जनवाचाको उल्लङ्घन गर्दै एसकेएम सरकार

Font Size
59 Total Views

परिवर्तनको नारा दिएर राज्यको सत्ताम पुग्न सफल एसकेएम सरकारका एकाध घोषणाले विरोधाभाषलाई पैदा गरिदिएको छ। सरकारमा आएको खण्डमा सरकारी कर्मचारीहरूको स्थानान्तरण नगर्ने वाचा गर्ने सरकारले धमाधम माथिल्लो तप्कादेखि निम्नवर्गका कर्मचारीहरूको सरूवा र डेपुटेशनमा नियुक्ति दिएर जनवाचाको उल्लङ्घन गरेको छ। पूर्णरूपमा डेपुटेशनको विरोेधमा रहेको एसकेएम पार्टीको यो पहलले जनताको मनमा सन्देह पैदा गर्नु स्वभाविक हो। सम्पूर्ण जनताले बुझ्ने कुरो के रहेको छ भने, सरकारी कर्मचारीहरू स्थानान्तरण राज्य सरकारको अधिकारक्षेत्र भित्रको विषय हो, कुन कर्मचारीलाई कहाँ फिट गर्दा प्रशाशनिक सुधार आउँछ वा कार्य तीव्र गतिमा अघि बढछ त्यसलाई प्रयोग गर्ने अधिकार जनमतद्वारा चयनित सरकारमा रहन्छ नै। तर सोही कार्य पहिले एसडीएफ सरकारले गर्दा चाँहि ‘भिक्टीमाइजेशन‘ भनेर जनतालाई मूर्ख बनाउने तर आफू सरकारमा आएपछि गरिएको ‘भिक्टीमाइजेशन‘-लाई चाँहि सरकारको नियमित प्रक्रिया भन्नु आफैमा विरोधाभाषपूर्ण छ। सत्तामा आउने बित्तिकै शनिबार विदा घोषणा गरेर नयाँ सरकारले कर्मचारीहरूको वाहवाही त पायो, तर साप्ताहिकरूपमा प्रत्येक शनिबार विदा घोषणाको दुरगामी परिणाम भने न त जनहितमा छ, न सरकारको हितमा। समाजको हितधारक र बुद्धिजीवीहरूले यसमाथि मनन गर्नु आवश्यक छ।
प्रसङ्ग बदलौं। चुनावी प्रतिस्पर्धामा नगइकन सोझै मुख्यमन्त्रीको चौकीमा आसिन पीएस तामाङको राजनीति, उज्यालो र तक्निकी पूर्वाधार सम्पन्न सिक्किममा हुर्केको राजनीति हो। उनी एसडीएफ पार्टीमा रहँदानै लगभग सिक्किमसित परिचित बनिसकेका थिए। पूर्वको एसडीएफ सरकार र यसका सुप्रिमो पवन चामलिङको जतिनै विरोेध गरेपनि पी एस तामाङ (चर्चित नाम पीएस गोले)-को राजनीतिक करिअरको बाटो पवन चामलिङकै दैलो भएर गुज्रन्छ। यो सत्यलाई मुख्यमन्त्री गोलेले स्वीकर गर्नै पर्छ। राजनैतिक प्रतिद्वन्दी भए भन्दैमा भारतको वरिष्ठतम मुख्यमन्त्रीलाई विधानसभाभित्र अपशब्द प्रयोग गर्नु कतै न कतैबाट पीएस तामाङलाई गह्रौं पर्नेछ। ठीक विपरीतः पवन चामलिङको राजनीतिक जीवन संघर्षले परिपूर्ण छ। 14 वर्षे भण्डारी शासनलाई लत्याएर पृथक राजनीतिक दल खोल्ने पवन चामलिङको सन् 1992-को राजनीतिक निर्णय सहासपूर्ण थियो। आजको दिनसरह त्यसताक सिक्किममा वाक स्वतन्त्रता थिएन्। मोबाइल, फोन र सामाजिक सञ्जालको हुँकार थिएन। दमन र भयको सत्तापक्षीय भय सदैव चामलिङ र उनका सहकर्मीले झेलेका हुन्। चामलिङको उदयकालसँग मुखामुखी हुननपाउँदै भण्डारीको सत्तालाई सञ्चमान लिम्बुको नेतृत्वले चुनैती दियो र उनी सत्ताविमुख बने। फेरि फर्केर त्यहाँ पुग्न सकेनन्। भण्डारी प्रत्यक्ष मतदानमा गएर पराजित बनेका नेता थिएन्न। जतिखेर उनी चुनाउमा पराजय भोगेर सत्ताविमुख भए, सरकारमा थिएनन्। भण्डारीको बहुमतमको सरकारलाई गिराउने श्रेय सञ्चमान लिम्बुलाई जान्छ। भण्डारी सत्ताविमुख हुनु त्यसताक समयको माग थियो वा उनि राजनैतिक षडयन्त्रको शिकार भएका थिए, त्यसको छुट्टै विश्‍लेषण गर्न जरूरी छ।
जनकल्याणको रथमा चढेर राजनीति हाँक्ने चामलिङलाई थुप्रै कार्यले लोकप्रियताको शिखर चुमायो। चामलिङको राजनीतिक करिअरको स्वर्णिम कामहरूमा जैविक राज्य, शत प्रतिशत शौक्षिक राज्य, मुख्यमन्त्री मेघावी छात्रवृत्ति योजना, पर्यावरण संरक्षण, धार्मिक पूर्वाधार संरचनामा सुधार र महिलागामी पहल अग्रपंक्तिमा पर्छन्। यसको लेखाजोखा आउँदो पुस्ताले गर्नेछ। यसको मूल्याङ्कन तीन पिँढीपछिको सिक्किमले गर्नेछ। आज सिक्किम विकासको सगरमाथा चढने उकालोमा छ र चुचुरोमा पुगेर पछि हेर्दामात्र चामलिङको सार्विक विकासको कोसेढुङ्गाको महत्व सिक्किमले बुझ्नेछ, सिक्किमेले बुझ्नेछन्। यो नवीन सरकारलले सिक्किमलाई अग्रदिशामा लाने कार्य गर्नुपर्छ भन्ने आग्रहसहित सरकारमा पुर्याएका हुन। जुन कार्य गर्दिन भनेर चुनावी भाषणमा भनियो, सरकारमा पुगेपछि त्यहि कार्य पहिला गरेर सरकारी कर्मचारीहरू स्थानान्तरण गर्नुले कतै न कतै सरकारको नकरात्मक सोचलाई उधृत गर्दछ।
अन्तमाः एउटा उद्धृतांश विगतबाट। भारत स्वतन्त्र हुनै आँटेको समय एक पत्रकारको प्रश्‍न बाल गंगाधर तिलकलाई यस्तो थियो, ‘90 वर्षको रक्ताम्मे संघर्षपछि भारत स्वतन्त्र हुँदैछ, अब तपाइँ के गर्नुहुन्छ?’ ‘म गणित र कानुनको जानकारहुँ, गणित पढ़ाउँछु, कानुन पढ़ाउँछु। कलेज जान्छु, विश्‍वविद्यालय धाउँछु’, तिलकको उत्तर थियो। उनले सँाच्चै यसै गरे। उनी देशको निम्ति राजनीतिमा गए तर जब भारत स्वतन्त्र भयो उनी आफ्नो कार्यमा फर्किए। योभन्दा ठूलो राजनैतिक इमान्दारिताको उदाहरण भारतमा पाइँदैन। यसलाई सिक्किमका नवीन नेताहरूले हृदयमा रोप्नु पर्छ। तर बिडम्बना भन्ने कि सचेतना सिक्किमेली समाज यो कसीमा खरो उत्रन सकेको छैन। यहाँकोे समाजमा गंगाधर तिलकको जस्तो इमानदारिताको 1 प्रतिशत पनि प्रदर्शन गर्न सकियो भने सिक्किमलाई आउँदो 10 वर्षको अवधिमा भारतको एक नम्बर राज्य बन्नबाट कसैले छेक्न सक्दैन। यसको निम्ति जननेता र राजनीतिकर्मीहरूमात्र नभएर प्रत्येक नागरिक पनि जागरूक हुनुपर्छ। राजनीति समाजमुखी हुनुपर्छ। यो व्यक्तिगत महत्वकांक्षा पूर्तिको भाँड़ो बन्नुहुन्न। जुन जनवाचा साँचेर सत्ताको भरेङ चढियो, भरेङ उक्लेपछि त्यसको उल्लङघन गर्नु भनेको जनवाचाको उल्लङ्घन हो।

Related posts

Leave a Comment