आज गोजमुमोको सिञ्चेलदेखि महाकालसम्मको पदयात्रा

Font Size
16 Total Views

समय संवाददाता
दार्जीलिङ, 10 मई।
भोलि 11 मई शनिबार गोर्खा जनमुक्ति मोर्चाले सिञ्चेलदेखि महाकालसम्मको पदयात्रा गर्ने तय गरेको छ। जसको अगुवाई गोजमुमो महासचिव अनित थापाले गर्ने भएका छन्। विशेष दार्जीलिङ विधानसभा आसनको उपचुनाउमा गोजमुमोबाट खडा भएका स्वतन्त्र उम्मेद्वार विनय तामाङको समर्थनमा नै पार्टीले यो पदयात्रा कार्यक्रम गर्ने चाँजो मिलाएको हो। जसमा सिञ्चेलदेखि महाकालसम्म पर्ने विभिन्न वार्ड तथा गाउँवासी जनतालाई सहभागी बनिदिने पार्टीले अपील गरेको छ। अब गोजमुमोको यस धार्मिक पदयात्राले विनय तामाङलाई कति सफलता दिलाउने हो, त्यो आगामी 23 मईको दिन नै स्पष्ट हुनेछ। किनभने, अर्कोतर्फ गोरामुमो, विमल गुरूङपन्थी गोजमुमो समर्थित भाजपा उम्मेद्वार निरज जिम्बा आफ्नो जीत निश्‍चित गर्न दिन-रात एक गरेर लागिपरेका छन्। उनले जनताको घर-घर गएर उमेरको हिसाबले नमस्ते, ढोग गर्दै भोटको अपील गरिरहेका छन्।
यसरी नै गोजमुमो उम्मेद्वार विनय तामाङको लागि पार्टी महासचिव अनित थापाले पनि जनताको घर-घर गएर भोट माग्ने कार्य गरिरहेका छन्। यसैबीच, थापाले पार्टी उम्मेद्वार तामाङको लागि सिञ्चेलस्थित देवी धामबाट महाकाल मन्दिरसम्मको पैदल यात्रा गर्ने कार्यक्रम बनाएका छन्। जसमा हजारौं गोजमुमो समर्थकहरूको सहभागिता रहने पार्टीको आशा छ। हाल गोजमुमोका स्वतन्त्र उम्मेद्वार विनय तामाङले आफ्नै ढङ्गमा विभिन्न गाउँ-बस्तीतिर जाँदै चुनाउ प्रचार गरिरहेका छन् भने अनित थापाले अन्य स्थानतिर प्रचार गरिरहेका छन्। यद्यपि, अहिलेसम्म दार्जीलिङ शहरमा गोजमुमो, भाजपा आदि पार्टीले ठूलो जनसभाको कार्यक्रम गरेको छैन। जसले चुनाउ प्रचारको अन्तिम दिनतिर अर्थात 16 वा 17 मार्चका दिन चुनावी जनसभा गर्ने जानकारी पाइएको छ। किनभने, आगामी 19 मईको दिन हुने मतदानको लागि 17 मईको साँझ 5 बजी प्रचारको मियाद समाप्त हुनेछ। यसैले यी दुवै पार्टीले प्रचारको अन्तिम समयमा नै दार्जीलिङ शहरमा आफ्नो शक्ति प्रदर्शन गर्ने योजना बनाएको स्पष्ट छ। यसको अर्कोतर्फ तृणमूल कंग्रेसकी विद्रोही नेत्री शारदा राई सुब्बा, जनआन्दोलन पार्टीका अमर लामा, क्रामाकपा-कंग्रेस समर्थित स्वतन्त्र उम्मेद्वार स्वराज थापा, माकपा उम्मेद्वार केबी वातर आदिले पनि चुनाउ प्रचार गरिरहेका छन्। तर गोर्खालीगका प्रार्थी विप्लव राई, गोर्खा राष्ट्रिय कंग्रेस प्रार्थी अमर लक्सम, आइडीआरएफ प्रार्थी सञ्जय ठकुरीले चुनाउ प्रचार गरेको संकेत पनि पाइएको छैन। यसैबीच, भोलि गोजमुमोले सिञ्चेलबाट निकाल्ने पदयात्रामा दार्जीलिङ पथ पसले संघका सदस्य-सदस्याहरूले पनि भाग लिने बताइएको छ।

Related posts

Leave a Comment