाता

Font Size
82 Total Views

दार्जीलिङ, 1 जुलाई।
रंगली-रंगलियट खण्डका स्कूलहरूमा अध्ययनरत विद्यार्थीहरूका लागि शीघ्र डाक्टरको नियुक्ति गर्नुपर्ने माग उठेको छ। आज यसै माग लिएर रंगली-रंगलियट खण्डअन्तर्गत लामाहट्टा, तकलिङ 1-2, तकदाह अनि टिस्टाभेल्ली ग्राम पञ्चायतका विभिन्न स्कूलमा अध्ययनरत विद्यार्थीहरूले भने, सरकारी नियमअनुसार, प्रत्येक खण्डका स्कूलहरूमा स्कूल हेल्थ प्रोग्राम हुनपर्ने हो। तर वर्ष 2015-देखि यो परियोजना ठप्प बनेको थियो। यसैकारण गत वर्ष यसलाई पुनः चालु गर्नुपर्ने माग लिएर यी विद्यार्थीहरूले नै अघि आएका थिए अनि उनीहरूले दार्जीलिङ जिल्लाका मुख्य स्वास्थ्य अधिकारीसित भेट गरेका थिए। जसमध्ये स्वास्थ्य विभागले एक महिला काउन्सेलर नियुक्त गरेकोमा उनीहरूले विभागप्रति आभार व्यक्त गर्दै डाक्टरको नियुक्ति हुनपर्ने माग गरेका छन्। यसबारे लामाहट्टा उच्चत्तर माध्यमिक स्कूलमा दशौं श्रेणीका छात्र बेञ्जामिन सुब्बाले भने, रंगली-रंगलियट खण्डमा धेरैवटा उच्च अनि उच्चत्तर स्कूलहरू छन्, जहाँ हजारौं विद्यार्थीहरू अध्ययनरत छन्। तर यी स्कूलहरूमा विगत केही वर्षदेखि स्कूल हेल्थ प्रोग्राम भएको छैन। जसको कारण धेरै विद्यार्थीहरूलाई निकै असुविधा भइरहेको छ। उनले अझ भने, यी स्कूलहरूमा पढ्ने अधिकांश विद्यार्थीहरू निम्न आय हुने परिवारहरूबाट नै छन्, जसमध्ये कतिजना विद्यार्थीहरू विभिन्न रोगबाट पीडित पनि छन्। ती विद्यार्थीहरूले रोगको कारण पढ्नमा ध्यान दिन सक्तैनन्, यसैले यस्ता विद्यार्थीहरूलाई स्कूल हेल्थ प्रोग्रामको आवश्यकता पर्छ। तर रंगली-रंगलियट खण्डमा यो योजना नै ठप्प भएको कारण यस क्षेत्रका विद्यार्थीहरू समस्यामा परिरहेका थिए।

Related posts

Leave a Comment