चारवटा मुख्य मुद्दालाई लिएर एसडीएफले शुरु गर्यो धरना प्रदर्शन

Font Size
73 Total Views

गान्तोक, 10 जून।
एसकेएम सरकारका मुख्यमन्त्री प्रेमसिंह तामाङ (पीएस गोले) सिक्किमको निम्ति मात्र नभएर देश कै निम्ति खतरा सावित हुनसक्ने आधार देखाउँदै राज्यको विपक्षी पार्टी सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)-ले आजदेखि धरना प्रदर्शन शुरु गरेको छ। एसडीएफले सिक्किम सरकारलाई चारवटा विषयमा घेराबन्दी गर्दै आन्दोलन शुरु गरेको छ। एसडीएफको केन्द्रिय प्रवक्ताहरूको उपस्थितमा युवा तथा चेली मोर्चाका सदस्यहरूले पूर्व जिल्लाको प्रशासनिक केन्द्र परिसरमा आजदेखि चारवटा माग लिएर घरना गर्दै आन्दोलन शुरु गरेका हुन्। एसडीएफले भारतको संविधान र सुप्रिम कोर्टको आदेशको उल्लङ्घन गरी भ्रष्टाचारका दोषीलाई मुख्यमन्त्री नियुक्त गरेकोमा प्रतिवाद, देशका वरिष्ठ नेता एवं विपक्षीका नेता पवन चामलिङविरुद्ध विधानसभामा अपमानजनक व्यवहार गरेर सदनको गरिमालाई खण्डित गरेको प्रतिवादमा, एक परिवार एक नोकरीका 10 हजार युवाहरूको भविष्यसित खेलवाड गर्ने वर्तमान सरकारको निर्णयको प्रतिवादमा अनि सत्तारूढ एसकेएम पार्टीको राज्यव्यापी हिंसा, आगजनी र तोडफोडको प्रतिवादमा धरना राखिएको एसडीएफको भनाइ छ।
धरनामा उपस्थित एसडीएफका प्रवक्ता जेबी दर्नालले विधानसभाको घटना देश कै प्रजातन्त्रको निम्ति कालो दिन रहेको बताउँदै सिक्किमलाई सत्तारूढ एसकेएम पार्टी र मुख्यमन्त्री पीएस गोलेले बद्नाम गराएको आरोप लगाए। उनले सदनमा एसडीएफका नेता पवन चामलिङविरुद्ध नारावाजी हुँदा त्यसको प्रतिवाद र खण्डन गर्नका साटो आफूलाई केही थाहा नभएको मीडियामा बयान दिएर उक्त घटना मुख्यमन्त्री पीएस गोलेद्वारा नै सुनियोजित रहेको र भाडाका मान्छेहरू ल्याएर राज्यको प्रजातन्त्रलाई विश्‍वस्तरमा बद्नाम गरेको आरोप लगाए।
यस घटनाबारे सदनबाट अहिलेसम्म कुनै कार्यवाही नहुनु सदनका अध्यक्षको विद्वतामाथि पनि प्रश्‍न चिन्ह खडा गरिदिएको भन्दै घटनामा संलग्न दोषीहरूलाई तुरन्तै कार्वाही गर्नुपर्ने माग गरे। यसरी नै उनले सदनमा अध्यक्ष पवन चामलिङको प्रतिवाद गर्न उभिएका शहरी विकास तथा आवास मन्त्री अरुण उप्रेतीले राज्यको अनुसूचित जातिको भावनामाथि आघात गरेको आरोप लगाउँदै प्रवक्ता दर्नालले एसडीएफ अध्यक्ष चामलिङ एकजना अनुसूचित जातिका व्यक्ति सदनका अध्यक्ष भयो भनेर होइन तर संविधानले नदिएको व्यक्ति सदनको नेता भएको प्रतिवादमा सदनबाट बाहिरिएको कुरालाई निहुँ बनाएर मन्त्री उप्रेतीले साँपको खुट्टा साँपले देखेजस्तो एकजना दलित समुदायका व्यक्ति आफ्नो बुता र योग्यतामा अध्यक्ष हुँदा मनको औडाहा पोखाउने माध्यमको रूपमा अध्यक्ष चामलिङलाई प्रयोग गरेको बताए।
विधानसभा अध्यक्ष एलबी दास आफ्नै बुतामा अध्यक्ष बनेको अनि त्यसमा उप्रेती र उनको अध्यक्ष गोलेको कृपा नरहेको दावी गर्दै अनुसूचित जातिको अध्यक्ष बन्दा उप्रेतीलाई सहिनसक्नु भएको आरोप पनि लगाए।
अर्कोतिर, एसडीएफका अर्का प्रवक्ता एमके सुब्बाले एसकेएम सरकारले आफ्नो कार्यकालको 14 दिनभित्रै केही गर्न नसक्ने स्पष्ट पारेको दावी गर्दै मुख्यमन्त्री पीएस गोलेले सरकार गठनको अहिलेसम्म दिएका भाषणहरूमा स्कर्पियो र फर्चुनरको हावा मिठाईमात्र बाँडिरहेको अनि कुनै ठोस कार्यक्रम जनतालाई दिन नसकेको आरोप लगाए। एसडीएफ सरकारले दिएको एक परिवार एक नोकरीलाई असंवैधानिक सरकारले अवैध भनेर 10 हजार युवाहरूको पेटमा लात हान्ने काम गरेको आरोप लगाउँदै चुनाउको आचार संहिता देखाएर गलत रूपमा बेरोजगार बनाउने कार्मिक विभागको सर्कुलर 13 तारिक भन्दा अघि फिर्ता गर्नुपर्ने बताए। यदी सर्कुलर फिर्ता नलिएको खण्डमा आन्दोलन तीव्र गर्ने अनि न्यायालय जाने चेतावनी दिए।
यसरी नै उनले मुख्यमन्त्री पीएस गोलेको पद पूर्ण रूपमा असंवैधानिक रहेको अनि भारत कै प्रजातन्त्रको निम्ति खतरा भएको हुनाले मोहमद साहबुदिनहरूले पनि गोलेको कारणले अपराधिक राजनीति गर्ने प्रोत्साहन पाउने भएकोले गर्दा यस्ता क्रियाकलापलाई तुरन्तै रोक्नुपर्ने माग लिएर एसडीएफ पार्टी आन्दोलनमा उत्रिएको बताए। प्रवक्ता सुब्बाले एसकेएम सरकारले कुन दिनदेखि लिम्बू तामाङको आसन र अस्थायी कर्मचारीको स्थायी गर्ने प्रक्रिया शुरु गर्ने अनि आफूले सत्तामा आउनलाई गरेको वाचाहरू पूरा गर्नको साटो हावाको कुराहरू गरिरहेको आरोप पनि लगाए।
यसरी नै सिक्किमको शान्ति सुरक्षा खतरामा परेको अनि नयाँ सरकारले त्यसलाई समाधान गर्न असमर्थ रहेको बताउँदै राज्यभरी भइरहेको राजनीतिक हिंसा बन्द गर्नुपर्ने माग पनि गरे। यसरी नै उनले एसडीएफको मागहरू समाधान नभएसम्म आन्दोलन जारी राख्ने अनि आन्दोलन अझ तीव्र गर्ने चेतावनी दिए। धरनामा एसडीएफका दोस्रो पङ्तिका नेताहरूको उपस्थिति रहेको थियो।
यसरी नै अर्कातिर, एसडीएफ पार्टीको प्रतिनिधि टोलीले पूर्व जिल्लाको जिल्लापाल अनि पुलिस अधिक्षकको कार्यालयमा ज्ञापन पत्र चढाएको छ। उक्त ज्ञापन पत्रमा गत 3 जूनको दिन सम्पन्न विधानसभामा एसडीएफ अध्यक्ष तथा विपक्षी पार्टीका नेतामाथि पब्लिक ग्यालेरीबाट भएको हुटिङ, कार्मिक मामिलाले एक परिवार एक नोकरीको निम्ति जारी भएको परिपत्र लगायत अन्य विषयहरू सामेल रहेका छन्।

Related posts

Leave a Comment