अमर लामाको लक्ष्यमा पुच्कावालाहरू

Font Size
11 Total Views

अनित पसे बजार, निरज पसे बस्ती

समय संवाददाता
दार्जीलिङ, 14 मई।
अमर लामाको लक्ष्यमा आज थिए चौरास्ताका चियावाला, पुच्कावाला, घोडावाला आदि। चौरास्तामा आज जो-जसलाई भेटे अमर लामाले आफ्नो चुनाउ चिन्ह भएको पर्चा थमाए अनि आफूलाई भोट दिने अपील गरे। आज बिहानीपख अमर लामाले स्थानीय चौरास्तामा चुनाउ प्रचार अभियान चलाए अनि प्रत्येक दोकान र घर गएर सबैसित भोटको अपील गरे। दार्जीलिङ विधानसभा आसनको उपचुनाउमा खडा भएका जनआन्दोलन पार्टीका उम्मेद्वार अमर लामाले दार्जीलिङका विभिन्न स्थानहरूमा प्रचार गरेपछि आज बिहानको समय चौरास्तामा प्रचार गरेर बिताए। जसमा उनले यहाँ विभिन्न व्यवसाय गरेर जीवन धान्ने व्यवसायीसित भेट गरेर आगामी 19 मईको दिन आफ्नो पक्षमा मतदान गर्ने अपील गरे। यस अवसरमा उनले चौरास्ता परिसरमा पुच्का, चिया, लुगा बेच्ने व्यवसायीहरूसँगै चौरास्तामा घोडा चलाएर जीवन धान्नेहरूसित पनि भेट गरेका थिए। यसको ठीक विपरीत भारतीय जनता पार्टीका उम्मेद्वार निरज जिम्बाले आज बस्तीका कृषकहरूलाई लक्ष्य गरेर चुनाउ प्रचार अभियान चलाए। उनी आफ्नो दलबलसहित बिहानै रिम्बीक नजिक धोत्रे, बडाहट्टा, फिञ्चेटार, बाँसबोटे बजार पुगेका थिए। उनले यहाँ पनि गोर्खा जातिको शिर ढलेको छ भन्ने बताउँदै यो शिर उठाउनको लागि नै आफू यो चुनाउको मैदानमा खडा हुनपरेको जनाए। उनले भाजपा गोर्खा जातिप्रति इमानदार रहेको बताउँदै भने, गोर्खा जातिको मूल मुद्दा अलग राज्य गोर्खाल्याण्ड हो। यसैलाई लक्ष्य गरेर भाजपाले गोर्खा जातिको लागि स्थायी राजनैतिक समाधान गर्ने वचन आफ्नो चुनावी घोषणा पत्रमार्फत दिइसकेको छ। यसैले आफू भाजपाको उम्मेद्वार बनेर यस चुनाउमा खडा भएको उनले बताए।
अर्कोतिर गोजमुमो महासचिव अनित थापाले पोख्रेबुङ चियाबगानका श्रमिकहरूलाई लक्ष्य गरेर चुनाउ प्रचार गरे। उनले पनि आज बिहानै आफ्नो पार्टीका उम्मेद्वार विनय तामाङको लागि चुनाउ प्रचार गर्दै पोख्रेबुङमा एक चुनावी सभाको आयोजना गरे। उनले विनय तामाङलाई भोट दिएर जिताउनुमा दार्जीलिङ पहाडको जीत हुने बताए। यसरी नै आज गोजमुमो उम्मेद्वार विनय तामाङले दार्जीलिङ शहरमा नै चुनाउ प्रचार गरे। यसैबीच, उनले पत्रकारहरूसित कुराकानी गर्दै आफू यस चुनाउमा उठ्नुको कारण बताए। उनले भने, दार्जीलिङ पहाडमा धेरै समस्याहरू छन्, ती समस्याहरू कलकत्ता पुर्याउने काम भइरहेको छ। तर यहाँका नेता कलकत्तामा उच्च पदमा नभएको कारण सबै कामहरू अड्किएर बस्छ। यसैले यदि यहाँबाटै चुनाउ जितेर जानसके यहाँका समस्याहरू छिट्टो समाधान गर्न सकिन्छ। यसैकारण नै मैले यो चुनाउको लागि जीटीएको चौकी त्यागेको हो।
यसरी नै आज स्वतन्त्र उम्मेद्वार स्वराज थापाको समर्थनमा क्रामाकपा र कंग्रेसले स्थानीय चौकबजारमा एक चुनावी जनसभाको आयोजना गरे। यस जनसभामा स्वराज थापा, कंग्रेस नेता शङ्कर मालाकार, क्रामाकपा अध्यक्ष आरबी राई आदि मुख्यरूपले उपस्थित रहेका थिए। यस सभालाई सम्बोधन गर्दै कंग्रेस नेता शङ्कर मालाकारले भने, दार्जीलिङलाई केन्द्रको सत्तारूढ दल भाजपाले होस् कि राज्यको पार्टीले, दुवैले धोका मात्रै दिएका छन्। दार्जीलिङको लागि कसैले केही दिएको छ भने त्यो कंग्रेस पार्टीको सरकारले। केन्द्रमा कंग्रेसको सरकार रहँदा नै दागोपापको स्थापना भएको थियो, नेपाली भाषाले मान्यता पाएको थियो। यसै चुनावी जनसभालाई सम्बोधन गर्दै स्वराज थापाले विनय तामाङ र निरज जिम्बाको खोइरो खने। उनले यी दुवैलाई गोर्खाल्याण्डको आवाज बुलन्द गर्ने चुनौती दिँदै उनीहरूले कुनै पनि स्थितिमा गोर्खाल्याण्ड भन्न नसक्ने बताए। उनले भने, विनय तामाङ जुन दिन जीटीएको चौकीमा बसे, त्यसै दिन उनले गोर्खाल्याण्डको मुद्दा नै छोडे। यसैले उनले गोर्खाल्याण्डको माग गर्नै सक्ने छैनन्। यसका साथै उनले भाजपा उम्मेद्वार निरज जिम्बाले पनि बेसी कुरा फेर्ने गरेको आरोप लगाउँदै निरजले आफ्नो सिद्धान्त र नीतिलाई पर सारेर भाजपाको टिकटमा उम्मेद्वार बनेको बताए।

Related posts

Leave a Comment