जलवायु परिवर्तनको चपेटमा सिक्किमका चौंरी गाई

Font Size
19 Total Views

उत्तर सिक्किममा अनुमानित 8 सय अधिक चौंरीको मृत्यु

गान्तोक, 12 मई।
सिक्किम राज्यले भू-मण्डलीय उष्णताको बढ्दो सङ्केतसितै आसमान्य जलवायु समस्याको सामना गर्नु परेको छ। जलवायु परिवर्तनको भू-मण्डलीय समस्या सिक्किम जस्तो पहाडी राज्यका लागि चिन्ताजनक छ भन्ने कुरा उत्तर सिक्किमको मुकुथाङमा 3 सय अधिक चौंरी गाईको मृत्युले प्रमाणित गरिदिएको छ। अत्याधिक हिमपातका कारण लगभग दुई महिनादेखि चारो खान नपाएपछि चौंरी गाईहरूको मृत्यु भएको शुरूवाती जाँचमा पुष्टि गरिए तापनि पर्यावरणविद र वन्य जीव विशेषज्ञहरूले यसको विभिन्न कारण बताइरहेका छन्। यसरी नै कारण जे भए पनि आठ सय अधिक चौरी गाईको मृत्यु भएको अनुमान गरिएको छ। यसको आधिकारिक आँकडा अहिले प्राप्त भएको छैन। सम्बन्धित विभाग र जिल्ला प्रशासनले चौरी गाईको मृत्युको कारण तथा यसको आँकलन शुरू गरिसकेको छ।
स्मरण गराइन्छ, उत्तर जिल्लाका जिल्लापाल राज यादवले शनिबारका दिन उत्तर सिक्किमको मुकुथाङ क्षेत्रमा अत्याधिक हिमपातका कारण तीनसय अधिक चौरी गाईको मृत्यु भएको जानकारी गराएका थिए। विशेष गरी दिसम्बर जनवरीदेखि निरन्तर हिमपात भएको र चौरी गाईहरू अत्याधिक भएको क्षेत्रमा थुनिएको तथा हिमपातले झारपात सबै पुरेपछि चौंरी गाई भोकले मरेको बताइएको छ। यो घटना प्रकाशमा आउन साथ पशुपालन विभागको एउटा चिकित्सा टोली रहल चौरी गाईहरूको चिकित्सा उपचारका निम्ति चारो लिएर मुकुथाङ क्षेत्र पुगेको छ। चुङथाङका महकुमा अधिकारी सुवाष घिमिरेले मीडियासितको कुराकानीमा फँसेका चौरी गाईलाई बचाउनु धेरै कठिन भइरहेको बताएका छन्। सडक सुविधा नभएको ठाउँमा र निरन्तर हिमपात भइरहने भएकोले हेलिकप्टरमार्फत चारो पुर्याउनु पनि अति नै चुनौतीपूर्ण छ। यसरी नै स्थानीय चौरी पालक छोगेल भोटियाअनुसार यस अघि सन् 1995-मा यस प्रकारको प्रकोपका कारण चौरीहरूको मृत्यु भएको थियो। अत्याधिक हिमपातका कारण लगभग 10 फीट बाक्लो हिउँ जमेको कारण प्रभावित क्षेत्रमा घाँसपात सबै पुरिसकेको छ।
यसरी नै वन्य जीव विशेषज्ञहरूले चौरी गाई मर्नुको पछाडि अत्याधिक हिमपातबाहेक अन्य विविध कारण रहेको पनि बताएका छन्। यसपल्ट बितेको वर्षको तुलनामा सातगुणा अधिक हिमपात भएको पनि विशेषज्ञहरूको भनाई छ। चौरीपालन क्षेत्रका कृषकहरूको प्रमुख आय स्रोतको माध्यम हो। ऊन, दुध, घिऊ, छुर्पी र पर्यटन उद्देश्यले उत्तर सिक्किममा चौरी पालन महत्वपूर्ण आयस्रोत बन्न पुगेको छ। यद्यपि, जलवायु परिवर्तनका कारण चौरी पालन गर्ने कृषकहरूको प्रमुख आय स्रोतलाई भने ठूलो नोक्सानी झेल्नु परेको छ।
जलवायु परिवर्तनको असर बनस्पति र पशुपंक्षीमा बराबर भइरहेको छ। भू-मण्डलीय उष्णताका कारण गर्मी बडेपछि पशु पंक्षी र बनस्पति विस्तारै उत्तरी तथा पहाडी क्षेत्रमा प्रस्थान गर्छन्। यस प्रक्रियाले पनि पशु पंक्षी साथै बनस्पतिहरूले आफ्नो अस्तित्व गुमाउने गरेका छन्। यसै कारण भू-मण्डलीय उष्णता मानव समाजका लागि मात्र नभएर धरतीमा बसोबास गर्ने प्रत्येक प्राणी जगतका लागि समस्या भएको छ। यसरी नै वैश्‍विक तापमान बडेपछि मौसमको स्वभावमा पनि बदलाव आइरहेको छ। परिणाम स्वरूप अतिवृष्टि, अनावृष्टि, बाढी, पैह्रो, हिम पैह्रो, सुक्खा जस्तो प्राकृतिक विपदाको जोखिम बढीरहेको छ। यसको नकारात्मक प्रभाव हिमालय क्षेत्र नजिकका भू-भागमा मात्र नभएर सम्पूर्ण विश्‍वको वातावरणीय सन्तुलनमा पनि परिरहेको छ। यही वैश्‍विक समस्याको शिकार हिमालय क्षेत्रका चौरी गाईहरू भएको कुराले बड्दो तापमानका कारक तत्वहरूलाई न्यून गर्ने विषयमा तत्काल पहल गर्नुपर्ने प्रकृतिले सबैलाई सङ्केत दिएको छ।

Related posts

Leave a Comment