ग्राम पञ्चायत, पञ्चायत समितिका रिक्त पदहरूमा नियुक्ति गरिने

Font Size
9 Total Views

कालेबुङ, 10 जून।
जीटीए क्षेत्रका ग्राम पञ्चायत अनि पञ्चायत समितिहरूमा रिक्त रहेका सबै पदहरूमा नियुक्ति गरिने भएको छ। जीटीए अध्यक्ष अनीत थापाले आज एउटा प्रेस विज्ञप्ति जारी गर्दै उपरोक्त जानकारी गराएका हुन्। थापा अनुसार यस सन्दर्भमा पश्‍चिम बङ्गाल सरकारले आज एक अध्यादेश जारी गरेको छ। जुन अध्यादेशमा दार्जीलिङ अनि कालेबुङ जिल्ला प्रशासन मिलेर सबै ग्राम पञ्चायत अनि पञ्चायत समितिहरूमा रिक्त रहेका विभिन्न पदहरूमा नियुक्ति प्रक्रिया शुरू गर्ने आदेश दिइएको छ। यस प्रक्रियाको लागि राज्य सरकारले दार्जीलिङ र कालेबुङ जिल्ला अन्तर्गत रहिआएको जीटीए क्षेत्रलाई लिएर जिल्ला स्तरको चयन समिति पनि गठन गर्ने भएको छ। यस नियुक्ति प्रक्रियालाई यथाशीघ्र अघि बढाउन दार्जीलिङ र कालेबुङ जिल्ला प्रशासनलाई जिल्ला स्तरको चयन समिति गठन गर्नाको लागि उचित पहल शुरु गरिहाल्ने निर्देश दिइएको छ। साथै यसको सबै औपचारिकताहरू पूरा गर्ने निर्देश समेत राज्य सरकारद्वारा दिइएको छ। जीटीए अध्यक्ष अनित थापाले हाल आफू कलकत्तामा बसेर यस विषयलाई यस विषयलाई अघि बढाइरहेको दावी गरेका छन्। ‘पहाडका बेरोजगार युवाहरूलाई रोजगार उपलब्ध गराउने उद्देश्य लिएर नै हामीले शिक्षक नियुक्ति प्रक्रियालगायत विभिन्न रिक्त पदहरूमा नियुक्ति गरिरहेका छौं। ग्राम पञ्चायत अनि पञ्चायत समितिहरूमा पनि अब धेरै युवाहरूले रोजगारको अवसर पाउनेछन’-थापाले भनेका छन्।
थापाले अझ भनेअनुसार जीटीए व्यवस्थाले जीटीए क्षेत्रको विकासको लागि विभिन्न प्रकारका सम्भावित पहलहरू गर्दै आएको छ। जसको उद्देश्य हो यस क्षेत्रमा रोजगारको अवसर प्रदान गरी बेरोजगार समस्या समाधान गर्नु। साथै समग्र जीटीए क्षेत्रकै विकासलाई संस्थागत गर्दै अघाडी बढाएर लानु पनि हो। हाल प्रक्रियामा रहेको शिक्षक नियुक्ति पनि यसै उद्देश्य मध्येमा एक रहेको थापाले बताएका छन्। ‘जीटीएले विभिन्न विभागमा रोजगार बढाउने उद्देश्यमा मात्रै निरन्तर पहल गर्दैआएको छैन। कुन-कुन विभाग वा क्षेत्रलाई प्राथमिकता दिइनपर्ने हो, जीटीए क्षेत्रको बुनियादी आवश्यकताहरू के-के हुन्, यस बारेमा पनि उतिकै प्रतिबद्धताको साथ काम गर्दैआएको छ। जीटीएको निरन्तर पहल एवं रणनीति अनुरुप राज्य सरकारले आज अध्यादेश जारी गरेको हो। जुन अध्यादेश अनुरूप जीटीए क्षेत्रका ग्राम पञ्चायत अनि पञ्चायत समितिमा रिक्त रहेका सबै पदहरूमा नियुक्ति गरिएपछि जीटीए क्षेत्रको ग्रामीण इलाकाहरूको सर्वाङ्गीन विकासमा ठूलो टेवा पुग्नेछ’-थापाले भनेका छन्।

Related posts

Leave a Comment