केन्द्रलाई चाप दिने गोजमुमो र गोरामुमोको पहल

Font Size
76 Total Views

समय संवाददाता
दार्जीलिङ, 10 जून।
गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले दार्जीलिङ पहाडको स्थायी राजनैतिक समाधानको लागि दिल्लीमुखी कार्यक्रम गर्ने निर्णय लिएको छ। यसैको लागि पार्टी अध्यक्ष मन घिसिङको निर्देश वा परामर्शअनुसार, पार्टीको दिल्ली शाखालाई सक्रिय बनाइएको पार्टीको मीडिया सेल प्रभारी दिनेश साम्पाङले जानकारी गराएका छन्। यसै विषय लिएर आज गोरामुमो दिल्ली शाखा कोर कमिटीको एक सभा दिल्ली मुनिरकामा भएको थियो। जसमा अब गोरामुमो दिल्ली शाखाले निर्वाह गर्नु पर्ने भूमिका के-कस्तो हुन्छ भन्नेबारे पनि चर्चा-परिचर्चा भएको साम्पाङले जानकारी गराए। जबसम्म गोर्खा जातिको लागि स्थायी राजनैतिक समाधान हुँदैन। तबसम्म गोरामुमो दिल्ली शाखा यसको लागि सक्रिय बनेर अघि बढ्ने भएको छ भन्दै उनले अब पार्टीका सबै कार्यक्रम दिल्लीमुखी हुने भएको पनि जनाए। स्मरण गराइन्छ, 17औं लोकसभा चुनाउमा भारतीय जनता पार्टीले जारी गरेको चुनावी घोषणा पत्रमा गोर्खा जातिको स्थायी राजनैतिक समाधान गर्ने वचन दिइएको थियो। गोर्खा जातिको स्थायी राजनैतिक समाधान नै अलग राज्य हो भन्ने सबैको ठहर छ। यद्यपि, गोरामुमोले स्थायी राजनैतिक समाधान छैटौं अनुसूचीभन्दा सानो भए अस्वीकार गर्ने पनि अघिबाटै स्पष्ट गरिसकेको छ। यसका साथै अलग राज्यको साटो युनियन टेरिटोरी भए, त्यसलाई पार्टीले सहर्ष स्वीकार गर्ने पनि अघिबाटै घोषणा गरिसकेको छ। यसैले गोरामुमोले स्थायी राजनैतिक समाधानको रूपमा युनियन टेरिटोरीलाई नै मान्ने पनि धेरैको अनुमान छ। किनभने, हाल विमल गुरुङपन्थी गोजमुमो, गोरामुमो आदि पार्टीहरू एक मञ्चमा आएका छन् र विमलपन्थी गोजमुमोले छैटौं अनुसूचीको अघिबाटै विरोध गर्दै आइरहेको छ। यसैले युनियन टेरिटोरीको मागलाई अघि बढाइए, कसैको विरोध नहुने विषयलाई ध्यानमा राखेर नै गोरामुमो दिल्ली शाखाले पनि यसैमाथि केन्द्र सरकारलाई चाप दिने कार्यक्रमहरू बनाउन सक्ने सम्भावना बढेर गइरहेको छ। यसैबीच, गोर्खा जनमुक्ति युवा मोर्चाले आजदेखि दार्जीलिङ पहाडका विभिन्न स्थानहरूमा पोस्टर अभियान शुरू गरेर केन्द्र सरकारलाई आगामी 17 जूनदेखि शुरू हुने संसद सत्रको अवधि नै संसदमा अलग राज्य गोर्खाल्याण्डको विधेयक ल्याउने चाप दिन थालेको छ।
यसै क्रममा युवा मोर्चाले यहाँको चोकबजारमा पनि पोस्टर टाँस्ने कार्य गर्यो। जसमा गोर्खाल्याण्डप्रेमी हौं हामी, गोर्खाल्याण्ड माग्ने हिंसात्मक प्रवृतिको विरोधी हौं हामी, उत्तेजित भएर होइन, सचेत भएर गोर्खाल्याण्ड चाहन्छौं हामी, लेखिएको छ। यसबारे युवा मोर्चा दार्जीलिङ टाउन कमिटीका कार्यकारी अध्यक्ष कृष्ण बर्मेले भने, ‘गत लोकसभा चुनाउमा भारतीय जनताले पार्टीले गोर्खा जातिको लागि स्थायी राजनैतिक समाधानको वचन दिएको थियो। अब गोर्खा जातिलाई देखाइएको सपना भाजपाले यसपाली पूरा गरिदिनुपर्छ। किनभने, विगत वर्ष 2009-देखि नै गोर्खा जातिले भाजपालाई अलग राज्य गोर्खाल्याण्डको एकमात्र मुद्दाको लागि दार्जीलिङ लोकसभा आसनबाट विजय तुल्याउँदै संसद पठाउने काम गर्दै आइरहेको छ। यसपाली पनि जनताको चाहना गोर्खाल्याण्ड नै हो। यसैले जनभावनाको सम्मान गर्दै भाजपाले गोर्खा जातिको सपना पूरा गरेरै छोड्नुपर्छ। यसै विषयमाथि केन्द्र सरकार र दार्जीलिङका सांसदमाथि अझै चाप दिने उद्देश्यले युवा मोर्चाले पोस्टर अभियान शुरू गरेको हो।’

Related posts

Leave a Comment