टिङ्लिङ त्रासदीको 4 वर्ष पूर्ण पैह्रोले 19 जनाको ज्यान लिएको थियो

Font Size
63 Total Views

समय संवाददाता
दार्जीलिङ, 1 जुलाई।
मिरिकनजिक टिङ्लिङ लिम्बुधुरामा आजकै दिनको बिहानी उज्यालो देख्न नपाई 19 जनाले ज्यान गुमाएको विभत्सपूर्ण घटनाले आज 4 वर्ष पूर्ण गर्यो। यसै अवसरमा आज लिम्बुधुरा गाउँ समाजले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको थियो। स्थानीय भानुरात्री पाठशाला भवनमा सम्पन्न भएको यस श्रद्धाञ्जली समारोहको अध्यक्षता गाउँ समाजका अध्यक्ष राजु छेत्रीले गरेका थिए। बालकृष्ण शर्माले सञ्चालन गरेको यस श्रद्धाञ्जली सभामा स्व. रामलाल सुवेदी परिवारका एघारजना, स्व. मोहनलाल थापाका चारजना अनि स्व. सुवास लालेका चारजना गरेर मोठ 19 जना दिवंगतहरूलाई आज समाजका सदस्यहरूले दीप जलाएर श्रद्धाञ्जली अर्पण गरे। समारोहमा बितेर गएकाहरू समाजका धरोहरहरू थिए, मार्गदर्शक थिए भन्दै उनीहरूको आत्मशान्तिको लागि श्रद्धासुमन अर्पण गरियो। आजको यस समारोहमा 1 जुलाई 2015-को बिहान भएको उक्त भीषण पैह्रोको चपेटमा परी ज्यान गुमाउने लिम्बुगाउँका 19 जनाको याद ताजा बनाएको थियो।
1 जुलाई 2015-को बिहान भएको उक्त दुर्घटना परी ज्यान गुमाउने एउटै परिवारका ससुरा, बुहारी र नातिको शव आजसम्म पनि पाउन सकिएको छैन। सुवेदी परिवारका एघार जना सदस्यहरूमा रामलाल सुवेदी, सीतामाया सुवेदी बाबु-आमा, कृष्णप्रसाद, कुमारी, महेश, देविका छोरा-बुहारी अनि नवराज, दीपराज, श्रेया, श्‍लोक सवेदी, फुलमति सुवेदी सामेल थिए। यसरी नै रामलाल सुवेदी पिता, कुमारी सुवेदी बुहारी र नाति श्‍लोक सुवेदीको मृत शरीर अझैसम्म पनि पाउन सकिएको छैन। उसरी नै सुवास आले, भगिमाया आले र छोरीहरी सोनी आले र सुषमा आलेले ज्यान गुमाएका थिए भने थापा परिवारबाट मोहनलाल थापा, पत्नी संगीता थापा, छोरी सुवाष्णा थापा र छोरा केवल थापाले ज्यान गुमाएका थिए। 1 जुलाईको त्रासदीपूर्ण त्यो बिहान गएको पैह्रोको कारण विष्थापित बनेका पीडित परिवार जनलाई आज चार वर्ष बितिसक्दा पनि पुनर्वास गर्ने प्रकिया पनि पूरा भइसकेको छैन। लिम्बुगाउँबाट विष्थापित बनेर गएका पीडितहरूलाई दस नम्बर सेक्शनमा चियाबगानले जमीन उपलब्ध गराएपछि अहिले आफ्नो बलवुतामा उनीहरूले नै घर निर्माण गरेर बसेका छन्। पीडित परिवारहरूले सरकारबाट पाउने मृतकको क्षतिपूर्तिको राशि पाए पनि घर भने आफैले बनाउनुपर्ने बाध्यता आएको पीडित परिवारहरूले गुनासो पोखेका छन्।
आजको यस श्रद्धाञ्जलि समारोहमा समाजका सचिव बिगेन थापाले स्वागत मन्तव्य पोखेका थिए भने मृतकका परिवारजनले आफ्नो परिवारको समाधि स्थलमा पुगी पुष्पमाला अर्पण गरी श्रद्धाढ्जलि अर्पण गरे।

Related posts

Leave a Comment