आलोचनाको चक्रव्यूहमा एसकेएम सरकार

Font Size
28 Total Views

जगन दाहाल
गान्तोक, 20 अगस्त।
सरकारको कुभलो कसले चिताउला र? आखिर जनताले सत्तामा पुर्‍याएको हो। सरकार बनाउनको निम्ति पार्टी, पार्टीको सिद्धान्त र कार्यकर्ताको प्रतिबद्धताको ठूलो महत्त्व हुन्छ। पार्टी गठन हुँदा पार्टीका संस्थापकहरूले पार्टीबाट धेरै आशा अपेक्षा राखेका हुन्छन्। पार्टीले पनि कार्यकर्ताबाट त्यति नै आशा राखेको हुन्छ कि आफूलाई कार्यकर्ताले धेरै माथिसम्म बोकेर लानसक्छन्। पार्टीलाई बोक्न या थाम्न सबैभन्दा ठूलो भूमिका नेताको हुन्छ। नेतृत्व दह्रिलो भए पार्टी सधैं दह्रिलो भएर जान्छ। पार्टीमात्र दह्रिलो भएर नेतृत्व फ्यातुलो छ भने जनताको समर्थन कतै पाइँदैन। प्रजातान्त्रिक प्रणालीमा पार्टी बनाउन र चलाउन नेताको जरुरत पर्छ चाहे नेतृत्व जतिनै योग्यको होस्। सिक्किमको सत्ता परिवर्तन भएको तीन महीना भइसक्यो तर जनताले चाहेको र एसकेएम पार्टीले दिएको वचनको परिवर्तन भने भएको देखिएन। चौकीमा नयाँ अनुहार आए, सत्तामा नयाँ सरकार आयो, विपक्षमा नयाँ पार्टी आयो, सरकारी चौकीमा काखी च्यापिएका अधिकारीहरू पुगे तर नयाँ व्यवस्थाको आधारशीला भने सरकारले राख्न सकेको छैन। जहाँसम्म सिक्किमे जनताले केवल अनुहारको निम्ति मात्र सत्ता परिवर्तन गराएका होइनन् भन्ने छ। सिक्किमको राजनीतिमा नयाँ राजनीतिक दल सत्तामा पुगेको तीन महीनाभित्रै धेरै घटनाहरू घटिसकेका छन्। सत्तामा पुगेपछि कुनै एसडीएफ पार्टीका विधायकहरूलाई एसकेएम-ले नलिने भन्दै घुमेका एसकेएम पार्टीका कार्यकर्ताहरू र नेताले पहिलो सत्रमै एसडीएफका दुई विधायकलाई काखी च्यापे। यहाँबाट थाहा हुन्छ कि एसकेएम पार्टी आफ्नो वचन, प्रतिबद्धता अनि आफ्ना पार्टीका कार्यकर्ताहरूमाथि कतिको इमान्दार छ भनेर।
पहिलो सत्रमा एसकेएम सरकारका मुख्यमन्त्री प्रेमसिंह तामाङ र विधायक आदित्य गोले (बाबु-छोरा)-ले पूर्व सरकारको विकास कार्यको खोट निकाल्न धेरै दोहोरी पनि खेले, त्यो नयाँ सरकारको निम्ति नयाँ कुरा थिएन। तर एसडीएफ पार्टीका दुई विधायकलाई एसकेएम सरकारले किन्यो भन्ने हल्लाले जनतामा सरकारमाथिको विश्‍वास भने उडाएरै लगेको छ। पूर्व सरकारले जनताको टाउकोमा बाँकी भिरायो भन्ने आरोप लगाउने नयाँ सरकारले सरकार बन्नासाथ दुई विधायकलाई कसरी किन्नसक्यो भन्ने प्रश्‍न जनताको मनमा उठेको छ।
अर्कोतिर अहिले सरकारभन्दा पनि पार्टी हावी भएकोले सिक्किमको व्यवस्था चलाउन मुख्यमन्त्रीभन्दा अरू नै शक्तिशाली बनेको सुन्नमा आएको छ। जब पार्टी कार्यकर्ताले सरकार चलाउँदैछ भने जनताको मतको इज्जतको धाक दिने सरकार पक्षले आफ्नो कार्यको पनि खण्डन गर्न सक्नुपर्छ। कुनै पनि सत्ताधारी पार्टीका कार्यकर्ता पनि जनता नै हुन्, उनीहरूको पनि मतले सरकार बनिएको हुन्छ। सबैले सरकारप्रति कुनै अपेक्षा राखेर नै जनताले मत खसालेका हुन्छन्। जब आफ्नो अपेक्षा पूरा हुँदैन जनता रुष्ट हुन्छन्। आक्रोषित जनताले सरकारमा साम, दाम, दण्ड, भेद कुनै कुरा लगाउन नसके पनि चुनाउको समयमा भने आफ्नो आक्रोष अवश्य देखाउँछन्। अहिलेको सरकारको पनि परिणाम त्यही दिशामा जाँदैछ। पार्टीका कार्यकर्ता, भरौटे, पार्टीका सामाजिक सञ्जालका प्रयोगकर्ता, सत्ता सञ्चालकहरूले जतिनै सत्ताका गल्ती लुकाउन र गल्तीलाई सही तुल्याउन खोजेपनि पाँच सालपछि जनताले सहीको सही हिसाब देखाएरै छाड्नेछन्। सरकार बनेको छोटो अवधिमै सत्ताको रापमा रापिएका केही नोमिनेटेड अधिकारीहरूमाथि पनि अहिले एसकेएम पार्टीका कार्यकर्ताहरूमा मोहभङ्ग भइसकेको थाहा लागेको छ। पार्टीले पालेका केही बिचौलियाबाट सरकारसम्म तृणमूलको कुरा पुगेन भने जनताको अपेक्षा कहिल्यै पूरा हुनेछैन। तृणमूलस्तरमा कार्यरत पार्टीका कार्यकर्ताहरूको कामलाई माथिल्लो पङ्क्तिमा बसेर काम गर्ने कार्यकर्ताहरूले अनदेखा गर्नु र सत्यतालाई छोप्ने प्रयास गर्नुको परिणाम इतिहासलाई हेरेर अहिलेको सरकारले सिक्न आवश्यक छ। यो प्रजातान्त्रिक प्रणाली हो, सरकारको छेउमा बसेर मण्डल प्रवृत्तिको कार्य गर्नेहरू विरुद्ध जनता अघि आए भने नेता, नेतृत्व, नीति, सिद्धान्त कुनै काममा आउने छैनन्। तीन महिनाको कार्यकाल पनि पूरा नगरी नै एसकेएम सरकार आलोचनाको चक्रव्यूहमा परिसकेको छ।

Related posts

Leave a Comment