चौकी तात्तिन नपाई सेलाउन आँट्यो नयाँ सरकार

Font Size
14 Total Views

जगन दाहाल
गान्तोक, 17 अगस्त।
सिक्किमको राजनीतिक परिवेशले कोल्टे फेरेपछि अहिले जनसरोकार र जनहितका कुरा भन्दा चौकीको अधिकारमाथि नेतादेखि आम जनतासम्मको आँखा एकोहोरिहेको छ। व्यवस्थाको नाममा बेवास्ता परिवर्तन भएपछि राज्यको अस्तित्व, प्रजातन्त्र र जनमतको विश्‍वास भने बेटुङ्गो भएर गइरहेको छ। सिक्किम विधानसभामा 15 सीट लिएर विपक्षी पार्टीको महत्वपूर्ण स्थानमा पुगेको एसडीएफ पार्टीका 12 जना विधायकहरूले बाटो परिवर्तन गरिसकेका छन्। हालै राज्यको सत्ताधारी एसकेएम पार्टीले एसडीएफ पार्टीका दुई विधायक एमप्रसाद दुलाल र जीटी ढुङ्गेललाई आफूतिर आकर्षित बनाएपछि एसडीएफ पार्टीका अन्य 10 विधायकले पनि केन्द्र सरकारमा रहेको भारतीय जनता पार्टीमा सामेल भए। यसरी अचानक 12 जना विधायकले दलबदल गर्दा एसडीएफ पार्टीमा मात्र होइन सिक्किमको राजनीति र सत्ता पनि ताईको फुरौलो जस्तो भएको छ। सत्ताच्यूत हुनासाथ एसडीएफ पार्टीका विधायकहरू आफ्नो मूल पार्टीलाई छोड्ेर अन्य पार्टीमा सामेल हुनुको कारणहरू विषयमा राजनीतिक टिप्पणीकारहरूले विभिन्न मतहरू अघि सारिरहेका छन्। सधैं देशको हितमा खडा भएर काम गर्दै आएको एसडीएफ पार्टी नेडा-को सदस्य एनडीए-को समर्थक हो। एसडीएफ पार्टीले पहिलेदेखि नै एनडीएले लिएका देशहितका मुद्दाहरूलाई समर्थन गर्दै आएको छ। पूर्व मुख्यमन्त्री तथा एसडीएफ पार्टीका अध्यक्ष पवन चामलिङले धेरै जसो आफ्नो सम्भाषणमा राष्ट्रप्रेमका कुराहरू जनतासमक्ष राखेका छन् भने देशका प्रधानमन्त्री नरेन्द्र मोदीसम्मले सिक्किमलाई देशको विकासको हिस्सेदारको रूपमा चिनाएका छन्। सिक्किम र केन्द्रको राजनीतिक साझेदारीले नै राज्यको विकास भएको कुरामा दुईमत हुने छैन। दुई सरकार बीचको जिम्मेवार सम्झौताको कारण सिक्किमको विकास भएको हो।
अहिले आएर केही अदृश्य गैर राजनीतिक संगठन अनि केही राजनीतिक पार्टीहरूले एसडीएफ पार्टीका 12 जना विधायकहरूको दलबदल कार्य विरुद्ध मोर्चा निकाल्ने कुरा सिक्किमका केही ठाउँहरूमा देखा पर्दैछन्। प्रजातन्त्र र देशको संविधानले प्रत्येक जनतालाई प्रश्‍न गर्ने, जुलूस गर्ने, नाराबाजी गर्ने, धरना गर्ने आदि अधिकार दिएको छ। जनताले आफ्नो राय जसरी पनि दिनसक्छन् भन्ने संविधानले छुट पनि दिएको छ। यसरी नै भारतकै संविधानले दलबदल कानून ल्याएर दुई तिहाई सदस्यले एउटा राजनीतिक पार्टीबाट अर्को पार्टीमा जानसक्ने प्रावधान पनि छ। अब जनताले बुझ्नुपर्ने कुरा यहाँ आएको छ कि सिक्किममा हुनगइरहेको र्‍याली 12 जना विधायक विरुद्ध हो या संविधानले दिएको अधिकार विरुद्ध?
राजनीतिक जानकारहरूको मतअनुसार 10 जना विधायकको दलबदलले सिक्किमलाई कुनै ठूलो असर नपरे पनि एसकेएम पार्टीको सरकारलाई भने अवश्य नै पर्नेछ। सिक्किमबाट 10 जना बीजेपी विधायकहरू भएपछि मुख्यमन्त्री गोलेलाई पनि ढल्दो सत्ताको सपनाले दिल्ली र सिक्किम धाउने क्रममा पुर्‍याएको छ। सत्ताको सफलतामा इतिहास रच्दैगएको भारतीय जनता पार्टीले केही समयमै सिक्किमको सत्तामा हात पुर्‍याउँछ भन्ने राजनीतिक जानकारहरूको मत छ। एसकेएम सरकारको चौकी पनि तात्तिन नपाई सत्ता सेलाएर जाने लक्षण जनताले देखिसकेका छन्।

Related posts

Leave a Comment