एनआरसी लागू हुनअघि जमीनको सर्टिफिकेटको माग

Font Size
29 Total Views

समय संवाददाता
दार्जीलिङ, 16 जून।
चुनाउपछि जनआन्दोलन पार्टीमा धमाधम सामेल हुँदैछन् युवाहरू। यसै क्रममा आज फेरि चुङथुङ, दवाईपानी, बदमताम आदि क्षेत्रबाट कैयौं युवाहरू पार्टीमा सामेल भएको पार्टीका ब्यूरो सदस्य अमर लामाले जानकारी गराए। यसैबीच, आज पार्टीको दार्जीलिङ जिल्ला समितिमा भुवनसिंह छेत्रीलाई प्रवक्ता चयन गरिएको पनि लामाले बताए। पार्टीमा प्रवक्ता चयन हुनसाथ छेत्रीले बंगालमा एनआरसी लागू हुनअघि नै पर्जा-पट्टा नभएका चियाबगान, सिन्कोना बगानवासी जनतालाई उनीहरू बस्दै आएको जमीनको पोजेशन सर्टिफिकेट दिनुपर्ने माग उठाए। उनले भने, 17औं लोकसभा चुनाउको प्रचारको समय भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष अमित शाहले बंगालमा नेशनल रेजिस्टर अफ् सिटिजन्स (एनआरसी) लागू गर्ने बताएका थिए।
यसैले 17औं लोकसभा चुनाउमा फेरि भारतीय जनता पार्टी अत्यधिक मत वा आसनको साथमा दोस्रोपल्ट केन्द्रमा सरकार बनाउन सफल भएको छ। यस्तो अवस्थामा अमित शाहको कुरालाई यहाँ लागू गर्ने सम्भावना प्रबल बनिरहेको छ। जनआन्दोलन पार्टीले एनआरसी लागू होस् भन्ने चाहन्छ, तर एनआरसी लागू हुनअघि दार्जीलिङ पहाड, तराई, डुवर्स आदि क्षेत्रका भूमिहीन जनतालाई उनीहरूको अधीनमा रहेको जमीनको पर्जा-पट्टाको व्यवस्था गरिनुपर्छ। उनले भने, आसाममा एनआरसी लागू गर्दा सन् 1971-लाई कट अफ् इयर मानिएको थियो, यदि बंगालमा पनि यसै वर्षलाई कट अफ् इयर मानिए यहाँका जनताले दस्तावेजको रूपमा के देखाउने? भोटर कार्ड सन् 1995-मा शुरू भएको हो भने आधार कार्ड 2014-देखि लागू गरिएको छ। जसमा रहेका भूलहरूलाई अझैसम्म पनि समाधान गर्ने काम पूर्ण गरिएको छैन। यसैले दार्जीलिङ पहाडका जनतालाई उनीहरू बस्दै आएको जमीनको स्वामित्व प्रमाण पत्र प्रदान गर्नुपर्छ, ताकि एनआरसीले यहाँका जनतालाई कुनै नकारात्मक प्रभाव नपरोस्। यसैबीच, उनले आज दबाईपानीबाट 25, चुङथुङबाट 20 र बिजनबारी-बदमतामबाट 15 युवाहरू पार्टीमा सामेल भएको पनि बताए।

Related posts

Leave a Comment