चर्कियो 20 प्रतिशत बोनसको आवाज

Font Size
80 Total Views

बोनस सम्झौता दार्जीलिङमै हुनुपर्ने माग

समय संवाददाता
दार्जीलिङ, 9 अगस्त।
यसपाली दार्जीलिङमै बोनस सम्झौता हुनपर्ने अनि 20 प्रतिशतभन्दा कम्ति दरको बोनस नमान्ने आवाज चर्किन थालेको छ। आज यसै मागलाई लिएर गोरामुमोको श्रमिक संगठन हिमालयन प्लान्टेशन वर्कर्स युनियन (एचपीडब्लुयू)-ले मलट र एभनग्रोभ चियाबगानमा गेटसभाको आयोजना गर्‍यो। यसै सभालाई सम्बोधन गर्ने क्रममा एचपीडब्लुयूका कार्यकारी महासचिव एसके लामाले यसपाली दार्जीलिङ पहाडका चियाश्रमिकहरूका लागि बोनस सम्झौता कोलकताको साटो दार्जीलिङमै हुनपर्ने माग गरे साथै यसपाली 20 प्रतिशतभन्दा अलिकति पनि कम्ति दरको बोनस नमान्ने श्रमिक संगठनले आफ्नो अडान स्पष्ट पारिसकेको पनि जानकारी गराए। उनले विनय तामाङपन्थी गोजमुमोको श्रमिक संगठनमाथि कटाक्ष प्रहार गर्दै भने, गत वर्ष विशेष एउटा राजनैतिक पार्टीको श्रमिक संगठनले चियाबगान मालिकपक्षसित 15 प्रतिशतको बोनस दरमा नै सम्झौता गरेको थियो। जसलाई हामीले पनि अन्डर प्रोटेस्ट स्वीकार गर्नपरेको थियो। तर यसपाली त्यसो हुन दिने छैनौं अनि चियाश्रमिकहरूलाई न्याय दिलाएरै छोड्नेछौं। यसै विषयलाई लिएर आगामी 13 अगस्तको दिन दार्जीलिङ पहाड, तराई अनि डुवर्सका सम्पूर्ण चियाबगानका प्रबन्धकहरूलाई श्रमिक संगठनहरूले ज्ञापन दिने तय गरेका छन्। जसमा यसपाली चियाश्रमिकहरूलाई 20 प्रतिशतको दरले बोनस दिनुपर्ने माग गरिएको छ भने बोनस सम्झौताको बैठक पनि दार्जीलिङ पहाडमा नै हुनपर्छ भन्ने उल्लेख गरिएको छ।
स्मरण गराइन्छ, गत वर्ष दार्जीलिङ पहाडका चियाश्रमिकहरूलाई केवल 15 प्रतिशतको दरले बोनस वितरण गरिएको थियो। जसको लागि गोरामुमो साथै अन्य श्रमिक संगठनहरूले विनय तामाङपन्थी गोजमुमोको श्रमिक संगठनलाई नै दोष दिंदै आइरहेका छन्। गोजमुमोको श्रमिक संगठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनले कोलकतामा चियाबगान मालिक संगठनद्वारा बोलाइएको बैठकमा 15 प्रतिशतको बोनस दरलाई स्वीकार गरेको बताउँदै आइरहेका छन्। यसैले यसपाली 20 प्रतिशतको दरले बोनस प्रदान गर्नुपर्ने अनि यसको लागि दार्जीलिङमा नै सम्झौता हुनपर्ने मागमा एचपीडब्लुयू अडिग रहेको बताएको छ।
यसरी नै एचपीडब्लुयूका संयुक्त सचिव धीरज राईले भने, यदि चियाबगान मालिकपक्षले यसपाली पनि बोनसको लागि कोलकतामा नै बैठक गर्ने चाल चल्छ भने सम्पूर्ण चियाश्रमिकहरू सडकमा उत्रिएर विरोध जनाउने छन्। उनले आज मलट, एभनग्रोभ चियाबगानमा जोइण्ट फोरमको तर्फबाट नै एचपीडब्लुयूले गेटसभा गरेको जानकारी गराउँदै युनियनले चियाश्रमिकहरूका लागि मिनिमम वेजेस एक्ट लागू गर्नुपर्ने मागबारे पनि चर्चा गरेको बताए। उनले भने, चियाश्रमिकहरूका लागि मिनिमम वेजेस एक्ट लागू गर्नैपर्छ। यसै माग लिएर उत्तर बंगालका सम्पूर्ण चियाबगानहरूमा विगत धेरै वर्षदेखि आन्दोलन चर्किरहेको छ।

Related posts

Leave a Comment