इन्द्रबहादुर छेत्रीलाई पहिलो स्वर्गीय मनमाया भण्डारी मेधावी पुरस्कार

Font Size
88 Total Views

पाकिम, 15 मई।
डिकलिङ उच्च माध्यमिक स्कूलबाट सीबीएसईको बोर्ड परीक्षामा 95.2 प्रतिशत अङ्क प्राप्त गर्ने विद्यार्थी इन्द्रबहादुर छेत्रीलाई आज पहिलो स्वर्गीय मनमाया भण्डारी मेधावी पुरस्कार 2018-19 प्रदान गरिएको छ। स्मरण रहोस्, बागवानी विभाग सिक्किम सरकारका प्रधान सचिव डीके भण्डारी र उनकी श्रीमती मिरा भण्डारीले आफ्नो आमाको नाममा यो पुरस्कार शुरू गरेका छन्। पुरस्कार स्वरूप नगद रू.15 हजार विद्यार्थी इन्द्रबहादुर छेत्रीलाई प्रदान गरिएको छ। आज स्कूलमा आयोजित कार्यक्रममा स्कूलका प्राचार्य, पूर्व जिल्ला पञ्चायत अध्यक्ष पीएन काजी, पञ्चायत सभापति शरण भण्डारी, वार्ड पञ्चायत बुद्धिमाया सुब्बा, सामाजिक कार्यकर्ता बीबी गुरूङ लगायत अभिभावकहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान सचिव डीके भण्डारीले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई अध्ययनमा प्रोत्साहन गर्ने उद्देश्यमा यो पुरस्कार शुरू गरिएको बताए। उनले विद्यार्थीहरूलाई प्रतिस्पर्धी बन्ने प्रेरणा दिँदै सफलता पाउनका लागि अथक परीश्रम गर्नुपर्ने बताए। यस अवसरमा उनले स्कूलका लागि रू. 2 लाख रुपियाँ पनि डोनेट गरेका छन्।
स्मरण रहोस्, यो दुई लाख रुपियाँ स्कूलको कोषमा जमा गरिन्छ। यसबाट वार्षिक रू.15 हजार ब्याज प्राप्त हुन्छ। यसलाई प्रतिवर्ष स्कूल टपर बन्ने विद्यार्थीलाई पुरस्कार स्वरूप प्रदान गरिन्छ। यसरी नै आफ्नो सम्बोधनमा प्रधान सचिव डीके भण्डारीले स्कूलका शिक्षक शिक्षिका अनि विद्यार्थीहरूलाई स्कूलको सिर्जनशील गतिविधि अन्तर्गत स्कूल परिसरमा जैविक विधिअनुसार फलफूल र सागसब्जी लगाउने प्रेरणा पनि दिए। यसका लागि विभागका तर्फबाट पनि स्कूललाई सहयोग गर्ने वचन दिएका छन्। कार्यक्रममा विद्यार्थीहरूले रङगारङ्गा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

Related posts

Leave a Comment