एसडीएफ पार्टीलाई अझै दह्रो बनाउन जुट्नुपर्छः डीटी लेप्चा

Font Size
111 Total Views

समय संवाददाता
गान्तोक, 2 जून।
सिक्किममा विपक्षी पार्टी दह्रो भएर होइन तर एसडीएफ पार्टीकै उम्मेदवार अनि कार्यकर्ताहरूले चुनाउलाई हल्का रूपमा लिँदा पार्टी सरकारबाट बाहिर हुनुपरेको विधायक तथा एसडीएफ पार्टीका वरिष्ठ नेता डीटी लेप्चाले बताएका छन्। चुनाउको परिणामपछि पहिलोपल्ट आयोजित एसडीएफ पार्टीको केन्द्रीय कार्यकारिणी समितिको सभालाई सम्बोधन गर्ने क्रममा पार्टीका कतिपय कार्यकर्ताहरूमा पार्टीलाई विजय गराउने संकल्पको कमी रहँदा यसपल्ट पार्टीले पराजयको सामना गर्नुपरेको उनले बताए। यसपटकको चुनाउलाई उम्मेद्वारहरूले सहजरूपमा लिँदा, उम्मेद्वारहरूले पार्टीका कार्यकर्ताहरूलाई विश्‍वासमा लिन नसक्दा, पार्टी कार्यकर्ताहरूले आफ्नो क्षेत्रको उम्मेद्वारचाहिँ हारोस् तर सरकारचाहिँ एसडीएफकै आउनुपर्छ भन्ने गलत सोच राख्दा, पार्टी अध्यक्षले चुनाउमा पार्टी कार्यकर्ताहरूलाई जहाँ जहाँ खटाएका थिए ती स्थानहरूमा कार्यकर्ताहरू नपुग्दा र पार्टी कार्यकर्ताहरू सुविधामुखी हुँदा पार्टी केही सीटमा पछि परेर सरकारमा पुग्न नसकेको वरिष्ठ नेता डीटी लेप्चाले बताए। डीटी लेप्चाले भने, सिक्किमका जनताले एसडीएफ पार्टीलाई छोडेका छैनन्, सबभन्दा ज्यादा भोट एसडीएफ पार्टीले पाएको छ। त्यसकारण चुनाउमा जे भयो भइगयो। अब एका-अर्कामा दोषारोपण नगरेर एकसाथ मिलेर अघि बढ्नुपर्छ। एसडीएफ पार्टीका विधायकहरू अन्य पार्टीमा जान सक्छन् भन्ने भ्रमहरू सोसियल मीडियाबाट फैलाइने काम भइरहेको छ। यस्ता प्रत्येक कुराको जवाफ दिने समय हुँदैन तर यस्ता भ्रमहरूमा विश्‍वास नगरेर पार्टीलाई अझै दह्रो बनाउने काममा जुट्नुपर्छ। एसडीएफ पार्टीका कार्यकर्ता र समर्थकहरू सुर्ताउनु हुँदैन, धैर्यधारण गरेर इज्जतमा बस्नुपर्छ। 25 वर्षपछि पहिलोपल्ट सरकारबाहिर रहेको एसडीएफ पार्टीले चुनाउको नतिजापछि आयोजना गरेको केन्द्रीय कार्यकारिणी समितिको पहिलो सभा पार्टी अध्यक्ष पवन चामलिङको अध्यक्षतामा सम्पन्न भएको थियो। सभामा पार्टीका नवनिर्वाचित विधायकहरू, ग्राम तथा जिल्ला पञ्चायतका सदस्यहरू, नगर पार्षदहरू, पार्टीको केन्द्रीय कार्यकारिणी समितिसहित विभिन्न समितिका सदस्य अनि भातृ संगठनका सदस्यहरूको सभामा बाक्लो उपस्थिति रहेको थियो।

Related posts

Leave a Comment