कैलाश मानसरोवर यात्राको पहिलो टोली गान्तोकबाट प्रस्थान

Font Size
29 Total Views

गान्तोक, 16 जून।
भारत चीनलाई जोड्ने अन्तर्राष्ट्रिय सीमा नथुला भञ्ज्याङबाट हुने कैलाश मानसरोवर यात्राको निम्ति यस वर्षको पहिलो टोली राजधानी गान्तोकबाट आज प्रस्थान भएको छ। सिक्किम सरकारको पर्यटन एवं नागरिक उड्ड्यन विभाग र सिक्किम टुरिजम डेवलपमेण्ट कोप्रेटिभको रेखदेखमा रहेको यस तीर्थ यात्राको पहिलो टोलीमा देशका विभिन्न राज्यहरूबाट आएका तीर्थ यात्री अनि सिक्किमको सहयोगी टोली गरी कूल 31 जनाको जत्था रहेको छ।
आज राजधानी गान्तोकको एउटा होटेलबाट उक्त टोलीलाई पर्यटन तथा नागरिक उड्ड्यन विभागका अतिरिक्त सचिव डा. के जयकुमारले तीर्थ यात्रीहरूलाई स्वागत सम्मान पछि झण्डी हल्लाएर अघिल्लो यात्राको निम्ति प्रस्थान गराए। दस चरणमा हुने यसवर्षको कैलाश मानसरोवर यात्राको यो टोली वातानुकुलनको निम्ति आज जेएन रोडको 15 माइल र 17 माइलमा रहेको यात्रु निवासमा बस्नेछन्। आउँदो 24 अगस्तसम्म चल्ने यात्रामा प्रत्येक जत्थामा 50 जना यात्रीहरू सामेल हुनेभए पनि पहिलो जत्थामा कतिपयः कारणहरूले लाइजनिङ अधिकारीहरूसहित केवल 31 जना यात्रूमात्र सामेल रहेको यात्राको व्यवस्थापन गरिरहेको सिक्किम सरकार अधिनस्थ एसटीडीसीका अतिरिक्त प्रबन्धक तेजपाल प्रधानले बताए।
2012-सालदेखि शुरु भएको कैलास मानसरोवर यात्रा प्रत्येक वर्ष राम्रो हुँदै आएको अनि यात्रुहरूको चासो बढिरहेको उनले बताए। शुरुमा केवल पाँच झुण्डबाट शुरु गरेको यात्र अहिले 10 झुण्डमा पाँचसय यात्री कैलाश मानसरोवर जान सकिरहेको बताए। यसरी नै उनले सरकारको सम्बन्धित संयन्त्र नै लागिपरेको हुनाले यात्र सफल बनिरहेको बताए। यात्रामा मुख्य रहन सहन र देखरेखको व्यवस्था भारत तिब्बत सीमा पुलिसले गरिरहेको छ। गान्तोकबाट मानसरोवर पुगेर फर्किञ्जेलको सेवा सुसारको व्यवस्था आइटीबीपीका जवानहरूले नै गर्दै आइरहेका छन्।
पहिलो झुण्डमा रहेका यात्रीहरूमा अधिकांश यात्रीहरू वरिष्ठ नागरिकहरू रहेको भएपनि सबैमा आध्यात्मिक चेतना र सहासिक यात्राको जोश रहेको यात्रीहरूले बताएका छन्। उनीहरू माध्ये 18 जना पुरुष अनि 11 जना महिला रहेका छन्। यस पटकको यात्रामा सामेल भएका एक व्यक्ति सिक्किमबाटै दोस्रोपल्ट मानसरोवरको यात्रा गर्न गइरहेका छन् भने एक महिला जसले 30 पल्ट अमरनाथको यात्रा गरिसकेको अनि पहिलोपल्ट सिक्किम भएर मानसरोवरको यात्रा गर्दै भगवान भोलेनाथको पावन भूमि कैलाश पर्वतको दर्शन गर्न आतुर रहेको बताइन्।
उल्लेखनीय छ, भारतको उत्तराखण्डबाट पनि नेपालको सिमाना हुँदै कैलाश मानसरोवरको यात्रा हुने गर्दछ। यद्यपि, उक्त यात्रा पैदल यात्रा भएकोले गर्दा कठोर हुने भएकोले सिक्किमबाट हुने यात्रा वाहनमा हुने सुगम यात्राको रूपमा रहेको छ। यात्रीहरूले अझ धेरै सुविधा र पूर्वाधारको विकास गरेको खण्डमा अझ धेरै यात्रीहरू यो मार्गको प्रयोग गर्न इच्छुक रहने बताएका छन्। कैलाश मानसरोवर यात्रीहरूको सुविधाको निम्ति सिक्किम सरकारको पक्षबाट राजधानी गान्तोकबाट केही दूरीहरूमा यात्रु निवासस्थान बनाइदिएको छ। सिक्किमबाट यात्रा गर्नेहरू धेरै गर्मी राज्यहरूबाट आउने गरेको हुनाले उनीहरूलाई गान्तोकदेखि उँभोको वातावरणमा श्‍वास प्रश्‍वासको निम्ति समस्या हुने गर्दछ। यस्तो समस्यालाई ध्यानमा राख्दै सरकारले उनीहरूको निम्ति विभिन्न सुविधायुक्त आवासहरूको निर्माण गरिदिएको छ।
अतः यस्ता सुविधाहरूको कारण पनि कैलाश मानसरोवर यात्रीहरू सिक्किमको नथुला हुँदै कैलाश मानसरोवर जान रुचाउँछन्। जानकारी गराइन्छ, भारत चीनलाई जोड्ने नथुला भञ्ज्याङ भारत चीन व्यापारको मुख्यद्वार हो भने यो भारतीयहरूको निम्ति प्रमुख पर्यटनस्थल पनि हो।

Related posts

Leave a Comment