कार पार्किङ परिसरमा सफाई अभियान

Font Size
20 Total Views

समय संवाददाता
दार्जीलिङ, 1 जुलाई।
हिमालयन ट्रान्सपोर्ट को-अर्डिनेशन कमिटीले दार्जीलिङ ट्राफिक पुलिस र कतिपय सिण्डिकेटका चालकहरूसित मिलेर यहाँको लावारिस रूपमा रहेको नवनिर्मित कार पार्किङमा सफाई अभियान चलाउन शुरू गरेको छ। वर्तमान समयमा दार्जीलिङ सरकारी महाविद्यालय मुनि करोडौं रुपियाँको लागतमा निर्माण भएको कार पार्किङ मालिकविहीन बने जस्तो भएको छ। जहाँ न चौकीदार छ, न उचित शौचालय र अन्य व्यवस्था नै उपलब्ध छन्। यसै कार पार्किङमा हिमालयन ट्रान्सपोर्ट को-अर्डिनेशन कमिटी, दार्जीलिङ ट्राफिक पुलिस र कतिपय सिण्डिकेटका चालकहरूले सफाई अभियान चलाउन शुरू गरेका छन्। यसबारे हिमालयन ट्रान्सपोर्ट को-अर्डिनेशन कमिटीका मूलसचिव परशु हिङ्माङले भने, गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-ले दार्जीलिङको ट्राफिक समस्या वा कार पार्किङको समस्यालाई केही हदसम्म भए पनि समाधान गर्ने उद्देश्यले दार्जीलिङमा दुइवटा कार पार्किङको निर्माण गरेको थियो। जसमा दार्जीलिङ सरकारी महाविद्यालयमुनि निर्माण भएको कार पार्किङ र काकझोडाको कार पार्किङ हुन्। तर करोडौं रुपियाँको लागतमा निर्माण भएका यी कार पार्किङहरूमा कुनै उचित व्यवस्था नभएको अनि विशेष सरकारी महाविद्यालयमुनिको कार पार्किङभित्र अनैतिक कार्यहरू पनि हुनसक्ने उनले आरोप लगाएका छन्। उनले भने, यहाँ न एकैजना चौकीदारको नियुक्ति गरिएको छ, न कुनै सामान्य सुविधा नै उपलब्ध छ। 5 तले विशाल यस कार पार्किङमा एउटा सुव्यवस्थित पाइखाना पनि छैन।
मैलाले यो कार पार्किङ ढाकिसकेको छ। यसैले यस कार पार्किङमाथि उचित ध्यान दिन आवश्यक छ। यसमा गाडी पार्क गरिएको शुल्क लिए, गाडी चालकहरू त्यो शुल्क तिर्न तयार छन्। यसबाट संग्रह भएको राशिबाट चौकीदार राखे उचित हुनेछ।
यसैले यस विषयमाथि जिल्ला प्रशासन, पुलिस प्रशासन र जीटीएले उचित पहल गर्न आवश्यक रहेको पनि हिमालयन ट्रान्सपोर्ट को-अर्डिनेशन कमिटीको माग छ। स्मरण गराइन्छ, दार्जीलिङमा निर्माण भएका दुइवटा कार पार्किङमध्ये दार्जीलिङ सरकारी महाविद्यालयमुनिको कार पार्किङमा 251 वटा र काकझोडाको डीआरसी गोदाम परिसरमा निर्माण भएको पार्किङमा 120 वटा गाडी अट्नसक्छ। दार्जीलिङको ट्राफिक समस्यालाई ध्यानमा राखेर नै जीटीएले वर्ष 2013-देखि दार्जीलिङमा दुइवटा, कालेबुङमा एउटा अनि खरसाङमा एउटा बहुतले कार पार्किङ निर्माण गर्न शुरू गरेको थियो।
यीमध्ये दार्जीलिङका दुवैवटा कार पार्किङको निर्माण कार्य पूरा भएर पनि गाडी राख्न शुरू गरिएको छ। जीटीएले दार्जीलिङ सरकारी महाविद्यालयमुनि लगभग 500 वटा गाडी अँट्नसक्ने कार पार्किङको निर्माण शुरू गरेको थियो भने काकझोडास्थित डीआरसी गोदाममा पनि लगभग 160 वटा साना गाडीका साथै 10 वटा बस अँट्नसक्ने बहुतले कार पार्किङको निर्माण भएको थियो। दार्जीलिङ सरकारी महाविद्यालयमुनि 23 करोड 23 लाख रुपियाँको लागतमा कार पार्किङ निर्माण भएको थियो भने डीआरसी गोदाम परिसरमा 10.70 करोडको लागतमा प्रथम चरणको कार पार्किङ निर्माण भएको थियो।
यसबाहेक खरसाङको बाइपास रोड परिसरमा निर्माण भएको 5 तले कार पार्किङको लागत प्रथम चरणमा 25 करोडको भएको विभागले अघिबाटै जानकारी गराएको थियो। तर कार पार्किङ निर्माण कार्य पूरा भएपछि यसको उचित देखरेखमाथि कसैले ध्यान दिएको छैन। यसैले यसको सफाईमा हिमालयन ट्रान्सपोर्ट को-अर्डिनेशन कमिटी अघि आएको छ।

Related posts

Leave a Comment