एक परिवार एक नोकरीका कर्मचारीहरू अधिकार खोज्दै पुगे डीओपी

Font Size
75 Total Views

गान्तोक, 10 जून।
एसडीएफ सरकारको महत्त्वपूर्ण कार्यक्रमको रूपमा चर्चामा आएको एक परिवार एक नोकरी नयाँ एसकेएम सरकार गठन पछि विवादित बनेको छ। दुई चरणमा नियुक्त दिएको 21 हजार 7 सय कर्मचारीहरू अहिले आन्दोलनमा उत्रन पर्ने अवस्थामा पुगेका छन्। यसै क्रममा आज सोमबार राज्यका चारै जिल्लाबाट भेला भएका पीडित कर्मचारीहरूले टाशीलिङ सचिवालयमा भेला भएर कार्मिक मामिला विभागका सचिवलाई एउटा ज्ञापन पत्र चढाउँदै पहिलो चरणमा नियुक्ति दिएकाहरूलाई यथाशीघ्र वेतन भुक्तान गर्नुपर्ने अनि दोस्रो चरणमा जारी गरिएको नियुक्ति पत्रलाई वैध हुँदाहुँदै पनि नियुक्ति लिन नदिने आदेशपत्र तुरन्तै फिर्ता लिएर नियुक्त गरिनुपर्ने माग राखेका छन्। पीडित कर्मचारीहरूले दिनभरी सचिवालय अघिल्तिर बसेर आफ्नो माग दोहोर्याइरहे। उनीहरूले सरकारले जारी गरेको सर्कुलरमा दस हजार जति कर्मचारीहरूको नयाँ नियुक्ति पत्रहरू रद्द हुनपुगेको अनि उक्त नियुक्तिपत्र चुनाउको आचार संहितासित कुनै सम्बन्धिन नरहेको बताउँदै यसलाई कार्मिक मामिला विभागले तुरन्तै फिर्ता लिनुपर्ने माग गरेका छन्।
अर्कोतिर, विभागले पनि उक्त सर्कुलरमा भूल रहेको मौखिक रुपमा स्वीकार गरिसकेको तर त्यसलाई व्यवहारमा उतार्दै सर्कुलर फिर्ता नलिएसम्म आन्दोलन र माग जारी राख्ने कर्मचारीहरूको भनाइ छ। गाउँ गाउँबाट आफ्नो सरकारी नोकरी दाउमा परेपछि कार्मिक मामिला विभागको सर्कुलरले नियुक्ति पाइसकेको र नियुक्ति रोकिएका दुवै खेमा अहिले विलखबन्दमा परेको अनि वर्तमान सरकारले बेरोजगारहरूले पाएको रोजगारलाई यथाशीघ्र सुनिश्‍चित गरिदिनुपर्ने माग राखेका छन्। कर्मचारीहरूले आफ्नो दुई सूत्रीय माग नियुक्ति पाएकाले समयमा वेतन पाउनुपर्ने र नियुक्त नदिएकाहरूलाई तुरन्तै नियुक्त गर्ने अनुमति दिनुपर्ने र कार्मिक मामिला विभागले जारी गरेको सर्कुलर फिर्ता लिनुपर्ने रहेको छ।

Related posts

Leave a Comment