असमका पूर्व सांसद मणिकुमारको निधन

Font Size
100 Total Views

गान्तोक, 27 मई।
पूर्व लोकसभा सांसद तथा असम गोर्खा सम्मेलन (अगोस)-का पूर्व अध्यक्ष मणिकुमार सुब्बाको निधन भएको छ। गुढगाउँस्थित मेदान्त अस्पतालमा आइतबार अबेर राति उनको निधन भएको बताइएको छ। उनी 2014 देखि कोमामा थिए। मृत्युपछि उनले धर्मपत्नी, छोरी-ज्वाइँ, नाता-नातिनीहरू छोडिगएका छन्। उनको शवलाई मेदान्तबाट भोलि असम लगिने पारिवारिक सूत्रले जानकारी दिएको छ। गुवाहाटीमा उनको अन्तिम संस्कार हुनेछ।
मणिकुमार सुब्बालाई भारतीय गोर्खाहरूको एक शीर्षस्थ नेताका रूपमा चिनिने गरिन्छ। उनी 1999 देखि 2009 सम्म असमको तेजपुर लोकसभा समष्टिबाट 10 वर्ष लोकसभा सांसद रहेका थिए। उनी भारतीय राष्ट्रिय कङ्ग्रेसबाट लोकसभामा विजयी बनेका थिए। 1991 मा सक्रिय राजनीतिमा प्रवेश गरेका मणिकुमार सुब्बा असमको नाववैचा समष्टिबाट पहिलोचोेटि विधायक बनेका थिए। तत्कालीन हितेश्‍वर साइकिया सरकारमा उनी अन्य पछौटेवर्ग (ओबीसी) बोर्डका अध्यक्ष रहेका थिए। आफ्नो अपार जनप्रियताको कारण कङ्ग्रेसले उनलाई 1996 मा पुनः नाववैचा समष्टिबाटै उम्मेद्वार बनाएको थियो। यस चुनाउमा कङ्ग्रेस दलको हार भएर असम गण परिषद् (अगप)-ले सरकार गठन गरे तापनि मणिकुमार सुब्बा भने विजयी बनेर आएका थिए।
असममा अगपको सरकार गठन भएपछि कङ्ग्रेसमाथि आइपरेको सङ्कटमा उनी एक दह्रो खाँबो भएर देखा परे। 1999-मा सम्पन्न लोकसभा चुनाउमा कङ्ग्रेसले उनलाई तेजपुर लोकसभा समष्टिबाट उम्मेद्वारिता दिएको थियो। त्यस चुनाउमा उनी भारी मतले विजयी बनेका थिए। स्वरूप उपाध्यायपछि असमबाट लोकसभामा सांसद बन्ने उनी दोस्रो गोर्खा हुन्। केन्द्रमा अटल बिहारी वाजपेयीको नेतृत्वमा रहेको सरकार विघटनपछि पुनः सम्पन्न चुनाउमा उनी दोस्रोपटक सांसद बने। त्यस चुनाउमा पनि उनी ठूलो मतले विजयी बने। असममा अगप शक्तिशाली स्थितिमा रहेको समय तेजपुरजस्तो समष्टिबाट ठूलो मतको व्यवधानले विजयी बन्ने सुब्बालाई लिएर सबै चकित थिए। 2004-मा कङ्ग्रेसले उनलाई पुनः तेजपुर समष्टिबाट उम्मेद्वारिता दियो। त्यसबेला पनि उनले ठूलो मतको व्यवधानले विजय हासिल गरे। 2009 मा सम्पन्न आम चुनाउमा कङ्ग्रेसले उनलाई उम्मेद्वारिता दिए तापनि उनी विजयी बन्न सकेनन्। त्यस समय अगप र भाजपाबीच गठबन्धन भएर अगपले शक्तिशाली नेता जोसेफ टोप्पोलाई उम्मेद्वार बनाएपछि सुब्बाले हारको सामना गर्न पर्यो। 2014-को आम चुनाउमा कङ्ग्रेसले उनलाई उम्मेद्वारिता प्रदान नगरेपछि उनी स्वतन्त्र उम्मेद्वारको रूपमा चुनावी मैदानमा आए। चुनाउ प्रचारकै क्रममा हृदयघात भएर उनी कोमामा गएका थिए। त्यसयता उनी कोमाबाट फर्कन सकेनन् र आज सखारै उनको निधन भयो।
राजनीतिक नेता सँगसँगै सामाजिक नेताका रूपमा चिनिएका मणिकुमार सुब्बाले 1992-मा असम गोर्खा सम्मेलनको अध्यक्षको पद लिएका थिए। प्रत्येक तीन वर्षमा अध्यक्षको पदमा हुने हरेक चुनाउमा विजयी बन्दै 2012 सम्म उनी अगोस-को अध्यक्ष बनिरहे। अगोस-को अध्यक्ष हुँदा निजी खर्चमा उनले गुवाहाटीको मुटु मानिने पल्टन बजारमा जमिन खरिद गरी गोर्खा सम्मेलनको केन्द्रिय कार्यालय निर्माण गरे। त्यस कार्यालयलाई अहिले गोर्खा भवनको रूपमा चिनिन्छ भने असमका कुना-कुनाबाट गुवाहाटी जाने मानिसहरूका निम्ति यो भवन अतिथि गृहको रूपमा रहेको छ। सांसद तथा अगोस-को अध्यक्ष हुँदा उनले असमलगायत उत्तर पूर्वाञ्चलका धेरै गरीब गोर्खा विद्यार्थीहरूलाई शिक्षा प्रदानका लागि आर्थिक सहयोग पुर्याएका थिए। मणिकुमार सुब्बाको सिक्किमप्रति गहिरो सम्बन्ध रहेको थियो। उनले सिक्किमको राजनीतिमा पनि आफ्नो सहभागिता जनाएका थिए। 1994 मा सङ्ग्राम परिषद्को सरकार हटाएर कङ्ग्रेसको सरकार ल्याउनुमा उनको महत्त्वपूर्ण भूमिका रहेको बताइन्छ। त्यस समय उनी कङ्ग्रेसको उत्तरपूर्वीय क्षेत्रका कोषाध्यक्ष थिए। पूर्वोत्तर क्षेत्रमा क्षेत्रीय राजनीतिक दलहरूले आफ्ना पकड मजबुत बनाइरहेको समय कङ्ग्रेस पार्टीलाई सुदृढ़ बनाउन उनको सक्रिय भूमिका रहेको थियो। विभिन्न विवादका कारण सधैं चर्चामा आइरहने सुब्बालाई आम जनताका नेताको रूपमा पनि चिनिन्छ।
सुब्बाको निधनप्रति असमका मुख्यमन्त्री सर्वानन्द सोनोवाल, पूर्व मुख्यमन्त्रीहरू तरुण गोगई, प्रफुल्ल महन्तलगायत अन्य नेताहरूले पनि शोक प्रकट गरेका छन्। यसैगरी, असम गोर्खा सम्मेलनका अध्यक्ष आरपी शर्माले शोक प्रकट गर्दै भनेका छन्, राजनीतिक रूपमा हाम्रो सैद्धान्तिक मेल नभए पनि मणिकुमार सुब्बा मेरो ठूल्दाजु जस्तै थिए। उनले असमका गोर्खाहरूका लागि जति योगदान दिएका छन्, त्यति योगदान अरू कसैले दिन सकेका छैनन्।

Related posts

Leave a Comment