चामलिङका महाभूल?! (3)

Font Size
74 Total Views

अस्मिता गुरुङ
सिक्किमको सबैभन्दा आकर्षक कुरो भनेको यहाँको प्राकृतिक सुन्दरता र त्यसभित्र समाहित जैव-विविधता हो। यो प्रकृतिले नै सिक्किमलाई दिएको अनुपम उपहार। त्यसको साथमा, सिक्किमको समाजमा परिव्याप्त शान्ति यहाँको अर्को विशेषता हो। दुनियाँभरिका मानिसहरू सुख र शान्तिको खोजीमा आज काकाकुलसरह विक्षिप्त र तृषित छन्। दुनियाँमा कहाली-कहाली छ, हाहाकार छ। शान्तिकै खोजी र कामनामा युद्धहरू भइरहेका छन्। तर उन्माद र हिंसाबाट दुनियाँले राहत पाउन सकिरहेको छैन। चारैतिर कोलाहल छ, चित्कार छ, हिंसै-हिंसा छ।
यस्तो कालखण्डमा कुनै समाजमा शान्तिको वातावरण कायम रहनु आफैमा एउटा अप्रतिम उपलब्धि हो। किनभने बुनियादी आवश्यकताहरूको परिपूर्तिपछि मानिसलाई चाहिने अत्यन्त जरूरी कुराहरूमध्ये शान्ति पनि हो। यसको अभावमा मानिसको सामग्रिक विकाशको दैलो थुनिन्छ, मानिसको स्वतन्त्र र स्वाभाविक उन्नतिको बाटो छेकिन्छ। स्वतन्त्र एवं शान्तिपूर्ण परिवेशमा मान्छेले आफ्नो प्रकृत क्षमताको सर्वोच्च विकास गर्नसक्ने मात्र होइन, तर आफूले आर्जेको विकासलाई संरक्षण र सम्बर्द्धन पनि गर्नसक्नेहुन्छ। त्यसैले आम मानिसको जीवनमा शान्ति अत्यन्त मात्र होइन, नितान्त जरूरी हुन्छ।
यसै सन्दर्भमा सिक्किममा परिव्याप्त शान्तिपूर्ण परिवेशलाई बुझ्न सकिए, त्यसको महत्तालाई हामी आँक्न सक्नेछौं। त्यसअर्थमा पवन चामलिङको 25 वर्षे शासनकालमा सिक्किममा जे-जति भौतिक पूर्वाधारहरूका विकास भए, त्यसभन्दा सानो उपलब्धि यहाँ छाएको शान्ति होइन।
एउटा समाजमा शान्ति कति बेला छाउनसक्छ?
यो प्रश्‍नलाई सम्बोधन गर्नुपर्दा निकै लामो व्याख्या चाहिने हुन्छ। किनभने समाजका बहुआयामिक चरित्र, स्वाभाव, मनोविज्ञान, समस्या र चाहनाहरूसित जोडिएको ल्यावरिन्थजस्तो प्रक्रियाबाट गुज्रिएर मात्र मानिसले चाहने र मानिसलाई चाहिने शान्तिको प्राप्ति हुन्छ। उदाहरणको रूपमा विभिन्न जाति, समुदाय बस्ने, विभिन्न मत, विश्‍वासहरू पालेर बस्ने मानिसहरू भएको समाजमा शान्ति कायम गर्ने पहिलो शर्त भनेको ती सबै मानिसहरूको समस्या र चाहनाहरूलाई सन्तुलित रूपमा सम्बोधन गर्दै उनीहरूको मत-विश्‍वास-आस्था वा चाहनाहरूको यथोचित ढङ्गबाट कदर गरिनु हो। यो काम सरल छैन। त्यो समाजमा त्यतिबेला नै शान्ति कायम रहनसक्दछ, जतिबेला त्यस समाजका आम बासिन्दाहरू ढुक्क हुन्छन्, सन्तुष्ट हुन्छन् र सुरक्षित महसूस गर्दछन्। विभिन्न समूह या समुदायहरूमध्ये कुनै एउटा समूह/समुदायले असुरक्षित महसूस गरेको खण्डमा शान्ति भङ्ग हुनु स्वाभाविक हो। एकार्कामा अविश्‍वास र घृणाको भाव जागिरहेको अवस्थामा समाजमा शान्ति कायम हुने कुरा कल्पना मात्र हो। समाजमा कोल्टे स्थिति जन्मिएको बेला शान्ति छाइरहनसक्दैन।
त्यसैले समाजको सामग्रिक, समावेशी र सन्तुलित विकास र व्यवस्थापनको परिणामको रूपमा शान्तिले जन्म लिने हो। कतै-कतै सुनिएजस्तो डरले, करकापले, लोभले शान्ति कायम गर्नसकिँदैन। वास्तवमा समाजमा देखिएको शान्ति भनेको हरेक व्यक्ति, हरेक समूह र हरेक वर्गको मनको तस्वीर हो, उनीहरूको सन्तुष्टिको दर्पण हो। बस् त्यति!
पवन चामलिङले आफ्नो कार्यकालमा सिक्किमेहरूको निम्ति सुख-समृद्धि ल्याउने अथक प्रयास गरे। र सिक्किमको कायपलट नै गरिदिए। केवल भौतिक विकास मात्र होइन, मानसिक र आत्मिक विकास गर्ने तजवीजहरू पनि गरे। यहाँका हरेक समुदायको समस्याहरूलाई सकेसम्म निदान दिने कोशिश गरे। जसले जो खाइपाइ आएका छन्, त्यसलाई घटाउने, मेटाउने काम गरेनन्। बरू अझ बढाउने र सुरक्षित पार्ने उपाय गरे। जसले पाएका छैनन्, उसलाई पनि हक-अधिकार दिलाउने काम गरे। इतिहासमा छुटेका कति कुराहरूलाई पुनःउपलब्धि गरे। सबै धर्मावलम्बी, सबै जात-जातिलाई अधिकारसँगै सम्मान-इज्जत दिए। कर्मचारी, विद्यार्थी, महिला, वृद्ध-वृद्धा, कमजोरहरूलाई अधिकतम् अधिकार र सुरक्षाहरू दिलाए। गरीब-अशक्तहरूलाई आफ्नो नीति र कार्यक्रमको केन्द्रमा राखेर नियमहरू बनाए। कुनै पनि सिक्किमे शिक्षाबाट वञ्चित नहोस् भन्ने चाहना राखेर शुरूदेखि कलेजसम्मकै शिक्षालाई निःशुल्क गरे। कुनै पनि सिक्किमे घरबारविहीन नहोऊन् भनी योजनाहरू बनाएर लागू गरे। कुनै पनि सिक्किमे बिमारी भएर अकाल मृत्यु मर्न नपरोस्, औषधीमूलोको अभावले मर्न नपरोस् भनी सबै उपचार निःशुल्क गर्ने प्रबन्ध मिलाए। यी केही उदाहरणहरू हुन्। ती तमाम कामहरू भारतको कुनै अर्को राज्यमा सायदै भएको छ! यिनै कामहरूको सुपरिणामले गर्दा सिक्किममा शान्ति छाएको कुरो सबैको ज्ञानको कुरा हो। यहाँ सामाजिक तनावको अवस्था छैन। तर ‘चिनी पनि धेर भए तीतो’ भने जस्तो भयो कि के भयो- यसचोटिको चुनाउको कोलाहलभित्र ‘शान्ति’-को पुकारले कुनै कान पाएन। त्यो अपदार्थजस्तो भयो।
उदार, प्रजातन्त्रवादी भएर जनताको न्याय, अधिकार वा राज्यको शान्ति, सुव्यवस्था र सुशासनको एकोहोरो लगाव चामलिङको गल्ती पो भयो कि?

Related posts

Leave a Comment