चुङ्थाङको गुरु नेदुक परिसरमा फल्ने धानको ब्याड राखियो

Font Size
60 Total Views

जगन दाहाल
गान्तोक, 14 मई।
हिउँले ढाक्ने 5600 (पाँच हजार छ सय)-फिटको उँचाईमा धान फल्नु भनेको कुनै साधारण कुरा होइन्। झट्टै सुन्दा लेकमा धान फल्छ र त्यो पनि हिउँ पर्ने ठाउँमा भन्ने मानिसहरूको मनमा कुराहरू खेल्नु अस्वाभाविक होइन्। उत्तर सिक्किमको चुङ्थाङ गुरु नेदुक परिसरमा अवस्थित धार्मिक इतिहाससँग जोडिएको खेतमा अहिले पनि दस मूरी धान फल्ने गरेको छ। यस खेत र धानको इतिहाससँग जोडिएका कुराहरू सुन्दा दन्तेकथा जस्तो लाग्नसक्छ तर स्थानीय मानिसहरूको विश्‍वास र उनीहरूले पारम्परिक रूपमा मान्दै आएको कुरालाई ध्यान दिने हो भने यसको इतिहास साँच्चै चाखलाग्दो छ। हिउँले ढाक्ने यस्तो ठाउँमा धान फल्नु स्थानीय मानिसहरू यसलाई गुरु पद्मसम्भवको आशीर्वाद मान्दछन्। स्थानीय मानिसहरूको भनाइअनुसार गुरु रिम्पोछे अर्थात गुरु पद्मसम्भवको आशीर्वादले यो ठाउँमा आठौं शताब्दीदेखि नै आश्‍चर्यजनक प्रकारले धान खेती हुने गरेको छ।
धान खेतको निम्ति यस सालको ब्याड राख्ने कार्य सम्पन्न भएको छ। गत आइतबार चुङथाङ ग्राम पञ्चायत वार्डका मानिसहरूले परम्पराअनुसार विधिवत रूपमा धानको ब्याड राखिसकेका छन्। पूर्व जिल्ला पञ्चायत अध्यक्ष खाम्सुङ लेप्चाको अगुवाईमा ब्याड राखिएको थियो भने अब विधिवत रुपमा विभिन्न गाउँलेहरूले पालै पालो धान रोप्ने, गोड्ने अनि पानी लगाउने जस्ता कार्यहरू गर्नेछन्। धान पाकेपछि गाउँलेहरूले सामुहिक रूपमा दाईं गरेर गुम्बामा भव्य पूजा अर्चना गरेपछि प्रसादको रुपमा उक्त धानको भात पकाएर बाँड्ने अनि गुम्बाका भिक्षु र आनीहरूले पनि त्यही धानको प्रयोग गर्ने गरेको पूर्व जिल्लापञ्चायत लेप्चाले बताए। यो खेतमा दस मूरी धान फल्दै आएको छ भने कृषि विभागले दुई वर्ष अघि नै यसरी धानको खेती हुनको पछि रहेको विशेषताबारे सोध गर्न माटोको नमुना जाँचको निम्ति कृषि विभागले लिएर गएको उनले बताएका छन्। अर्कोतिर, गुरु रिम्पोछेको आगमनको प्रमाणको ढुङ्गा उनको शरीरको थाप रहेको आठौं शताब्दीदेखिको पूज्य पत्थरबाट निस्कने शुद्ध पानी पनि एउटा आश्‍चार्यको विषय रहेको मानिन्छ।
यहाँको ऐतिहासिक कुराहरूबारे जानकारी दिँदै उत्तर जिल्लाका पूर्व जिल्ला पञ्चायत अध्यक्ष खाम्सोङ लेप्चाले बताएअनुसार आठौं शताब्दीमा लेप्चा जनजातिको बसोबासो रहेको यो ठाउँका गाउँले प्रमुख थेकुङ आदेक र पद्मसम्भवबीच तर्क तथा शक्ति जुधाउने प्रतियोगिता भएको थियो। जतिबेला गुरु पद्मसम्भव सिक्कम हुँदै तिब्बत गएका थिए। चुङ्थाङमा विश्राम लिन पुगेका पद्मसम्भवलाई देखेपछि गाउँले प्रमुखले केरकार गर्दै शक्ति जुधाउने प्रतिस्पर्धा गर्दा पद्मसम्भव पछि परेपछि उनलाई खिसी गरेको अनुभव भएपछि पद्मसम्भवले आफ्नो शक्तिले यो क्षेत्रलाई आफूले छोडेर गएपछि धान फल्ने भविष्यवाणी गरेका थिए। उनले आफूले साथमा बोकिल्याएको खाजामा चामल रहेको र उक्त चामल अहिले खेती हुने गरेको सिमित क्षेत्रमा उब्रिएको चामल फालेपछि त्यहाँ धान खेती आरम्भ भएको जन विश्‍वास रहेको छ। पूर्व अध्यक्ष लेप्चाले बताएअनुसार पद्मसम्भवले त्यस बेला शिकार गरेर बाँच्ने लेप्चाहरूलाई धान बारी नजिक आलू र केराको बोट पनि उत्पति गराइदिएको र धानको खेतलाई आलूको बोटले ढाकेको खण्डमा लेप्चाहरूले धर्मको मार्ग कहिल्यै अपनाउन नसक्ने पनि भविष्यवाणी गरेका थिए। त्यसैले चुङथाङ नजिकै बुम नामक लेप्चा गाउँ छ, जसको अर्थ आलू हुनेगर्छ भने चुङथाङदेखि मन्तिर टेक नामक ठाउँ छ, जसको अर्थ आलुको बिउ लगेर रोप्नु रहेको छ। तर गुरु पद्मसम्भवकै आशीर्वादले गाउँलेहरूले धर्मको बाटो हिँड्न सिकेको अनि अहिले शिकारी जीवन त्यागेर खेतीपातिमा लागेको पनि उनले बताए। यसै कालदेखि बचाएर राखेको रातो धानको बिजन अहिलेसम्म चुङथाङको खेतमा लगाइने गरिन्छ।

Related posts

Leave a Comment